पहिलो हिउँदे हिमपात

कर्णालीका हिमाली कृषकलाई राहत

सुर्खेत: कर्णालीका हिमाली क्षेत्रमा यस वर्षको पहिलो हिउँदे हिमपात भएको छ । शुक्रवार राति हल्का पानीसहित हिमाली जिल्लाहरूमा हिमपात भएको हो ।

जुम्लामा तीन वर्षपछि पहिलो पटक हिमपात भएको हो । पछिल्ला वर्षहरूमा जुम्लामा हिउँ पर्न सकेको थिएन । माथिल्ला लेकाली क्षेत्रमा सामान्य हिमपात भएपनि तल्लो क्षेत्रमा सामान्य वर्षा मात्रै हुने गरेको थियो । यसवर्ष ढिला गरेर माघको दोस्रो साता हिउँ परेपछि किसान उत्साहित भएका छन् । शनिवार जिल्लाभर नै हिउँ परेपछि हिउँदे बाली सप्रने आशामा कृषकहरू खुसी भएका छन् ।

शनिवार बिहानदेखि दिनभरजसो जुम्लामा हिउँ परेको हो । सदरमुकाम खलंगा क्षेत्रमै झण्डै आधा फिट र लेकाली क्षेत्रमा एक फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् । हिउँसँगै चिसो बढेकाले जनजीवन केही प्रभावित बनेको छ । पशुवस्तुलाई किसानले गोठमै राखेर घास–पानी दिइरहेका छन् । कर्णाली राजमार्गलगायत अन्य सडकमा सवारी साधन गुड्न सकेका छैनन् । हिमपातले हवाईसेवा समेत प्रभावित बनेको छ । तर हिउँदेबालीको रूपमा रहेको जौं, गहुँलगायत खेती सप्रने किसानहरूको भनाइ छ ।

सामान्यतया मंसिर वा पुसमै हिउँ पर्नुपर्ने हो । तर माघ महिनामा हिउँ परे पनि किसानलाई फाइदा नै हुन्छ । भर्खर व्यवस्थापन गरिएको बगैँचामा चिस्यान थपेको छ । सिँचाइ व्यवस्थापन भएको छ । जसका कारण बाली सप्रने आश उनीहरूको छ । यही मौकामा किसानले मलखादको उचित व्यवस्थापन गर्नसकेमा यो पटक जुम्ली किसानहरूले चिन्ता मान्नुपर्ने देखिँदैन । जिल्लाको आठै वटा स्थानीय तहका ६० वडामै हिमपात भइरहेको छ । जिल्ला प्रशासन कार्यालयले भारी हिमपात भइरहेकोले उच्च सतकर्ता अपनाउनको लागि अपिल गरेको छ । स्याउमा कालो तुसारो नलाग्नेदेखि रोगकिराको संक्रमण अत्यन्तै कम हुने कृषि विज्ञहरूले बताएका छन् ।

यसैगरी कर्णालीको अर्को हिमाली जिल्ला मुगुमा पनि शुक्रवार रातिदेखि हिउँ परेको छ । लामो समयदेखि पानी नपरेर चिन्तित बनेका मुगुका कृषकहरू हिमपातले केही राहत महशुस गरेका छन् । असोजदेखि खडेरीको मार खेप्दै आएका किसानहरू आफ्नो खेतबारीमा रोपेको हिउँदे बाली सुकेर उब्जनी नहुने चिन्तामा रहेका बेला शुक्रवार राति परेको हिमपातले राहत महशुस गराएको छ ।
जिल्लाका छायाँनाथ रारा नगरपालिका, खत्याड, सोरु र मुगुम कार्मारोङ गाउँपालिका लगायतका उच्च हिमाली क्षेत्रहरूमा शुक्रवार रातिबाट परेको बाक्लो हिमपातले माटोमा चिस्यान बढाएको छ । यसले गहुँ, जौं, आलु र उवाजस्ता हिउँदे बालीमा सकारात्मक प्रभाव पर्ने कृषकहरूको विश्वास छ ।

यसवर्ष हिउँ निकै ढिला परेको स्थानीयहरू बताउँछन् । छायाँनाथ रारा नगरपालिका–६ का कृषक रूपबहादुर सेजुवालका अनुसार पहिला असोज–कार्तिकमै हिमपात हुने गथ्र्यो । तर विगत ५–६ वर्षयता समयमै हिमपात हुन छोडेको छ । जसले गर्दा हिउँदे बाली बिग्रने गरेका छन् । यद्यपि, ढिलै भएपनि यस वर्ष हिउँ परेकाले अब उत्पादन राम्रो हुने अपेक्षा कृषकहरूको छ ।

कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख गणेश अधिकारीले हिमपातले माटोको उर्वराशक्ति बढाउने, किरा–फट्याङ्ग्रा नियन्त्रण गर्ने र हिउँदे बालीको उत्पादनमा वृद्धि हुने बताए । यसका साथै यो समय स्याउ, ओखरलगायत बिरुवा रोप्ने, काँटछाँट गर्ने भएकाले सबै फलफूललाई समेत सहयोग पुग्ने उनले जनाए ।

हुम्लाको सदरमुकाम सिमकोटमा पनि यस वर्ष पहिलो पटक हिमपात भएको छ । हरेक वर्ष मंसिर महिनादेखि नै सुरू हुने हिमपात यस वर्ष माघ महिनामा सरेको हो । लामो समय हिमपात नहुदाँ कृषकहरू चिन्तित बनेका थिए । शुक्रवार रातिदेखि परेको हिउँले हुम्लाका कृषक पनि खुसी भएका छन् ।

शुक्रवार रातिदेखि कर्णालीका हिमाली जिल्लाहरू हुम्ला, डोल्पा, जुम्ला र मुगुमा हिउँ परेको छ । हिमपातसँगै चिसो बढे पनि कृषकहरू भने आगामी उत्पादनप्रति आशावादी देखिएका छन् । लामो खडेरीपछि परेको हिमपातर्ले हिमाली क्षेत्रका कृषकहरूलाई हिउँदे बाली र फलफूलको उत्पादनमा केही राहत हुने देखिएको छ ।

 

 

प्रकाशित मितिः   ११ माघ २०८२, आईतवार ११:१७