अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने
सुर्खेत: सुर्खेतमा १४ वर्षमूनिको अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)को वार्षिक कार्यक्रमअन्तर्गत सुर्खेत जिल्ला फुटबल संघले १४ वर्षमूनिको उमेर समूहमा छात्र तथा छात्रा फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
पहिरोमा परेर निधन भएका खेलाडीहरूको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो । गत वर्षको असोजमा अविरल वर्षाका कारण गएको पहिरोमा परेर मकवानपुरस्थित सिस्नेरीमा सञ्चालित एन्फा एकेडेमीका ६ जना खेलाडीको ज्यान गएको थियो । स्वर्गीय खेलाडीहरू अनुपम घलान, आदित्य बलम्पाखी, विकल रेग्मी, दिवस बानियाँ, प्रियान्स आचार्य र साइमन योन्जजको स्मृतिमा एन्फाले जिल्ला, प्रदेश र राष्ट्रिय प्रतियोगिता गर्दैछ ।
जसअन्तर्गत भदौ १५ देखि सुर्खेत जिल्लास्तरिय प्रतियोगिता सञ्चालन हुन लागेको सुर्खेत जिल्ला फुटबल संघले जनाएको छ । संघले प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयहरूलाई टिम दर्ताका लागि आह्वान गरेको छ ।
सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष दिलिप बस्यालले भदौ १० गतेसम्म टिम दर्ता गर्न सकिने जानकारी दिए । उनका अनुसार दर्ताका लागि पाँच हजार रूपैयाँ शुल्क तोकिएको छ । ‘खेलाडीहरूको विवरणसहित तोकिएको शुल्क तिरेर टिम दर्ता गराउन सकिनेछ’ अध्यक्ष बस्यालले भने, ‘प्रतियोगिताबारे विस्तृत जानकारी टिम दर्तापछि मात्रै उपलब्ध गराइनेछ ।’ उनले सुर्खेत जिल्लास्तरिय प्रतियोगिता भदौ १५ गतेदेखि तोकिएको भएपनि मौसम प्रतिकूल भएमा वा अन्य कुनै कारण परेमा प्रतियोगिताको मिति परिवर्तन हुनसक्ने पनि जानकारी दिए ।


साझा बिसौनी ।