विकासको अवधारणा प्रस्तुत गर्दै अध्यक्ष केसीद्धारा पदभार ग्रहण

सुर्खेतको सिम्ता गाउपालिकाका पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । आज एक विशेष समारोहकाबीच सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार के.सि. र उपाध्यक्ष चन्द्रकला शाहीले आफ्नो कार्यकक्षमा पदभार ग्रहण गरेका हुन् ।

साथै, आजै गाउँपालिका भित्रका वडाका वडा सदस्यहरुलाई सपथ ग्रहण पनि गराइएको छ । गाउँपालिकाका अध्यक्ष के.सिले वडा सदस्यहरुलाई सिम्ता र सिम्ताली जनताको नाममा सपथ ग्रहण गराएका हुन् । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुले भने यसअघिनै सपथ ग्रहण गरिसकेका थिए ।

कार्यक्रममा राजनितिक दलका प्रतिनिधिहरु, वडाअध्यक्ष तथा गाउँपालिकाका कर्मचारीहरुको समेत सहभागिता थियो । पदभार ग्रहणसँग संगै अध्यक्ष के.सिले सिम्ताको विकासका लागी आफ्नो लिखित अवधारण पत्र प्रस्तुत गरेका थिए । उनले आफूसँग भएका योजना र जनताका सुझावका आधारमा सिम्ता गाउँपालिकालाई समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मितिः   १० जेष्ठ २०७४, बुधबार १७:३४