१३२ केभी प्रसारण लाइनः निर्माण सम्पन्न, आजदेखि परीक्षण

परीक्षणपश्चात् आयोजना सञ्चालनमा आउने जनाइएको छ । यो आयोजनाले अहिले सञ्चालनमा गरेको ३३ केभी प्रसारण लाइनलाई विस्थापित गर्नेछ ।

सुर्खेत: बहुप्रतिक्षित कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन आयोजना निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सकिएसँगै आज (शुक्रवार) देखि परीक्षण गरिने भएको छ । केही दिनभित्रैमा नियमित विद्युत प्रसारण गर्ने गरी शुक्रवार परीक्षण गर्न लागिएको नेपाल विद्युत प्राधिकरण सुर्खेतले जानकारी दिएको छ ।

विस्तार गरिएको हाइटेन्सन लाइनलाई राष्ट्रिय प्रसारण प्रर्णालीमा जोड्नका लागि परीक्षण गर्न थालिएको हो । बाँकेको कोहलपुरस्थित सबस्टेशनदेखि वीरेन्द्रनगरको सुब्बाकुनामा निर्माण गरिएको सबस्टेशनमा डबल सर्किट प्रसारण लाइनबाट १३२ किलोभोल्ट क्षमताको विद्युत प्रवाह गरेर परीक्षण गरिनेछ । बाँकेबाट बर्दिया हुँदै सुर्खेत रुटमा परीक्षणपश्चात् नियमित प्रसारण लाइन सञ्चालनमा ल्याइनेछ ।

प्राधिकरणले शुक्रवार प्रसारण लाइन क्षेत्र आसपासमा सावधानी अपनाउन आग्रह गरेको छ । प्रसारण लाइनका टावरमा नचढ्न भनिएको छ । त्यसैगरी कुनै पनि वस्तुले नछुन, टावर वरिपरी नजान, गाईवस्तुलाई टावर नजिक जान नदिन नागरिकहरूलाई सचेत गराइएको हो । यसक्रममा खतराका संकेत देखा परेमा भने विद्युतका संरचनालाई नछुन र बालबालिकालाई समेत टावर नछुन तथा नजिक जान नदिन अनुरोध गरिएको छ । साथै परीक्षणको क्रममा कुनै ठाउँमा झिल्का आएमा वा खतरा देखिएमा प्राधिकरण वा नजिकैको प्रहरीमा जानकारी दिनसमेत आग्रह गरिएको छ ।

नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर नगरपालिकाको वडा नं. १० चटार, वडा नं. १३ सिम्रिक क्षेत्रसहित बैजनाथ गाउँपालिका वडा नं. ४ बाँनियाभार र वडा नं. १ गाभर क्षेत्र पर्दछन् ।

त्यसैगरी बर्दियाको बाँसगढी नगरपालिका वडा नं. १ बबई क्षेत्र हुँदै प्रसारण लाइन विस्तार गरिएको छ । सुर्खेतमा भेरीगंगा नगरपालिकाको वडा नं. ५ बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रसहित वडा नं. ४ हर्रे त ताउलेखोला, वडा नंं. १० को झिलमिले र थानीचौरलगायतका क्षेत्र पनि विद्युत प्रसारण लाइन आयोजना क्षेत्रमा छन् । त्यसबाहेक पनि भेरीगंगाकै वडा नं. १२ र वडा नं. १३ मा पर्ने सामुदायिक वन र वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ११ सुब्बाकुना यो आयोजनासँग जोडिएका छन् । यी क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।

परीक्षणपश्चात् आयोजना सञ्चालनमा आउने कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना नेपाल विद्युत प्राधिकरण कर्णाली प्रादेशिक प्रमुख शशीभूषण शाहले जानकारी दिए । यो आयोजना निर्माणको सुरुवात २०७७ देखि गरिएको थियो । भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्टले ७० करोड रूपैयाँमा आयोजनाको ठेक्का पाएको थियो । निर्माण सुरु गरिए पनि विवादका कारण लामो समय आयोजना अवरुद्ध हुन पुग्यो ।

राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रुख कटानदेखि बाँकेको बाँनियाभार र वीरेन्द्रनगरको सुब्बाकुना क्षेत्रमा जग्गा विवाद निम्तिएको थियो । विवाद समाधान गर्न समय लाग्यो । जसका कारण आयोजना निर्माणमा पनि ढिला हुन पुग्यो । पटक–पटक म्याद थप गरेर भएपनि आयोजना निर्माण कार्य सकिएको छ ।

२०८० चैतमा सकिएको आयोजनाको पहिलो म्याद २०८१ पुस १६ सम्म थपिएको थियो । तर त्यो अवधिमा पनि निर्माण सम्पन्न हुन नसकेपछि दोस्रो थप गरेर २०८२ माघ मसान्तसम्म पु¥याइएको हो । माघको दोस्रो सातासम्ममा निर्माण कार्य सकिएको छ । अब परीक्षण गरेर प्रसारण लाइन सञ्चालनमा आउन मात्रै बाँकी छ । शुक्रवार हुने परीक्षणमा कुनै समस्या नदेखिए नियमित प्रसारण गरिनेछ ।

यो आयोजनाले सुर्खेतसहित कर्णाली प्रदेशमा देखिएको विद्युत समस्या समाधानमा ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ । अहिले सञ्चालनमा रहेको ३३ केभी प्रसारण लाइनले यहाँको मागअनुसार विद्युत आपूर्ति हुन सकिरहेको थिएन । जसले गर्दा नागरिकले अनियमित लोडसेडिङको मार खेप्नु परिरहेको थियो । १३२ केभी सञ्चालनमा आएपछि त्यो समस्या समाधान हुने अपेक्षा नागरिकको छ ।

प्रकाशित मितिः   १६ माघ २०८२, शुक्रबार ०५:०५