विद्युतको बक्यौता नै नौ करोड

सुर्खेत: निजी क्षेत्रदेखि सरकारी निकायसम्मले समयमै विद्युत महसुल नबुझाउँदा सुर्खेतमा मात्रै नौ करोड बढी बक्यौता पुगेको छ । नेपाल विद्युत प्राधिकरण सुर्खेत कार्यालयका अनुसार निजी क्षेत्र, घरायसी र सरकारी कार्यालयकै बक्यौता रकम उठ्न सकेको छैन । बक्यौता उठाउन कार्यालयले लाइन काट्ने तयारी समेत गरेको छ ।

सरकारले निश्चित अवधि पुगेपछि महसुल नतिर्ने ग्राहकको लाइन काटिदिन्छ । सामान्यतया मिटर रिडिङ भएको ६० दिन (दुई महिना) भित्र महसुल नतिरेमा नेपाल विद्युत प्राधिकरणले जुनसुकै बेला सिधै बिजुलीको लाइन काट्ने गरेको छ । महसुल संकलन नियमावलीअनुसार तोकिएको समयमा बिल नतिरेमा लाइन काट्ने गरिएको नेपाल विद्युत प्राधिकरण सुर्खेतले जनाएको छ । यति हुँदाहुँदै पनि कार्यालयलाई पुरानो बक्यौता उठाउनै हम्मे भइरहेको छ । पछिल्लो समय कार्यालयले सार्वजनिक सूचना नै जारी गर्नुपरेको छ । अब पनि अटेर गरेमा चार महिनाभन्दा बढी तथा दश हजारभन्दा माथि बक्यौता रकम भएकाहरूको रकम र नाम नै सार्वजनिक गरिने विद्युत प्राधिकरण सुर्खेतका प्रमुख किरण खनालले बताए । पटक–पटक सूचना जारी गर्दापनि रकम नतिरेपछि संस्था र व्यक्ति नै तोक्नेगरी सूचना जारी गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

सरकारी कार्यालय, निजी क्षेत्र र घरायसी प्रयोजनको गरी चार महिनाभन्दा बढी र दश हजारभन्दा माथिको करिब नौ करोड बक्यौता रकम उठाउन बाँकी रहेको कार्यालय प्रमुख खनालले जानकारी दिए । तिर्न बाँकी रहेको रकममा सबैभन्दा बढी वीरेन्द्रनगर नगरपालिकाको रहेको छ । नगरपालिकाले सुरुवातीदेखि जडान गरेका सडक बत्तीको बक्यौता रकम नतिरेको कार्यालय प्रमुख खनालले बताए । अहिले नयाँ जडान गरिएका सडक बत्तीमा मिटर राखेर तिर्ने गरिएको भएपनि नगरपालिकाले सुरुवातीदेखि सञ्चालनमा ल्याएको सडक बत्तीहरूको अहिलेसम्म बक्यौता रकम तिरेको छैन । नगरपालिकाको मात्र करिब ६ करोड बक्यौता रकम तिर्न बाँकी रहेको छ । नगरपालिकालाई पटक–पटक आग्रह गरिएको भएपनि अटेर गर्दै आइरहेको छ । कार्यालयले धेरै वर्षदेखि तिर्न बाँकी रहेको तथा बढी रकम भएकाको खण्डमा नाम नै सार्वजनिक गर्ने तयारी गरेको छ ।

कार्यालयले करिब नौ करोड भन्दा बढी बक्यौता रकम उठाउनुपर्नेछ । सबैभन्दा बढी सरकारी कार्यालयहरूकै रकम छ । एकातर्फ विद्युतको आफ्नै बक्यौता रकम असुल्न समस्या भइरहेको छ । अर्कोतर्फ अनियमित विद्युत आपूर्तिले नागरिक हैरानीमा छन् । कर्णाली प्रदेशमा विद्युतको समस्या चर्को छ । अनियमित लोडसेडिङको मारमा नागरिक छन् ।

गर्मीयामसँगै सुर्खेतसहित कर्णालीका जिल्लामा अघोषित विद्युत कटौती र भोल्टेज कम हुँदा उद्योग व्यवसाय सञ्चालनमा समेत समस्या हुन थालेको छ । विद्युत अनियमित हुँदा नागरिक मर्कामा छन् । पूर्वजानकारीविना नै विद्युत कटौती हुने गरेको छ । दिनमै दर्जनौं पटक विद्युत जाने गरेकाले समस्या भइरहेको गुनासो आम नागरिकको छ ।

सुर्खेतसहित कर्णालीका अन्य जिल्लाहरूको विद्युत समस्या हल गर्न एकमात्र विकल्प ठानिएको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन सञ्चालनमा आएको केही समयमा नै फेरि अवरुद्ध भएको छ । हावा हावाहुरीका कारण पोल ढलेपछि बनाउन थालिएको छ । हुरीले बाँकेको चिसापानी नजिक कृष्ण सामुदायिक वनभित्रका दुई वटा टावर पोल पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो । कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाका अनुसार अहिले पुन निर्माणको काम धमाधम भइरहेको छ । आयोजनाका प्रमुख रवि चौधरीले अहिले टावर निर्माणको काम भइरहेको बताए । हुरीले ४४ र ४५ नम्बरका पोलमा क्षति पु¥याएको थियो । विद्युत ल्याउँदा लाइनको दायाँबायाँ गरी १८ मिटर क्षेत्रमा पर्ने वन सफा गरी प्रसारण लाइन सुर्खेतमा ल्याइएको थियो । हावाहुरीले २२ मिटर टाढाको ३८ मिटर लामो र तीन मिटर मोटाइ भएको रुख ढालेपछि लाइनमा पर्दा दुई वटा पोल पूर्ण रूपमा भाँच्चिएका थिए । जसका कारण अहिले विद्युतको समस्या फेरि चर्किएको छ ।

प्रकाशित मितिः   १४ जेष्ठ २०८३, बिहीबार १५:५९