प्रदेश–स्थानीय तह संवादः बलियो अन्तरसम्बन्ध बनाउने प्रयास

सुर्खेत: देश संघीयतामा गएको लामो समयसम्म पनि तीन तहका सरकारको तादम्यता मिल्न सकेको छैन । एकले अर्कोलाई आरोप लगाउँदै विकासको काममा समेत बाधक बन्ने गरेको गुनासो सुनिने गरेको छ । यहीबीचमा कर्णाली प्रदेश सरकारले भने स्थानीय तहसँगको सम्बन्ध बलियो बनाउने प्रयास थालेको छ ।

विगतदेखि नै प्रदेश र स्थानीय सरकारबीच सम्बन्ध प्रभावकारी नहुँदा स–साना विकास निर्माणका काममा समेत विरोध र बाँधा हुने गरेको थियो । यो वर्षदेखि प्रदेश सरकारले आवश्यक छलफल र समन्वयका माध्यमबाट मिलेर काम गर्ने बाटो खोलेको छ ।

स्थानीय तहसँगको सम्बन्ध मजबुत बनाउँदै नागरिकका गुनासो सम्बोधन गर्ने योजनाअनुरुप प्रदेश सरकारले कर्णालीका सबै स्थानीय तहका पदाधिकारीको भेला गरेर अन्तरक्रिया गरेको छ ।

प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य गर्ने अभ्यास र संस्कृतिको विकासका साथै संघीयताको मर्मअनुरुप काम गर्ने प्रतिबद्धता प्रदेश सरकारले जनाएको छ भने स्थानीय जनप्रतिनिधिले पनि साथ दिने प्रतिबद्धता व्यक्त गरेका
छन् । छलफलमार्फत समस्याको पहिचान गर्ने र दुबै तहका सरकारबीच समस्या समाधान गरिने जनाइएको छ । सम्बन्ध स्थापित गर्नका लागि विभिन्न योजनागत कार्यक्रम समेत राखिएको छ ।

 

प्रभावकारी नीति नहुँदा काम गर्न असहज भएको निष्कर्ष छलफलको थियो । त्यसैले अब बन्ने नीति स्पष्ट अधिकारसहितको बनाउनुपर्नेमा स्थानीय तहका प्रतिनिधिले जोड दिएका थिए ।

 

दुई दिनसम्म वीरेन्द्रनगरमा चलेको छलफलमा प्रदेशभित्रका विभिन्न समस्या र तिनका समाधानका उपायबारे मन्थन गरिएको छ ।

नीतिगतरुपमा गर्नुपर्ने सुधारदेखि सेवा प्रवाहमा ल्याउनुपर्ने परिवर्तनबारे समझदारी बनेको छ । प्रभावकारी नीति नहुँदा काम गर्न असहज भएको निष्कर्ष छलफलको थियो । त्यसैले अब बन्ने नीति स्पष्ट अधिकारसहितको बन्नुपर्नेमा स्थानीय तहका प्रतिनिधिले जोड दिएका थिए ।

प्रदेशले नीति बनाउँदा स्थानीय तहहरुसँग पनि समन्वय गर्नुपर्ने आवाज समेत उठेको थियो । छलफलमा स्थानीय तहका प्रतिनिधिहरुले स्पष्ट कानुन हुनुपर्नेमा जोड दिएका थिए । कानुन कार्यान्वयनमा नै झमेला हुँदा आवश्यक कार्यक्रम समेत कार्यान्वयन हुन नसकेको उनीहरुको गुनासो छ ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले तीनतहका सरकारको एउटै मन्त्र हुनुपर्ने बताए । संघ, प्रदेश र स्थानीय सरकार फरक भए पनि एउटै भूगोलमा कार्यरत भएकाले तीन तहका सरकारको समन्वय तथा सहकार्यले मात्र नागरिक लाभान्वित हुने उनले बताएका छन् । उनले विकास निर्माणका तथा सेवामा प्रवाहमा तीनै तहका सरकारको सहकार्य र समन्वयको अभाव समेत रहेको धारणा राखे ।

प्रदेश तथा स्थानीय सरकारबीच अन्तरसरकारी सम्बन्धका विषयमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले दोहोरोपन, अधूरा काम र गुणस्तरहीन विकासबाट जोगिन सहकार्यको आवश्यकता रहेको बताए । उनले भने, ‘भूगोल सबैको एउटै हो, त्यसैले विकास निर्माणमा सहकार्य र समन्वय हुनुपर्छ, तब मात्र जनताले प्रत्यक्ष लाभ पाउँछन् ।’ मुख्यमन्त्री कँडेलले अहिलेको परिवर्तित अवस्थामा जननिर्वाचित निकाय प्रदेश र स्थानीय तह बीचको सम्बन्ध अझ सुदृढ गर्दै जानु पर्ने उल्लेख गरेका छन् । उनले भने, ‘आन्दोलनपछि बनेको गैरदलिय सरकारले प्रदेश र स्थानीय तहलाई आफ्नो युनिट हो कि जस्तो गरि गरेको पत्राचार तथा व्यवहार गरिरहेको त्यसमा अहिले केहि सुधारहरू भएका छन, तर त्यसैमा ढुक्क हुने अवस्था छैन ।’

अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय महासंघ, नगरपालिका महासंघ र गाँउपालिका महासंघ पदाधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, गाँउपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुख, मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव, सचिव र पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू सहभागी थिए । प्रदेश सरकारको वार्षिक कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो । प्रदेश र स्थानीयतहबीच सम्बन्ध स्थापित गर्ने उद्देश्यले कार्यक्रममा आयोजना गरिएको जनाइएको छ ।

प्रकाशित मितिः   २७ कार्तिक २०८२, बिहीबार १२:००