मध्यअसारसम्म २२ प्रतिशत रोपाइँ

सुर्खेत: आज असार १५, धान दिवस । यो वर्षको धान दिवस मनाइरहँदा कर्णाली प्रदेशमा भने अहिलेसम्म निकै न्यून कृषकले मात्रै धान रोप्न पाएका छन् । समयमा नै मनसुन सक्रिय नहुँदा रोपाइँ पनि सुस्त भएको हो । कतिपय ठाउँमा रोपाइँ नै सुरु भएको छैन । आकाशे पानीको भरमा धान रोप्नुपर्ने कर्णालीका अधिकांश ठाउँमा रोपाइँ सुरु नभएको हो ।

प्रदेश कृषि विकास निर्देशनालयका अनुसार कर्णालीमा २२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । निर्देशनालयका प्राविधिक सहायक सन्देश शर्माले पहाडी जिल्लाका धेरैजसो ठाउँमा रोपाइँ सुरु नभएको बताए । सिँचाइ सुविधा भएका र खोलाको आसपासमा रहेका खेतहरूमा बाहेक अन्यन्त्र ठाउँमा रोपाइँ हुन सकेको छैन ।

मौसमले साथ नदिँदा बेलैमा धान रोप्न नपाएपछि कृषकहरू भने चिन्तित बनेका छन् । निर्देशनालयका अनुसार मध्यअसारसम्म सबैभन्दा बढी जुम्ला ९५ प्रतिशत, डोल्पामा ९२ प्रतिशत र हुम्लामा ७५ प्रतिशत रोपाइँ भएको छ । तीन वटै जिल्लामा अहिलेसम्म ९० प्रतिशत रोपाइँ सकिएको हो । यद्यपि, यी जिल्लाहरूमा धान रोपाइँ हुने क्षेत्र केही न्यून छ ।

त्यसैगरी मुगुमा ६८ प्रतिशत, कालीकोटमा ४८ प्रतिशत, सल्यानमा ४३ प्रतिशत, रूकुम–पश्चिममा ३५ प्रतिशत र जाजरकोटमा २० प्रतिशत खेतमा रोपाइँ गरिएको छ । दैलेख र सुर्खेतमा भने निकै न्यून क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । दैलेखमा १२ प्रतिशत रोपाइँ हुँदा सबैभन्दा कम सुर्खेतमा ६ प्रतिशत मात्रै रोपाइँ भएको निर्देशनालयले जानकारी दिएको छ ।

कर्णालीमा धान खेती हुने ४३ हजार दुई सय ९० हेक्टर क्षेत्रफलमध्ये १२ हजार एक सय बढी हेक्टर क्षेत्रफलमा धान रोप्ने काम सकिएको हो । यो वर्ष करिब एक चौथाई मात्र रोपाइँ भएको छ । कर्णाली प्रदेशमा खासगरी मार्सी, हाइब्रिड, शंकर–३१२, खुक्खा–१, २, ३ र ५ लगाउने गरिन्छ । यी जातका धानको उत्पादनसमेत बढी हुने गरेको छ ।

 

पर्याप्त छ मल

विगतका वर्षहरूमा धान रोप्ने समयमा मलको अभाव हुन्थ्यो । हरेक वर्ष मल नपाएर किसानहरू हैरान हुन्थे । यो पटक भने मल पर्याप्त छ । असार लागेसँगै मल र बिऊको पिरलो हुने किसानले यसपालि हैरानी खेप्नु परेन । सहजै रासायनिक मल उपलब्ध भएको हो ।

कर्णालीमा साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेड शाखा सुर्खेत र कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले मल बिक्री–वितरण गर्दै आएका छन् । नेपाल सरकारले रासायनिक मलका लागि विनियोजन गरेको बजेटमध्ये साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेडले ३० प्रतिशत र कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत बजेट प्राप्त गर्छन् । अहिले पर्याप्त मात्रामा मल रहेको साल्ट टे«डिङ्ग कर्पोरेशनले जनाएको छ ।

 

सार्वजनिक बिदा

यसैबीच राष्ट्रिय धान दिवसको अवसरमा आज (सोमवार) कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । असार १५ गते हरेक वर्ष धान दिवस मनाउने गरिएको हो । यो वर्ष पनि कर्णाली प्रदेश सरकारले औपचारिक कार्यक्रम गरी दिवस मनाउन लागेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले असार १५ गते राष्ट्रिय धान दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ । प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा सार्वजनिक बिदा दिइएको हो ।

 

२६ हजार मेट्रिक टन खाद्यान्न अपुग

कर्णाली प्रदेशका केही जिल्लामा हरेक वर्ष खाद्य संकट हुन्छ । जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगुमा खाद्यान्न अपुग हुने गरेको हो । प्रदेशमा बर्सेनि झन्डै २६ हजार मेट्रिक टन खाद्यान्न अभाव छ । निर्देशनालयका अनुसार कर्णालीमा तीन लाख १६ हजार तीन सय ९१ मेट्रिक टन हाराहारीमा धान उत्पादन हुन्छ । यहाँ तीन लाख ४८ हजार सात सय ३२ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ । कर्णालीका सुर्खेत, सल्यान, रूकुम–पश्चिम र दैलेख मात्रै खाद्यमा आत्मनिर्भर छन् । खाद्यान्न अभाव हुने जिल्लाहरूमा सरकारले अनुदानको चामल बिक्री वितरण गर्दै आएको छ । स्थानीय उत्पादन पर्याप्त नहुँदा सरकारले ढुवानीमा अनुदान दिए पनि पहाडी तथा हिमाली जिल्लाका बासिन्दाले खाद्य अभाव झेल्दै आएका छन् । यो वर्ष समयमा वर्षा नभएकाले उत्पादन न्यूँन हुने कृषकहरूले बताएका छन् ।

प्रकाशित मितिः   १५ असार २०८३, सोमबार ०५:०५