१३२ केभी प्रसारण लाइनः दुई साताभित्र सञ्चालनमा आउने

सुर्खेत: १३२ केभी विद्युत प्रसारण लाइन विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सुर्खेतसहित कर्णालीको विद्युत अपुगको समस्या समाधानका लागि कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारको काम अन्तिम चरणमा पुगेको हो ।
अबको १५ दिनमा प्रसारण लाइन सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको आयोजनाले जनाएको छ । अब आयोजनाअन्तर्गत राष्ट्रिय निकुञ्जमा एक किलोमिटर तार तान्ने काम मात्र बाँकी रहेको छ । अन्य सम्पूर्ण काम सकिएको आयोजना प्रमुख रवि चौधरीले बताए । उनका अनुसार कुहिरोले गर्दा तार तान्ने काममा बिलम्व भएको हो । माघ १ गतेदेखि प्रसारण लाइन सञ्चालनको तयारी भएपनि हर्रे क्षेत्रमा लाग्ने कुहिरोका कारण तार तान्न सकिएको छैन । अब मौसम खुल्ने बित्तिकै एक किलोमिटरमा तार तान्ने र परीक्षणको काम गरेर प्रसारण लाइन सञ्चालनमा ल्याउने तयारी भइरहेको चौधरीले बताए । उनका अनुसार संघीय सरकारसँग सोही अनुरूपको संवाद भएको छ । उनका अनुसार अबको १५ दिनमा प्रशारण लाइन सञ्चालनमा आउनेछ ।
केहीदिनअघि कर्णाली आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले १३२ केभी प्रसारण लाइन सञ्चालनसँगै कर्णालीको औद्योगिकरण सुरु हुने र कर्णाली विकासको गतिमा अघि बढ्ने बताएका थिए । कर्णालीको निरीक्षण भ्रमणका क्रममा उनले कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाको निरीक्षण गर्दैे ढिलामा १५ दिनभित्र उक्त प्रसारण लाइन चार्जमा ल्याउन निर्देशनसमेत दिएका थिए । तार तान्ने काम बाँकी रहेकाले बिलम्व भएको छ ।
कर्णालीमा १३२ केभी प्रसारण लाइन पहिलो पटक सञ्चालनमा आउन लागेको हो । मौसमका कारणले केही सानो काम बाँकी रहँदा तोकिएकै मितिमा विद्युत प्रसारण लाइन सञ्चालनमा ल्याउन नसकिएको आयोजनाले जनाएको छ । अबको १५ दिनभित्र विद्युत सञ्चालनमा ल्याउनेगरी तयारी भइरहेको आयोजना प्रमुख चौधरीको भनाइ छ ।
लाइन विस्तार कार्यको सुरुवात २०७७ असारदेखि गरिएको थियो । भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रा.लि.ले ७० करोड रूपैयाँमा आयोजनाको ठेक्का पाएको थियो । तर सुरुवातमा विवदामा अल्झिदा कामले गति लिन सकेन । जसका कारण आयोजनाको म्याद पटक–पटक थपिएको थियो । २०८० चैतमा सकिएको आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थपिएको थियो भने पछिल्लो समय २०८२ माघसम्मका लागि समय थपिएको थियो । अहिले अन्तिम चरणको काम भइरहेको छ । प्रशारण लाइनको परीक्षणको काम बाँकी छ ।
शतप्रतिशत भौतिक प्रगति
हाल आयोजनाको शतप्रतिशत भौतिक प्रगति हासिल भएको आयोजनाले जनाएको छ । अब एक किलोमिटर तार तान्ने र परीक्षणको काम मात्र बाँकी रहेको छ । एक हप्ता परीक्षणको काम गर्न लाग्ने छ । त्यसको एक साताभित्रमा बाँकी काम सकेर १५ दिनमा विद्युत सञ्चालनको तयारी गरिहेको आयोजना प्रमुख चौधरीले बताए ।
तीन तहकै सरकारले चासो दिएपछि पछिल्लो समय आयोजनाको कामले पनि गति पाएको छ । कतिसम्म भने विवादित क्षेत्रमा सरकारले सुरक्षा घेराबाट फाउन्डेशन निर्माणको काम अघि बढाएको थियो । विवाद नै विवाद हुँदा आयोजनाले अपेक्षित रूपमा काम गर्न सकेको थिएन । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार बाँकेको बैजनाथ गाउँपालिकाको वडा नं. १ गाभर र वडा नं. ४ को बानियाँभार हुँदै लाइन विस्तार गर्नुपर्ने थियो । तर उक्त लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध जनाएका थिए । विवाद समाधान गर्नका लागि कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीदेखि संघीय मन्त्रीसमेत पटक–पटक विवादितस्थलमा पुगेर समस्या समाधानको पहल गरेका थिए । सबै विवाद समाधान भएपछि धमाधम काम भइरहेको छ । जसका कारण अबको दुई साताभित्र प्रसारण लाइन नै सञ्चालनमा आउने जनाइएको छ ।
प्रकाशित मितिः ५ माघ २०८२, सोमबार ०८:३९
साझा बिसौनी ।