दुईसय युवालाइ मौरी व्यवसाय तालिम

सुर्खेत: कर्णाली प्रदेशका दुई सय १३ जना युवाहरूलाई मौरीपालन व्यवसायसम्बन्धी तालिम प्रदान गरिएको छ । इन इलम परियोजना हेल्भेटास नेपालको सहयोगमा नेपाल मौरीपालक महासंघ कर्णाली प्रदेशले मौरी विमालेख, उद्यमशिलता विकास तथा व्यावसायिक योजना निर्माण तालिम प्रदान गरेको हो ।

तालिममा मौरी पालनको सम्भावना रहेको कर्णाली प्रदेशका जाजरकोट, दैलेख र सुर्खेतका युवाहरूहरू सहभागी भएको महासंघका संयोजक खगेन्द्र भण्डारीले जानकारी दिए । मौरीपालन व्यवसायको संरक्षण तथा हुनसक्ने जोखिम कम गर्नका लागि तीनवटै जिल्लाका एक हजार बढी मौरी गोलाको विमा गर्ने योजना रहेको उनले बताए ।

उद्यमशिलता तालिम मार्फत युवा उद्यमीहरूले आफ्नो व्यवसायको अवस्था, सुधारका लागि गर्नुपर्ने काम, आउन सक्ने जोखिम तथा जोखिम कम गर्ने उपाएकाबारेमा जानकारी पाएका छन् । यसका साथै व्यावसायिक योजनामार्फत् मौरीपालनमा हुने लगानी र त्यसबाट प्राप्त गर्न सकिने प्रतिफलबारे पनि उनीहरूलाई जानकारी दिइएको छ । यो तालिम निकै फलदायी भएको मौरीपालक कृषकहरूले बताएका छन् । वीरेन्द्रनगर–९ का सुरेन्द्र विसीले मौरीपालन व्यवसाय विस्तारका लागि महŒवपूर्ण ज्ञान हासिल गरेको बताए ।

प्रकाशित मितिः   ३१ श्रावण २०८२, शनिबार ०७:५९