दशौँ राष्ट्रिय खेलकुद: समय घर्किदै, तयारी सुस्त

सुर्खेत: पछिल्लो पटक भएको निर्णयअनुसार दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना हुने मिति आउन ४० दिन बाँकी छ । तर प्रतियोगिता आयोजनाका लागि आवश्यक प्रक्रिया नै अघि बढ्न सकेको छैन ।

जेन–जी आन्दोलनपछि युवा तथा खेलकुद मन्त्री नियुक्त भएका बब्लु गुप्ताले लगत्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक राखेर फागुन १ देखि ७ गतेसम्म दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गराएका थिए । गत कार्तिक १९ गते बसेको राखेपको १२३औँ बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने प्रतियोगिताको मिति तय गरेको एक सातापछि मन्त्रिपरिषद्को बैठकले ६३ करोड बजेटसमेत स्वीकृत गरेको थियो । तर मिति तय भएर बजेट स्वीकृत भएको दुई महिना बितिसक्दा पनि दशौँ राष्ट्रिय खेलकुदका लागि अत्यावश्यक प्रक्रिया अझै अघि बढ्न सकेका छैनन् । तयारी निकै सुस्त देखिएको छ ।

जसका कारण दशौँ राष्ट्रिय खेलकुद निर्धारित समयमा सम्पन्न हुनेमा फेरि शंका उत्पन्न हुन थालेको छ । किनकी निर्धारित मिति आउन ४० दिनको समय बाँकी रहँदा सामग्री खरिदका लागि टेन्डर आह्वानदेखि विभिन्न उपसमिति अझै गठन भएका छैनन् । यो बीचमा तत्कालिन सदस्यसचिव टंकलालको पदावधि समाप्त भएको थियो । त्यसपछि मन्त्री गुप्ताले सहसचिव राम चरित्र मेहतालाई एक महिनाअघि अर्को व्यवस्था नभएसम्मका लागि सदस्यसचिवको जिम्मेवारी दिएका छन् ।

मन्त्रीले चार वर्षे कार्यकालका लागि सदस्यसचिव नियुक्ति प्रक्रिया अघि बढाएका छैनन् । मन्त्रीले सदस्यसचिव नियुक्तिका लागि छनोट समिति गठन गर्न आलटाल गर्दा खेलकुदलाई चलायमान बनाउने सदस्यसचिव पाउन अझै कुर्न पर्ने भएको छ ।

त्यसैले अर्को व्यवस्था नभएसम्मका लागि सदस्यसचिव बनेका मेहता नै अहिले दशौँको तयारीमा जुटेका छन् । तर उनी चुनौतीपूर्ण अवस्थामा काम गर्न बाध्य छन् ।

सदस्यसचिव मेहताले राष्ट्रिय खेलकुद सम्पन्न गर्नका लागि चाहिने आवश्यक खेल पोसाकदेखि खेल सामग्री खरिदका एक साताभित्र टेन्डर आह्वान गर्ने तयारी भइरहेको जनाएका छन् । तर उनले टेन्डर प्रक्रियाका लागि पर्याप्त समय नपुग्ने विषयमा भने सचेत रहेको बताए । मेहताले भने, ‘टेन्डरलाई अलिकति समय चाहिँ अब पुग्दैन । तर खरिद प्रक्रिया नियमअनुसार त गर्नै प¥यो, अरु विकल्प छैन । सार्वजनिक खरिद ऐनलाई बाइपास गरेर जाने अवस्था पनि छैन ।’

हुन त परिषद्ले निर्धारित मितिमै प्रतियोगिता आयोजना गर्ने जनाएको छ । मेहताले निर्धारित मितिमा एउटा खेलको मात्र आयोजना गरेर उद्घाटन गर्ने संकेत गरे । ‘कुनै एक खेलको मात्र उद्घाटन गरेर अघि बढ्ने कुरा मात्र छ । यो एउटा विकल्प भयो,’ उनले भने, ‘सार्वजनिक खरिद प्रक्रिया टुँगिएन भने सरकारसँग अनुरोध गरेर अघि बढ्न सकिन्छ । खरिद प्रक्रिया डबल इन्भेलप हुन्छ, कहिलेकाहीँ लम्बिन सक्छ, रिबिड हुन सक्छ । यो काबुभन्दा बाहिरको परिस्थिति भयो । काबुभन्दा बाहिर परिस्थितिमा जाँदा खेरि सरकारसँग अनुरोध गर्ने हो ।’

सरकारको पूरा ध्यान फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा रहेको बेला राष्ट्रिय खेलकुदले प्राथमिकता पाउने सम्भावना पनि न्यून छ । यद्यपि मेहता भन्छन्, ‘यो पनि सरकारकै काम हो । चुनाव पनि सरकारको काम हो । चुनाव पहिलो प्राथमिकतामा होला, यो त्यसपछिको प्राथमिकतामा हुन सक्छ ।’

अर्कोतर्फ दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न चाहिने विभिन्न उपसमिति पनि अझै गठन हुन सकेका छैनन् । विभिन्न उपसमिति गठन हुन नसकेको कुरा सदस्यसचिव मेहताले स्वीकार गर्दै अत्यावश्यक उपसमिति भने गठन भइसकेको बताए । ‘खरिदसँग जोडिएका समितिलाई भने पूर्णता दिइसकेका छौँ,’ उनले भने । अहिले बन्द प्रशिक्षणका लागि प्रदेश र विभागका टोलीलाई पत्राचार गर्ने तयारी भइसकेको पनि बताए । साथै अर्को साता प्रतियोगिता आयोजना हुने कर्णाली प्रदेशमा गएर प्रदेश सरकारसँग छलफल गर्ने पनि उनको भनाइ छ । अघिल्लो वर्ष नै भइसक्नुपर्ने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पटक–पटक सर्दै आएको छ ।

प्रकाशित मितिः   १९ पुष २०८२, शनिबार ०५:००