हिमाली जिल्लामा चुनौतीपूर्ण चुनाव

सुर्खेत: हुम्लाको लिमीका बस्ती यतिबेला सुनसान भइसकेका छन् । जाङ गाउँका घरहरूमा ताला लागेको छ । मान्छे भेटिँदैनन् । तील गाउँमा पनि बस्ती हेरचाहका लागि बसेका कुरुवा मात्रै छन् । हल्जी गाउँको अवस्था पनि तीलकै जस्तो छ ।

मानिसहरूको आउजाउ भइरहेन हिल्सा क्षेत्रमा केही दिनयता मानिस भेट्नै मुश्किल पर्छ । होटलहरूसमेत बन्द भइसकेका छन् । हिमपात सुरु भएपछि हुम्लाको उच्च हिमाली बस्ती मानविहीन बनेका छन् । यसरी स्थानीय नागरिक नै गाउँमा नभएपछि आगामी फागुन २१ गते चुनाव गराउन निकै चुनौती हुने देखिन्छ । लिमीमा तीन वटा मतदान केन्द्र छन्, जहाँ ६ सय ७२ मतदाता छन् । हिल्सामा एउटा मतदान केन्द्र छ । ती मतदान केन्द्रमा पुग्न र मतदान सामग्री पुर्‍याउन नै सकस हुने देखिन्छ । सिमकोट–हिल्सा सडक कार्तिक दोस्रो सातादेखि नै बन्द छ ।

हुम्लामा मात्रै होइन कर्णालीको अर्को हिमाली जिल्ला मुगुका माथिल्ला बस्तीहरू पनि रित्तिन थालेका छन् । जिल्लाको मुगमकार्मारोङ गाउँपालिकास्थित मुगुगाउँ, कीर्ति, डोल्फु, किम्री, कार्तिलगायत गाउँका अधिकांश मानिसले गाउँ छोडिसकेका छन् । ठूलो संख्यामा स्थानीयहरू चिसो छल्नका लागि गाउँ छोडेर बाहिरिएको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले जानकारी दिए ।

यसरी गाउँ छोडेकाहरूमध्ये कतिपय आसपासका गाउँमा बसिरहेका छन् । कोही सदरमुकाम गमगढीमा छन् । उनीहरू चिसो कम भएपछि गाउँ फर्किने बताइएको छ । तर जिल्लाभन्दा बाहिर गएकाहरू तत्कालै फर्किने अवस्था छैन । त्यसैले चुनावमा निकै न्यून मतदाताको उपस्थिति हुन सक्ने देखिएको छ ।

गतसातादेखि कर्णालीका हिमाली क्षेत्रमा हिमपात हुन थालेको छ । हिमपातसँगै माथिल्लो क्षेत्रका स्थानीयहरू बसाइँ सर्ने गर्दछन् । अत्यधिक चिसो हुने हुँदा जाडो छल्नका लागि कतिपय जिल्ला सदरमुकाम आउँछन् भने कतिपय सुर्खेत, नेपालगञ्ज र काठमाडौं झर्ने गर्दछन् । उनीहरू नफर्किएमा फागुन २१ को चुनावमा मतदान गर्न पाउने छैनन् ।

हिमाली बस्तीमा चुनावको तयारी गर्न समेत सकस भइरहेको छ । हिमपात बढी हुने मतदान केन्द्रहरूमा हेलिकोप्टरबाट मतपेटिका र निर्वाचन सामग्री पु¥याउने बारेमा छलफल भइरहेको छ । यद्यपि, मतदान हुने दिन आउन अझै एक महिना समय बाँकी रहेकाले त्यतिबेलासम्म मौसम पनि केही सुधार हुन सक्ने अपेक्षा सरोकारवालाहरूको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले मतदान आउन अझै समय बाँकी भएकाले अहिले नै आत्तिनुपर्ने अवस्था नभएको बताए । यदी हिमपातको क्रम घटेमा फागुन दोस्रो सातासम्म अधिकांश मतदाता फर्किनसक्ने आँकलन गरिएको छ ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णालीका उच्च हिमाली बस्तीका २० वटा मतदान केन्द्रमा अत्यधिक हिमपात हुन्छ । ती क्षेत्रका झण्डै चार हजार मतदाता बाहिर रहेको प्रदेश प्रहरीको तथ्यांक छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले भने हिमाली क्षेत्रमा पनि निर्वाचनको तयारी अघि बढाइएको जनाएको छ । प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले जिल्लाहरूमा मतदान सामग्री पठाउने, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा कार्यक्रम सञ्चालन तथा निर्वाचन आचारसंहितामाथि छलफलका कामहरू भइरहेको जानकारी दिए । ‘हिमाली जिल्लाहरूको समस्याबारे आयोगलाई जानकारी छ, मतदानको समयसम्म पनि हिमपात भइरहेको खण्डमा वैकल्पिक व्यवस्था गर्न केन्द्रले केही योजना बनाएको पनि होला । तर फागुन २१ गते मतदानको दिनसम्म मौसममा पूर्णरूपमा सुधार हुने अपेक्षा हाम्रो छ, सबै मतदाताले आफ्नै ठाउँमा पुगेर मतदान गर्न सक्नेमा हामी ढुक्क छौँ,’ उनले भने ।

हिमपातका कारण हुन सक्ने सम्भावित कठिनाइबारे अध्ययन भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार यो विषयमा हाल मसिनो गरी अध्ययन भइरहेको हो । हिमाली क्षेत्रमा हुन सक्ने हिमपात र निर्वाचनमा पर्न सक्ने असरको विषयमा अध्ययन भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई बताउँछन् । ‘सकभर मतदान गर्ने समयसम्म हिमपात कम हुने हाम्रो अपेक्षा छ,’ प्रवक्ता भट्टराईले भने ‘यो विषयमा मौसम पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय भइरहेको छ, आयोगले पनि थप अध्ययन गरिरहेको छ । हिमाली क्षेत्रको सम्बन्धमा हामी चाँडै उचित विकल्प दिनेछौँ, आयोगले चाँडै यसको निर्णय गर्नेछ ।’

प्रकाशित मितिः   १८ माघ २०८२, आईतवार ०९:४५