काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन हुने
सुर्खेत: काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन प्रतियोगिता आगामी असार ८ गते वीरेन्द्रनगरमा आयोजना हुने भएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग तथा मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतको आयोजनामा प्रत्येक वर्ष ‘ओलम्पिक डे’का अवसरमा सञ्चालन हुँदै आएको प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्न लागिएको हो ।
आयोजकले शनिवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारीबारे जानकारी दिँदै असार ४ गते बिहान काँक्रेविहार परिसरमा प्रतियोगिताको मस्कट सार्वजनिक गरिने जनाएको छ । प्रतियोगिताको मुख्य दौड वीरेन्द्रचोकबाट सुरु हुनेछ । प्रतियोगिता अन्तर्गत पुरुषतर्फ २१ किलोमिटर हाफ म्याराथन, महिलातर्फ १० किलोमिटर दौड तथा विद्यार्थीका लागि ५ किलोमिटर दौड समावेश गरिएको छ । विभिन्न विधामा इच्छुक खेलाडी तथा धावकहरूले सहभागिता जनाउन सक्नेछन् ।
मिड वेस्टर्न फिटनेस सेन्टरका प्रबन्ध निर्देशक प्रमोद हमालका अनुसार कर्णालीमा दौड संस्कृतिको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन हुँदै आएको हो । ‘दौडिन्छ कर्णाली’ नारालाई मूर्त रूप दिन प्रतियोगिता निरन्तर आयोजना गरिएको बताए । प्रतियोगिताको पुरस्कार राशी हरेक वर्ष वृद्धि गर्दै लगिएको जनाउँदै हमालले यस वर्ष हालसम्म न्यूनतम एक लाख २५ हजार रुपैयाँ पुरस्कार सुनिश्चित भएको जानकारी दिए । सम्भावित दातासँग छलफल जारी रहेकाले पुरस्कार राशी अझै बढ्न सक्ने उनको भनाइ छ ।
अघिल्लो वर्ष कर्णाली प्रदेश खेलकुद विकास परिषद्मा पदाधिकारी नहुँदा प्रतियोगिता आयोजना हुन नसकेको उल्लेख गर्दै आयोजकले यस वर्ष परिषद्को सहयोगमा प्रतियोगिता पुनः सञ्चालन हुन लागेको जनाएको छ । परिषद्ले जुम्लामा आयोजना हुने रारा म्याराथन र सुर्खेतको काँक्रेविहार हाफ म्याराथनलाई नियमित रूपमा बजेट उपलब्ध गराउँदै आएको छ ।
प्रकाशित मितिः ३१ जेष्ठ २०८३, आईतवार १५:४६
साझा बिसौनी ।