‘निर्वाचनको विकल्प छैन’

सुर्खेत: गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकलाई अप्ठ्यारोबाट सहजतातर्फ लैजानका लागि निर्वाचनको विकल्प नभएको बताएका छन् । बुधवार वीरेन्द्रनगरमा आयोजना गरिएको प्रदेशस्तरिय सुरक्षा गोष्ठिलाई सम्बोधन गर्दै अर्यालले आवधिक निर्वाचन नै सुशासनको आधार भएको र ताजा जनादेश प्राप्त सरकारले सुशासन कायम गर्नमा सशक्त भएर काम गर्न सक्छ भन्ने तथ्यलाई भुल्न नहुनेमा जोड दिए ।

निर्वाचन लोकतन्त्रको एक असल अभ्यास र अपरिहार्य व्यवस्था भएको मन्त्री अर्यालको भनाइ थियो । निर्वाचनले नै नागरिक शक्तिलाई सरकारमा पु¥याइ शासनको वैधानिकता प्रदान गर्ने मूल प्रणाली रहेको बताए । उनले भने, ‘निर्वाचनविना सुशासन कायम गर्न कठिन हुने र देश थप अस्थिरतातर्फ धकेलिन सक्ने हुँदा सुशासन चाहने हो भने निर्वाचनको विकल्प छैन ।’

भर्खरै भएको जेनजी जन–आन्दोलनले गर्दै अहिलेका युवा पुस्तालाई यसले युवाहरूको राजनीतिमा मूल प्रवाहीकरण गरेको र अब पनि उनीहरूलाई बेवास्ता गरेर जान नसकिने धारणा मन्त्री अर्यालले राखे । सुशासन दिन सकिएन भने विद्रोहको अवस्था सिर्जना हुने भएकाले द्वन्द्वको अवस्था सिर्जना हुन नदिन नयाँ पुस्ता र उनीहरूका जायज माग सम्बोधन बेलैमा गरिनुपर्नेमा जोड दिए ।

उनका अनुसार निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने मूल म्यान्डेटका साथ गठन भएको नागरिक सरकार मूलतः सुशासन कायम गर्दै शान्ति सुरक्षाको प्रत्याभूतिसहित तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ अघि बढिरहेको छ । निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेको विचारसमेत उनले दोहो¥याएका थिए ।

कर्णाली प्रदेश भौगोलिक रूपमा विकट, संवेदनशील र रणनीतिक महŒव बोकेको क्षेत्र भएको र यस आजको सुरक्षा गोष्ठीमा कर्णाली प्रदेशको सुरक्षा चुनौती विश्लेषण गर्ने, त्यसका लागि आवश्यक रणनीति तय गर्ने, निर्वाचनका लागि गरिएका र अझ गर्नुपर्ने तयारीबारे खुलेर छलफल गरी निष्कर्षमा पुग्ने विश्वाससमेत मन्त्री अर्यालले व्यक्त गरे ।

सोही कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकार आगामी निर्वाचनका लागि संघीय सरकारलाई साथ सहयोग गर्न तत्पर रहे पनि अहिले नै निर्वाचनको वातारण बनिनसकेको अवगत गराए । राजनीतिक दल र दलीय व्यवस्थालाई नजरअन्दाज गर्दै जाने हो र सौहार्द राजनीतिक वातावरण प्रदेशमा नबनाउने हो भने आगामी निर्वाचन गर्न चुनौती हुने उनको धारणा थियो ।

प्रकाशित मितिः   १० पुष २०८२, बिहीबार ०९:५४