युवालाई उद्यममा जोड्ने लक्ष्य

सुर्खेत: कर्णालीका युवालाई उद्यममा जोड्ने योजना बनाइएको छ । प्रदेश सरकारले रोजगारीका अवसर सिर्जना गर्नेगरी युवाहरूलाई उद्यमशीलतामा जोड्ने योजना अघि सारेको हो । युवा उद्यमशीलता र रोजगारीको विषयलाई नीति तथा कार्यक्रमसहित बजेटमा समावेश गरिएको हो ।

उक्त योजनाअन्तर्गत यो वर्षदेखि कार्यान्वयन हुनेगरी युवा उद्यमशीलता विकास गर्न र नवप्रवर्तन प्रवद्र्धन गर्न ‘स्टार्टअप फण्ड र बिजनेस इन्क्युवेसन सेन्टर’ स्थापना गर्न लागिएको छ । यस्ता उद्योगबाट उत्पादित वस्तु तथा सेवाको गुणस्तरीयता कायम गरी बजारीकरणका लागि समेत प्रदेश सरकारले सहयोग गर्नेछ । उक्त कार्यक्रम कार्यान्वयनका लागि दुई करोड बजेट विनियोजन गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । यो वर्षदेखि युवा लक्षित उद्यम कार्यक्रम कार्यान्वयन गर्न लागिएको मन्त्रालयका सूचना अधिकारी निरज श्रेष्ठले बताए । उनले भने, ‘सरकारले यो वर्ष युवालाई उद्यममा जोड्ने कार्यक्रम ल्याएको छ, यो कार्यान्वयन प्रभावकारी भए अन्य कार्यक्रमसमेत निर्माण गर्ने योजना छ ।’ युवा उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिबाट सञ्चालन हुने व्यवसायलाई प्रोत्साहन गर्न सहुलियतपूर्ण कर्जाको कार्यक्रम पनि प्रदेश सरकारले ल्याएको छ ।

यसअघि प्रदेश सरकारले युवाका सवाल समेट्ने गरेको भएपनि छुट्टै बजेट भने विनियोजन गर्ने गरेको थिएन । चालु वर्षमा युवा लक्षित कार्यक्रम बनाएरै बेरोजगारी समस्यालाई सम्बोधन गर्न खोजिएको छ । रोजगारमुखी वातावरण नहुनु, लगानीका सम्भावित क्षेत्र पहिचान नहुनु, राज्यसँग स्रोतको अभाव हुनु, सार्वजनिक निजी साझेदारी प्रभावकारी नहुनु, युवामा पनि उद्यमशीलताको सोच विकास नभइ जागिरे मानसिकता हाबी हुनाले ठूलो संख्यामा युवा विदेशिने गरेका थिए । रोजगारी र अध्ययनका लागि भनेर विदेश जाने युवाहरूको तथ्यांक डरलाग्दो छ । अर्कातिर, उत्पादनका क्षेत्रहरूमा मानवीय श्रमको अभाव छ । उर्वरा खेतीयोग्य भूमि बाँझो पल्टिएको छ । निर्माण कार्यमा आवश्यक पर्ने श्रमशक्ति न्यून हुँदै गएको छ । आर्थिक–सामाजिक रूपान्तरणको विराट उद्देश्यका निम्ति विकासका स्रोतहरूको परिचालन गर्ने योजना तर्जुमा गरियो भने पनि जनशक्तिको अभावमा केही गर्न नसकिने अवस्था बन्दै गएको विज्ञको भनाइ छ ।

राष्ट्रिय जनगणना–२०७८ अनुसार कर्णाली प्रदेशको कुल जनसंख्या १६ लाख ८८ हजार चार सय १२ रहेको छ । तीमध्ये आठ लाख २३ हजार सात सय ६१ पुरुष र आठ लाख ६४ हजार ६ सय ५१ महिलाको संख्या रहेको छ । यहाँ पुरुषको तुलनामा महिलाको जनसंख्या बढी देखिन्छ । लैङ्गिक अनुपातमा प्रति एक सय जना महिलामा पुरुषको संख्या ९५ दशमलव २७ प्रतिशत रहेको छ । २०६८ को जनगणनामा लैङ्गिक अनुपात ९५ दशमलव ६९ थियो । यस पटक गरिएको जनगणनामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक (अन्य लिङ्गी) लाई पनि समेटिएको छ । देशभरमा दुई हजार नौ सय २८ संख्या रहेकोमा कर्णालीमा दुई दशमलव आठ प्रतिशत रहेको छ । कर्णालीमा १० वर्ष वा सोभन्दा बढी उमेरका छ लाख ६८ हजार सात सय १५ जनामध्ये आर्थिक रूपमा सक्रिय अक्सर रोजगारको संख्या ६ लाख १८ हजार चार सय ८७ रहेको छ भने ५० हजार दुई सय २८ जना बेरोजगार रहेको तथ्यांकले देखाएको छ । यीमध्ये विद्यार्थी भएकाले आर्थिक रूपमा काम नगर्नुको प्रमुख कारण देखाइएको छ । साथै वृद्ध अवस्था, पारिवारिक हेरचाह, अशक्त बिरामी, पेन्सन, सामाजिक कार्यलगायतका कारण रहेका छन् । कर्णाली प्रदेश सरकारले युवा दक्ष जनशक्ति स्वदेशमै रोक्ने उद्देश्यले युवा लक्षित कार्यक्रम कार्यान्वयन गर्न लागेको जनाएको छ ।

प्रकाशित मितिः   १९ श्रावण २०८२, सोमबार १२:३५