मापदण्ड विपरित बालगृह
सुर्खेत: कर्णालीमा दर्जन बढी बालगृह सञ्चालनमा छन् । ती बालगृहले कानुनी मापदण्ड पूरा गरेका छैनन् । प्रक्रिया नै पूरा नगरी सञ्चालन गरिएका बालगृहमा हजाराैँ बालबालिका आश्रित छन् । वीरेन्द्रनगर नगरपालिकाले मापदण्ड पूरा नगरेका बालगृह बन्द गर्ने जनाएको छ । अहिले त्यस्ता सञ्चालनमा रहेका बालगृहको खोजी भइरहेको नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सरला रेग्मीले बताइन् ।
केही वर्षअघि नगरपालिकाले मापदण्ड पूरा नगरेका विभिन्न बालगृहबाट बालबालिका झिकेर केहीलाई अभिभावकको जिम्मा लगाएको थियो भने ४१ वटा बालबालिका काठमाडौंको बालगृहमा पठाएको थियो । बालबालिकासम्बन्धी राष्ट्रिय प्रतिवेदन–२०८२ का अनुसार कर्णालीका दुई वटा बालगृहले मात्र नेपाल सरकारको बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७९ पूरा गरेको पाइएको छ ।
कर्णाली प्रदेशमा १२ वटा बालगृह छन् । तीमध्ये दुई वटाले मापदण्ड पूरा गरेका छन् भने राष्ट्रिय बालअधिकार परिषद्बाट ६ वटा बालगृहले सञ्चालन अनुमति प्राप्त गरेका छन् । बालबालिका सम्बन्धी राष्ट्रिय प्रतिवेदनका अनुसार नेपालभर तीन सय ६६ बालगृह सञ्चालनमा रहेका छन् । ती मध्ये राष्ट्रिय बालअधिकार परिषद्बाट दुई सय सात बालगृहले सञ्चालन अनुमतिपत्र प्राप्त गरेका छन् । आठ वटा संस्थाले स्वयम् बालगृह बन्द गरेका छन् ।
अभिभावकविहीनका लागि खोलिएका बालगृहमा बाबुआमा भएका बालबालिका बस्ने गरेको हिमाली नविन समाजका सुरेन्द्र लामा तामाङले बताए । उनका अनुसार कानुनमा बाबुआमा दुवै र संरक्षत्व लिने नातेदारसमेत नभएका बालबालिकालाई अन्तिम विकल्पका रूपमा बालगृहमा राख्न सकिने व्यवस्था भएपनि बालगृहमा अधिकांश बाबुआमा भएका बालबालिका बस्ने गरेको पाइएको छ । हिमाली नविन समाजले सार्वजनिक गरेको विवरणअनुसार ६६ प्रतिशत बालगृहहरू पर्यटकीय गन्तव्य रहेका जिल्लाहरूमा रहेका छन् । काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र चिवतन जिल्लाहरूमा बालगृहहरू सञ्चालित रहेका छन् । ३३ प्रतिशत बालबालिका बालगृहमा रहेका छन् । एक हजार आठ सय ८२ बालबालिका ती बालगृहमा रहेको जनाइएको छ ।
राष्ट्रिय बालअधिकार परिषद् कर्णाली प्रदेशले सार्वजनिक गरेको बालबालिकाको स्थिति प्रतिवेदनअनुसार हाल बालगृहमा आश्रय लिएका बालबालिकामध्ये २२ प्रतिशत बालबालिकालाई मात्रै बालगृहको आवश्यकता रहेको उल्लेख गरेको छ । बाँकी ७८ प्रतिशत बालबालिकालाई बालगृहको आवश्यकता नपर्ने सोही प्रतिवेदनले जनाएको छ । कर्णालीमा रहेका विभिन्न बालगृहमा करिब ६० प्रतिशत बालबालिका आमा वा बाबु दुईमध्ये एक जना भएका बालबालिका बस्ने गरेको पाइएको राष्ट्रिय बालअधिकार परिषद् कर्णाली प्रदेशका संयोजन डम्बर रोकायाले बताए । उनका अनुसार राज्यको नीतिविपरित बालबालिका बालगृहमा राख्ने गरेको पाइएको हो ।
आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्डमा आमाबाबु दुवै नभएका वा भएर पनि हेरचाह गर्ने शारीरिक वा मानसिक अवस्था ठीक नभएका बालबालिकाको हेरचाह सकेसम्म नजिकको नातेदारले गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । आर्थिक विपन्न, अपाङ्गता भएका र दुर्गम क्षेत्रका आमाबाबुले छोराछोरीलाई सहरका राम्रा विद्यालयमा पढाउने रहरले बालगृहमा राखिदिने गरेका छन् ।
परिषद्का अनुसार हाल देशका विभिन्न जिल्लामा सञ्चालित चार सय ५४ वटा बालगृहमा कर्णालीका करिब ७० प्रतिशत बालबालिकाले आश्रय लिँदै आएका छन् । स्थानीय सरकारको बेइमानीका कारण आमाबाबु भएका बालबालिका बालगृहमा पठाउने गरिएको हो । कर्णालीको कुल जनसंख्यामध्ये ४० प्रतिशत बालबालिका छन् । प्रदेशको कुल जनसंख्या १६ लाख ८८ हजार चार सय १२ छ । २०७८ सालको जनगणना तथ्यांकअनुसार यसमध्ये ६ लाख ७७ हजार ४८ जना बालबालिका छन् । यसमा पनि बालकको संख्या बढी छ । तीन लाख ४५ हजार चार सय २९ जना बालक छन् भने तीन लाख ३१ हजार पाँच सय ५६ जना बालिका छन् ।
प्रदेशका तीन लाख चार हजार एक सय ८४ जना बालबालिकालाई विभिन्न कारणले विशेष संरक्षण र वैकल्पिक संरक्षणको आवश्यकता देखिएको छ । राष्ट्रिय बाल कल्याण परिषद्का अनुसार कर्णालीका ४१ हजार बालबालिका बालविवाहको शिकार भएका छन् । बालविवाहका कारण उनीहरू विभिन्न अधिकार प्राप्तिबाट वञ्चित भएको जनाइएको छ ।
यस्तै एक लाख ३७ हजार अर्थात जम्मा संख्याको २० प्रतिशतभन्दा बढी बालबालिका बालश्रम गर्न बाध्य छन् । उनीहरू पारिवारिक, भौगोलिक, अभिभावकको चेतनाको कमीजस्ता विविध कारणले श्रममा लाग्न बाध्य भएको तथ्यांकले देखाएको छ । नेसनल इन्स्टिच्युट अफ कन्टेम्पोरारी स्टडिज (एनआइसिएस) ले निकालेको तथ्यांकअनुसार कर्णाली प्रदेशका २५ हजार तीन सय ६३ जना अर्थात करिब चार प्रतिशत बालबालिका अभिभावकदेखि टाढा बसिरहेका छन् । ९५ हजार पाँच सय ३४ जना बालबालिका एकल अभिभावकसँग छन् । दुई हजारभन्दा बढी बालबालिका विभिन्न बालगृहमा बस्न बाध्य छन् ।
प्रकाशित मितिः १० पुष २०८२, बिहीबार ०९:५६
साझा बिसौनी ।