पक्राउ पुर्जीको सन्त्रास
नेपाली कांग्रेस पार्टीका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई सम्पत्ति शुद्धीकरणको कसुरमा काठमाडौं जिल्ला अदालतको आदेशले यही चैत २५ गते पक्राउ पुर्जी जारी भएपछि राजनीतिक वृत्तमा ठूलो हलचल पैदा भएको छ । देशको राजनीतिमा देउवा करिब ६ दसकदेखि निरन्तर शक्ति, सत्ता शासन र प्रभावको राज गर्दै आइरहेका थिए । श्रीमानको शक्तिको आडमा दुई पटक सांसद भएकी आरजु नक्कली भुटानी शरणार्थी काण्डमा मुछिदामुछिदै पनि शासन सत्ताको दुरूपयोग गरि पछिल्लो पटक परराष्ट्रमन्त्री बन्न पुगिन् । देउवा प्रधानमन्त्री हुँदा समानन्तर रूपमा गिरोह परिचालन गरि सार्वजनिक पदमा नियुक्तिदेखि राजकीय काम कारबाहीमा पनि दखल दिइ असुली गर्ने गरेको भनी आरजु देउवालाई आरोप लाग्दै आएको थियो । राजनीति बाहेक अन्य कुनै पेसा नभएका देउवा दम्पतीका एक मात्र सन्तान जयवीर देउवाले एक डेढ वर्षको अन्तरालमा एक अर्बभन्दा बढी मूल्य जाने काठमाडौं पोखरालगायत ठाउँठाउँमा करिब ७३ रोपनी जग्गा जोडेको भेटिएको छ भनी मिडियामा बराबर खबर प्रशारण भइरहेको थियो । अनुसन्धानले सायद त्यसको स्रोत खोज तलास गरिरहेको होला । दुईवर्ष अघि सम्पत्ति शुद्धीकरण अनुसन्धान सम्बन्धी कानुन नै संशोधन गरी कुनै व्यक्ति अपराधमा संलग्न भएको तथ्य प्रमाण विना सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान गर्न पाइने छैन भनिएको छ । यसरी संशोधन गर्नुको पछाडि कतै जयवीरलाई पायक पार्नका लागि मात्रै त होइन भन्ने एउटा शंकाको सुविधा पनि रहन्छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत देउवाले सोही दिन साँझ पक्राउ पुर्जीको प्रतिक्रिया दिएका छन् । प्रतिक्रिया बमोजिम सार्वजनिक पदमा रहँदा कानुन अनुसार सम्पत्तिको यथार्थ पेस गरेको भनिएको छ । लोकतान्त्रिक शासन व्यवस्था विधिको शासन, स्वतन्त्र न्यायपालिका, राज्यका अंगहरू स्वतन्त्र सक्षम र पारदर्शिताको मान्यतामा सिँगो जीवन नै संघर्षमा व्यथित गरेको भनी उल्लेख छ । आफ्नो जीवन खुला पुस्तकको जस्तै छ भन्दै २०४८ सालमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ऐन, भ्रष्टाचार ऐन २०५९ आफ्नो अग्रसरतामा लागू गरिएको भनिएको छ । अन्तमा अतिरञ्जना गरि सार्वजनिक भएका विवरणबाट भ्रममा नपर्न सबैमा अपिल गरिएको छ । वर्तमान समय परिस्थितिमा पक्राउ पुर्जीले दुषित राजनीतिको सातो खाइरहेको छ ।
प्रतिक्रियामा टीकापुर जग्गा प्रकरणमा आरजु देउवाको नाम जोडिएको र छोरा जयवीरका नाममा ७३ रोपनीजग्गा कायम भएको बारे केही उल्लेख छैन । यहाँ अख्तियार दुरूपयोग अनुसन्धान आयोगको र भ्रष्टाचार निवारणको ऐन आफ्नो अग्रसरतामा लागू गरिएको भनी जस् लिन खोजिएको छ । आरजु देउवाले हिजो संसद्मा उभिएर घर बनाउनका लागि एउटा सानो काठ किन्न खोजेको जो बाहिरबाट आउने रहेछ, छोइ नसक्नु मूल्यको हुँदा किन्न नसकिएको भन्ने आसयबाट हास्यास्पद अभिव्यक्ति दिएकि थिइन् । जेन–जी आन्दोलनपछि देउवा दम्पती उपचारका लागि दुई पटक सिंगापुर पुगे । पछिल्लो पटक महिना दिन भन्दा बढी समय भइसकेको छ देउवा दम्पती हङकङ र सिंगापुर ओहोरदोहोर गरिरहेका छन् । हिजो अख्तियारको ऐन निर्माण गरेको कारणले भ्रमण र उपचारहरूमा खर्च भएको देउवाको स्रोत खोज्न मिल्दैन भन्ने किसिमको आसय हो कि के हो ? घर बनाउनका लागि हिजो काठ किन्ने क्षमता नभएको व्यक्ति आज सपरिवार विदेश सयर गर्ने हैसियत कसरी सम्भव भयो भन्ने सन्दर्भमा कथनी र करनी फरक परेकोले स्वभाविक रूपमा प्रश्न चिन्ह खडा हुनजान्छ । पक्राउ पुर्जीको सन्त्रासले सताउन थालेपछि जोगिनका लागि अलि सुरक्षित स्थानको खोजी गरिएको होकि भन्ने कोणबाट पनि समाजमा अनेकन टिकाटिप्पणी भैरहेका छन् ।
सात महिना अगाडिको एउटा दृष्टान्त हेरौँ । भदौ २४ गतेको जेन–जी आन्दोलनमा देउवाको दरबारमा आगो लगाइ देउवा दम्पती मरणासन्न पिटिएका थिए । बडो मुश्किलले उद्वार गरी उपचारका लागि सुरक्षाकर्मीले सुरक्षित स्थानमा पु¥याएका थिए । घर आगलागीमा पाँच सय र हजारका नेपाली नोटसँगै केही विदेशी डलर पनि जलेर खरानी भएको भिडियो सञ्चारमाध्यममा आइरहेको थियो । कुनै दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाह्रभाइ भनी क–कसलाई संकेत गरेका हुन् जानकारी भएन तर मुलधारका कुनै पनि मिडियाले पोलिएका ती रूपैयाँ पैसाका सम्बन्धमा केही खबर बनाएको कतै देखिएन । घर जलेर खरानी भएको सत्य हो, देउवा दम्पती कुटाइ खाएको पनि यथार्थ हो तर रूपैयाँ पैसा जलेको कुरा असत्य हो भनी दिउँसै रात पारिदिँदा कसैले किन पत्याइदिन्छ ? लामो समयसम्म गुपचुप रहेका देउवा पहिलोपटक सार्वजनिक भएपछि पार्टीको एक कार्यक्रममा आफ्नो घरमा जलेर नष्ट भएको पैसा बिल्कुल झुठा हो, एआई (कृत्रिम बौद्धिकता) ले बनाएर अन्तैको फोटो यतातिर हालिदिएको हो भन्न बाँकी राखेनन् । यस्तो बेइमानी कुरा कसले पत्याउँछ ? कांग्रेसकै सामान्य भोटरले पनि पत्याउन सक्दैनन् । त्यसोभए कसैले नपत्याउने कुरा किन गरिएको होला ? किनकि कतै प्रश्न उठ्दा अर्बौं पैसाको स्रोत देखाउन सक्नुपर्ने हुन्छ । कमिसन र भ्रष्टाचारको कालो पैसा स्रोत देखाउन मुश्किल हुनेहुँदा खरानी भैसकेको त्यस्तो पैसाको के माया मान्नु ! एआई भनिदिएपछि कुरा खलाँस हुन्छ सबै भुटो जान्छ भन्ने मानसिकता रहेको हुनुपर्छ । जेन–जी आन्दोलनमा चरम दमन गरी आलोचनाको तारो बनेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीले पनि आफ्नो चुनाव प्रचारप्रसारको क्रममा देउवाको घरमा जलेको पैसालाई एआई नै हो भनिदिएर काले काले मिलेर खाउँ भाले भन्ने उखान चरितार्थ पारेका थिए । इत्यादि कारणबाट हिजो देउवाले अतिरञ्जना गरी सार्वजनिक भएका विवरणको भ्रममा नपर्न भनी विदेशबाट गरेको अपिलमा पनि फेरि प्रश्न खडा हुन्छ ।
देउवाले आफ्नो जीवन खुला किताब भनी बखान गरेका हुँदा थोरै चर्चा गर्न वान्छनीय हुन्छ । प्रजातान्त्रिक आन्दोलनका लागि उनले संघर्ष गरे, ८÷१० वर्ष जेल परे सजाय भोगे । त्यो भोगाइले राजनीतिमा उनको पहिचान खुल्दै र फैलदै गयो । प्रजातन्त्र स्थापना भएपछि मौका अवसर पनि पाइरहे फल प्राप्त गरिरहे । यसमा कसैले निन्दा–आलोचना गरे पनि सत्य बदलिन सक्दैन । तर जीवनभरी आन्दोलनकै ब्याज खाएर मोटाइरहने कुरा स्वीकार्य हुँदैन । शासन सत्ता प्राप्तिका लागि तुच्छ र निकृष्ट गर्न पनि बाँकी राखेनन् । पहिलो पटक प्रधानमन्त्री हुँदा देउवाले सत्तामा टिकिरहनका लागि मात्र ४८ जनाको मन्त्रीमण्डल बनाएर दुनियाँ चकित पारे । गठबन्धनको सरकारलाई जीवित राख्न उनले सांसदहरूले गाडी किन्न चाहे भन्सार छुट गरिदिने प्रबन्ध पनि मिलाइदिए । त्यही बहानामा व्यापारीको मिलोमतोबाट सांसदले प्राडो र पजेरो नामका धेरै गाडी भित्राए । आज पनि यो धुत्र्याइँलाई प्राडो र पजेरो संस्कृति भनेर आलोचना गरिन्छ । दोश्रो पटक प्रधानमन्त्री हुँदा माओवादीका कारण देशमा संकटकाल लागू भइरहेको थियो । सरकारले थप ६ महिना संकटकाल लम्बाउन खोजिरहेको थियो । संसद्मा दर्ता गरेको उक्त संकट्काल फिर्ता गर्ने कि राजीनामा दिने भन्ने सवालमा देउवालाई पार्टी सभापति गिरिजा प्रसाद कोइरालाले दुई विकल्प दिएका थिए । कोइरालासँग द्वन्द्व चर्किंदै जाँदा देउवाले संकटकाल फिर्ता गर्नु र राजीनामा दिनुको सट्टा संसद् विघटन गरी दिए । किनभने हिजो पार्टीको आन्तरिक किचलोका कारण कोइरालाले बहुमतको आफ्नो सरकारलाई विघटन गरेर मध्यावधि चुनावमा जाने जस्तो कुसंस्कार हुलिदिएका थिए । राजाको सरसल्लाहमा संसद् विघटन गरेकोले प्रजातन्त्र राजाका पाउमा चढाएको भनी देउवाको चौतर्फी आलोचना भएको थियो भने कोइरालाले पार्टीको साधारण सदस्यसमेत नरहे गरि देउवालाई कारबाहीको डन्डा चलाए ।
सत्ता शक्ति प्रयोग गरी देउवाले अर्को पार्टी खोलेर कोइराललाई देखाइदिए । संसद् विघटन गरे पनि चुनाव गराउन गाह्रो थियो, त्यसर्थ राजाले देउवालाई असक्षम भन्दै सत्ता खोसिदिए । त्यसपछि देउवाले आफूमाथि ठूलो धोका भएको भनी रोइलो गर्दै र सराप्दै हिँडे । राजाले उनलाई फेरि प्रधानमन्त्री नियुक्त गरिदिएपछि, गोर्खाली राजाले न्याय गरे भन्दै बत्तिसी देखाउन पनि कुनै संकोच मानेनन् । प्रधानमन्त्री बनाइदिए बापत राजाको गुन तिर्न राजाकी काकी अर्थात हेलन शाहलाई उपचारका लागि राज्यकोषबाट डेढ करोड रकम दिएका थिए । राज्यकोषबाट जथाभावी खर्च गरेको भनी उनलाई करिब २० वर्ष पहिला राजा ज्ञानेन्द्रले भ्रष्टाचारको आरोपमा थुन्न खोजेका थिए जनसमर्थन नभएको कारण त्यो कारबाही त्यत्तिकै निष्क्रिय हुन गयो ।
गणतन्त्रको खोल ओढेर लूटतन्त्र आएपछि तिनै असक्षम व्यक्ति राजनीतिको केन्द्रमा आए जनता हत्तु हैरान भए । कथित गणतन्त्र कालमा पनि देउवाले ढुकुटीबाट मनपरि रकम बाँड्ने काम जारी राखे । चारौं पटकको प्रधानमन्त्री कार्यकालमा गिरिजा पुत्री सुजाता कोइरालालाई उपचार खर्च भनी उनले ५० लाख रूपैयाँ दिएर खुसी तुल्याइदिए । कार्यकर्ताले जतिसुकै बदख्वाइँ गरेपनि देउवा सुरुदेखि नै विवादित पात्र हुन्, यतिखेर पक्राउ पुर्जी जारी भएको छ । आफ्नो देश आफ्नै घर आँगनमा आफ्नै सन्तान्सँग दुखम् सुखम् गरेर बस्ने वातावरण बन्न सक्छ कि सक्दैन देउवाका लागि ? प्यारा देवरहरूले भाउजू भने पनि कानुनले कसैलाई केही साइनो लगाउँदैन । कुनै दिन परराष्ट्रमन्त्रालयको फल र रसमा रजगज गरेकी आरजुले ओली कानुनी झमेलामा परेर अस्पतालमा सुत्दै रोएको पनि देखिरहेकै छन् । दिन सजिला छैनन् गैरकानुनी रूपमा आर्जन गरेको भए सम्पत्ति विवरण नखुलाई धर पाइने छैन । मान मर्यादासहित अब प्रतिष्ठित जीवन बाँच्नुपर्ने उमेरका देउवालाई पदको आशक्ती र धनको प्रलोभनले जीवनको उत्तरार्धमा बदनाम र नालायकीको गरुङ्गो भारी बोग्दै कष्टकर उकालो चढ्नुपर्ने पनि हुन सक्छ ।
–उमालाल आचार्य
प्रकाशित मितिः २९ चैत्र २०८२, आईतवार ०५:०४

उमालाल आचार्य ।