प्रधानमन्त्री बन्दैछन् बालेन

सुर्खेत: प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको तीन सातापछि मुलुकले नयाँ सरकार पाउने भएको छ । आज (शुक्रवार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र (बालेन) शाह प्रधानमन्त्री बन्दैछन् । पूर्वनिर्धारित कार्यतालिकाअनुसार शुक्रवार शाहले प्रधानमन्त्रीको रूपमा शपथ लिने कार्यक्रम छ ।

बिहीवार प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रवार नयाँ सरकार गठन हुनेछ । त्यसअघि बिहीवार नै राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल नेतामा बालेन शाह चयन भएका छन् । केन्द्रीय कार्यालय चःमतिमा बसेको बैठकले सर्वसम्मत रूपमा शाहलाई संसदीय दल नेता चयन गरेको हो ।

उक्त बैठकमा सभापति रवि लामिछानेले वरिष्ठ नेता शाहलाई संसदीय दल नेता चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको थियो । ‘राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता बालेन शाह संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवारको रूपमा केन्द्रीय समिति र संसदीय दलको नेताको रूपमा सभापतिद्वारा गरिएको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ,’ प्रवक्ता मनिष झाले भने । शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर रास्वपा फागुन २१ को निर्वाचनमा गएको थियो भने झन्डै दुई तिहाइ सिट जितेको छ ।

रास्वपाको संसदीय दल नेता चयन भएसँगै बालेन शाहलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । नेपालको संविधानको धारा ७६ (१) को व्यवस्था अनुसार बहुमत प्राप्त संसदीय दलको नेता सिधै प्रधानमन्त्री नियुक्त हुने प्रावधान छ । संविधानको उक्त धारामा भनिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ ।’ यही कानुनलाई आधार मान्दा, बालेन रास्वपाको संसदीय दलको नेता भइसकेको अवस्थामा उनले संसद्का अन्य दलहरूको बहुमत समर्थन जुटाएर राष्ट्रपति समक्ष प्रधानमन्त्रीका लागि दाबी पेस गर्न सक्छन् । यस्तो अवस्थामा संसद्मा छुट्टै चुनाव गरिरहनु पर्दैन, केवल बहुमत सदस्यको समर्थनको हस्ताक्षर पर्याप्त हुन्छ ।

रास्वपाले आफ्ना नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणलगत्तै बालेनलाई दलको नेता चयन गरेको हो । शाहले शुक्रवार प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम पनि तय भएको छ । त्यसका लागि राष्ट्रपति कार्यालयले पनि आवश्यक तयारी थालिसकेको छ । सम्भवतः शुक्रवार नै मन्त्रिहरू उनले मन्त्रीहरू पनि नियुक्त गर्नेछन् ।

मन्त्री छनोटका लागि रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता बालेनबीच छलफल सुरु भइसकेको छ । उनीहरू बिहीवारदेखि नै मन्त्रीको नाम टुंग्याउन छलफलमा लागेका छन् । रास्वपाले मन्त्रालय संख्या घटाएर १५ देखि १८ मा सीमित गर्ने तयारी गरेको छ ।

मन्त्रालयको संख्या घटाउने प्रतिबद्धता रास्वपाले आफ्नो चुनावी वाचापत्रमा नै गरिसकेको छ । तर पार्टीभित्र मन्त्रीका आकांक्षी भने धेरै छन् । चर्चा भएअनुसार उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले दुवैलाई मन्त्री बनाउने गरी छलफल चलिरहेको छ । अर्याललाई गृहमन्त्री र वाग्लेलाई अर्थमन्त्री बनाउने सम्भावना बलियो छ ।

त्यसैगरी महामन्त्री सुनिल लम्साल, प्रवक्ता मनिष झा, सांसदहरू शिशिर खनाल, सोबिता गौतम, राजुनाथ पाण्डे, सस्मित पोखरेललगायतको नाम पनि मन्त्रीका लागि चर्चामा छ । यो चर्चामा अन्य थुप्रै नेताहरू छन् । तर रवि र बालेन भने सकेसम्म सम्बन्धी विषयमा जानकार र योग्य व्यक्तिहरू छानेर मन्त्री बनाउने गृहकार्यमा जुटेका छन् ।

सभापति लामिछानेले मन्त्री र सभामुख छान्ने विषयमा नेतृत्वलाई विश्वास गर्न सांसद र केन्द्रीय सदस्यलाई आग्रह गरेका छन् । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभापति लामिछानेले मन्त्री छनोटका लागि नेतृत्वलाई विश्वास गर्नुपर्ने बताएका हुन् । रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकमा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लगायतका पदाधिकारी उपस्थित थिए । संयुक्त बैठकमा सभापति लामिछानेले धेरै पटक ‘नेतृत्वलाई विश्वास गुर्नस्’ भनेका थिए ।

मन्त्री छनोटका लागि लामिछाने, संसदीय दलका नेता शाहलगायत पदाधिकारी केही दिनदेखि छलफल गरिरहेका छन् । रास्वपा नेताहरूका अनुसार, अझै कसलाई के मन्त्रालयको जिम्मेवारी दिने भन्ने टुँगो लागिसकेको छैन । शुक्रवार प्रधानमन्त्रीसँगै शपथ लिने मन्त्रीको टुँगो बिहीवार रातभरमा लगाउने गरी छलफल चलिरहेको छ ।

प्रकाशित मितिः   १३ चैत्र २०८२, शुक्रबार १०:५५