कर्णालीलाई मूलधारमा ल्याउने प्रतिबद्धता
सुर्खेत: कर्णालीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूले प्रदेशको विकासका लागि सामूहिक प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । कर्णाली उत्सवको सातौं संस्करणअन्तर्गत शनिवार ‘कर्णालीका सुइना’ सत्रमा सहभागी सांसदहरूले प्रदेशलाई विकासको मूलधारमा ल्याउन मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।
उनीहरूले कर्णालीको समग्र विकासमा हुनुपर्ने जति नभएको तर केही नभएको भन्ने तथ्यमा साझा धारणाका साथ प्रस्तुत भए । कर्णालीलाई विकासको मूलधारमा लैजान सांसदहरू दलगत नभइ साझा आवाजका साथ संघीय संसद्मा प्रस्तुत हुनुपर्नेमा एकमत भए । सुर्खेत–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेशकुमार सापकोटाले निर्वाचन क्षेत्र केन्द्रित नभइ समग्र कर्णालीको चित्र बदल्ने सपनाका साथ भूमिका निर्वाह गर्ने बताए । ‘मैले निर्वाचनमा जाँदा केही बाचा गरेको थिएँ, ती वाचाहरू जनताको जीवनसँग जोडिएका थिए । वीरेन्द्रनगरबाट पश्चिम जाँदा निकै कमजोर रहेको पाइयो । पश्चिमलाई पनि वीरेन्द्रनगरसँग जोड्ने र वीरेन्द्रनगरसँग मेल खाने गरी विकास र योजनाहरूमा मेरो पहल हुनेछ,’ उनले भने ।
समग्र कर्णाली प्रदेशको सन्दर्भमा उनले हाल अलपत्र परेका योजनालाई पूर्ण रूपमा कार्यान्वयन गराउन भूमिका खेल्न प्रतिबद्धता जनाए । ‘हामीले देखेका कुरा र सपनाभन्दा अहिलेको सरकारले त्यहाँ भन्दा माथि सोचेर काम गर्ने सोचेको छ, प्रधानमन्त्री बालेन शाहले कर्णालीमै आएर पनि भन्नु भएको छ । ती वाचा पूरा गर्न हामी सरकारलाई घचघच्याउँछौँ । सबैको कुरा यही हो,’ उनले भने ।
यस्तै, जाजरकोटबाट निर्वाचित नेपाली कांग्रेसका सांसद खड्क बहादुर बुढाले कर्णाली सम्भावनाको खानी भएपनि सुनको थालीमा भीख माग्न बाध्य भएको दृष्टान्त सुनाए । ‘कर्णाली हाइड्रोको हब हो । नलसिंगाड, जगदुल्ला, फुकोट, अपरकर्णाली जस्ता हाइड्रो पावरहरू कर्णालीमा छन्, यी आयोजनालाई पूर्णता दिन पहल गर्नुपर्ने छ,’ उनले भने । जडिबुटीको सम्भावनालाई उजागर गरेर त्यसको बजारीकरण र औद्योगिकीकरणमा पहल गर्नु आफ्नो पहिलो भूमिका हुने दाबी गरे । यसमा कर्णालीबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरू सामूहिक भावनाबाट अघि बढ्नुपर्नेमा जोड दिए । प्रदेश राजधानी सुर्खेतबाट कर्णालीका अन्य जिल्लामा जाने बाटो, स्कुलका भवन हेर्दा केही परिवर्तन भएपनि जे हुनुपथ्र्यो, त्यो नभएको उनको भनाइ थियो । कर्णाली विकासका दुई आधार भेरी कोरिडोर र कर्णाली कोरिडोरलाई पूर्णता दिन संसद्मा सशक्त आवाज उठाउने बुढाले प्रतिबद्धता जनाए ।
दैलेखबाट निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णालीको अवस्था परिवर्तन गर्न संघीय संसद्मा भूमिका खेल्ने दाबी गरे । ‘उतिबेला तिब्बतको खारी क्षेत्रबाट नुन, सुन हाडसिंजा आउँथ्यो र त्यहाँ हामी सबै क्षेत्रका मान्छे पुगेर ल्याउँथ्यौँ । त्यसैले त्यसलाई हाडसिँजा भनिएको होला । कैलाश, ज्वाला र सिँजा सभ्यतालाई एउटै डालोमा राखेर विश्लेषण गर्दा कर्णाली सभ्यता र त्यसबाट नेपाली सभ्यता देखिन्छ । कर्णालीले यो मुलुकलाई भाषा दियो । त्यसैले कर्णाली इतिहासमा विराट छ । अब मेरो योजना पेट्रोलियम पदार्थको उत्खनन गर्ने छ, यस विषयमा म सरकारलाई घचघच्याउँछु,’ सांसद पोखरेलले भने ।
सल्यानबाट निर्वाचित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले कर्णाली बदल्ने सपनाका साथ संसद्मा उभिएको दाबी गरे । ‘हामीले हिजो व्यवस्था परिवर्तनका लागि थुप्रैले योगदान गरेका छौँ । तर अहिलेको व्यवस्थामा भ्रष्टाचार बेथिति बढ्यो । अब त्यसलाई न्यूनीकरण गर्नुपर्ने अभिभारा हामी माझ छ । हामीले कर्णाली बदल्नका लागि सपना देखेका छौँ, यहाँका जनताले त्यसैका लागि हामीलाई पठाएका छन् । यहाँको एक तिहाइ जनसंख्या गरिबीको रेखा मुनी छ, अन्य तथ्याङ्कमा पनि हामी पछि छौँ । त्यसैले समग्र कर्णालीको परिवर्तनका लागि सबैजसो एजेन्डामा रहेर काम गर्नुपर्ने छ,’ सांसद मल्लले भने ।
श्रम संस्कृति पार्टीका सांसद राधिका रम्तेलले कर्णालीको स्वास्थ्य र शिक्षामा धेरै काम गर्न बाँकी रहेको बताइन । त्यसका लागि असल नीति आवश्यक पर्ने र नीति निर्माणमा आफूले निर्णायक भूमिका खेल्ने बताइन । उनले भनिन् ‘समान स्वास्थ्य उपचार, समान शिक्षा आजको आवश्यकता हो । साथै, सामाजिक न्याय र रोजगारीको क्षेत्रमा पनि हामीले काम गर्नुपर्ने छ,’ उनले भनिन् । विगतमा सबैजसो दललाई मिलाएर भोट दिएको उल्लेख गर्दै जनअपेक्षा अनुसार काम नभएको दृष्टान्तलाई तोड्न संसद्मा आफूले भूमिका खेल्ने बताइन ।
शनिवारदेखि सुरु भएको कर्णाली उत्सवमा पहिलो दिन विभिन्न विषयमा छलफल भएका छन् । ऋति फाउन्डेसनले आयोजना गरेको उत्सव तीन दिनसम्म सञ्चालन हुनेछ ।
प्रकाशित मितिः २९ चैत्र २०८२, आईतवार ०५:०१

साझा बिसौनी ।