उद्धारकर्ता देवकोटालाई सम्मान

सुर्खेत: नालाको भेलमा बगेका बालिकाहरू उद्धार गर्ने उदयराज देवकोटालाई सम्मान गरिएको छ । विद्याज्योति निकेतन सुर्खेतले आइतवार वीरेन्द्रनगर–११ निवासी देवकोटालाई नगद र प्रमाणपत्रसहित सम्मान गरेको हो ।
विद्याज्योतिमा अध्ययनरत दुई जना छात्राहरू निरा शाह र रितु सिंह गत साउन १५ गते अविरल वर्षाका कारण आएको भेलमा परेर नालामा बगेका थिए । देवकोटाले भेलसहितको नालाभित्र गएर उनीहरूको उद्धार गरेका थिए । जोखिम मोलेर बालिकाहरू उद्धार गरेको भन्दै विद्यालयले आइतवार विद्यालयमा आयोजित तिज विशेष कार्यक्रमको अवसरमा सम्मान गरिएको विद्यालयका प्रिन्सिपल ध्रवसिंह ठकुरीले जानकारी दिए । सोही क्रममा विद्यार्थीका अभिभावक भूमिका चन्दले देवकोटालाई नगद दुई हजार पाँच पनि प्रदान गरेकी थिइन् ।
वीरेन्द्रनगर–८ का अध्यक्ष टिकाराम शर्माको प्रमुख आतिथ्यतामा भएको तिज विशेष कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सदस्य गायत्री राना, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्ष विक्रम खड्कालगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः ९ भाद्र २०८२, सोमबार ११:१६
साझा बिसौनी ।