कर तथा व्यावसायिक साक्षरता अभिमुखीकरण
सुर्खेत: सुर्खेत उद्योग वाणिज्य संघले वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा दुई दिने कर तथा व्यावसायिक साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । बिहीवारदेखि सुरु भएको कार्यक्रम शुक्रवारसम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा ६० जना कृषि व्यवसायीको सहभागिता रहेको छ । कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै संघका अध्यक्ष हर्षविक्रम खड्काले व्यावसायिक क्षमता अभिवृद्धि गर्ने संघको उद्देश्यअनुसार विभिन्न क्रियाकलाप गर्दै आइरहेको बताए । उद्यमी तथा व्यवसायीहरूको सक्रिय उपस्थितिले यस्ता गतिविधि अझ बढाउन प्रेरणा मिलेको उनको भनाइ थियो । वडा नं. ६ का वडा अध्यक्ष जनकबहादुर रावलले व्यवसायीका समस्या जनप्रतिनिधिहरूले बुझेको र यस्ता गतिविधि सञ्चालन गर्ने लक्ष्य रहेको बताए । जेन–जी आन्दोलनको प्रभावका कारण कार्यक्रम सञ्चालनमा ढिलाइ भएको उल्लेख गर्दै आउँदा दिनमा थप सशक्त र समयमै यस्ता कार्यक्रम गर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।
कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष टोपेन्द्रजंग शाहीले कृषक व्यवसायीहरूलाई यस्तो अभियानमा जोडेकोमा संघ र वीरेन्द्रनगर नगरपालिकालाई हार्दिक धन्यवाद व्यक्त गरे । यस्ता कार्यक्रमबाट कृषि व्यवसायीहरूले प्राप्त गर्ने ज्ञानले व्यवसायमा लाभ लिने आफू विश्वस्त रहेको उनले बताए । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाको उद्योग शाखाका अधिकृत दिपेन सुवेदीले स्थानीय करसम्बन्धी अभिमुखीकरण गरेका थिए भने सि.ए. गणेश खड्काले लेखा व्यवस्थापन तथा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण गरेका थिए ।
प्रकाशित मितिः ५ असार २०८३, शुक्रबार १०:०१
साझा बिसौनी ।