श्रीमानबाटै असुरक्षित महिला

सुर्खेत: आइतवार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलामा बस्दै आएका दानसिंह ठाडाले श्रीमतीको हत्या गरे । ४२ वर्षीय ठाडाले चिर्पटले हानेर ४१ वर्षीय रविना थापाको हत्या गरेका हुन् । हत्या लगत्तै आफैले प्रहरीलाई खबर गरेका उनलाई पक्राउ गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
यस्तै गत असार १७ गते रूकुमपश्चिमको चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले पनि आफ्नी ३० वर्षीया श्रीमती देविकाको हत्या गरेका थिए । घरेलु विवादकै कारण देविका बुढाथोकीको श्रीमानबाट हत्या भएको हो । खुकुरी प्रहार गरी श्रीमतिको हत्या गरेका चन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसअघि गत वैशाखमा सुर्खेतकै छिञ्चुमा श्रीमानबाटै प्रेमा ओलीको हत्या भयो । भेरीगंगा नगरपालिका–१२ को डम्पिङ साइट नजिक खोल्सामा डुबेको अवस्थामा ओलीको शव भेटिएको थियो । प्रेमाको हत्या उनका श्रीमान जक्सन खत्रीले गरेका हुन् । श्रीमानले पठाएको सामान लिन भन्दै गुर्भाकोटबाट छिञ्चु पुगेकी प्रेमाको शव फेला परेको थियो ।
पछिल्लो चार महिना नबित्दै कर्णालीका तीन जना महिलाले आफ्नै श्रीमानबाट ज्यान गुमाए । पारिवारिक विवाद वा झैझगडा घरेलु हिंसा हुँदै हत्याजस्ता जघन्य अपराधसम्म पुग्ने गरेका प्रतिनिधि घटना हुन्, यी । विगतदेखि नै कर्णाली प्रदेशमा महिलामाथि हुने हिंसाका घटना उल्लेख्य छन् । हिंसाका घटना बढ्दै जाँदा हत्यासमेत हुने गरेका छन्, जसको सिकार महिलाहरू भइरहेका छन् । श्रीमानबाट समेत ज्यान गुमाइरहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला तीन वर्षमा २४ जना महिलाले आफ्नै श्रीमानको हातबाट ज्यान गुमाएका छन् ।
महिलाहरू घरभित्रका अर्थात् पुरुषले गरेका साधारण कुटपिट, अत्याचार र गालीगलौजलाई दैनिक रूपमा लिने गरेको र प्रतिकार गर्दा मृत्युको सिकार भइरहेको महिला अधिकारकर्मी पवित्रा शाही बताउँछिन् । यसले घरभित्रै महिलाहरू असुरक्षित देखिएको उनको भनाइ छ ।
कर्णाली प्रदेशमा बर्सेनि महिला हिंसाका घटना बढिरहेको देखिन्छ । कर्णाली प्रदेश प्रहरी प्रमुख माधवप्रसाद श्रेष्ठ प्रदेशमा लैङ्गिक तथा घरेलु हिंसाको ग्राफ बढ्दो क्रममा रहेको बताए । विगत चार वर्षको तथ्यांक विश्लेषण गर्दा लैङ्गिक तथा घरेलु हिंसाका घटनाको ग्राफ निरन्तर बढेको पाइएको उनले जनाए । प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा आठ सय ७५ वटा घरेलु हिंसाका घटना दर्ता भएका थिए । आर्थिक वर्ष २०७८/०७९ मा त्यो संख्या बढेर आठ सय ८३ पुग्यो । आर्थिक वर्ष २०७९/०८० मा आठ सय ५८ घटना दर्ता भएका थिए भने आर्थिक वर्ष २०८०÷०८१ मा आठ सय ८० र गत आर्थिक वर्ष २०८१÷०८२ मा आठ सय ७६ वटा घरेलु हिंसाका घटना प्रहरीमा दर्ता भएका छन् । चालु आर्थिक वर्षको दुई सातामै १९ वटा घरेलु हिंसाका घटना दर्ता भएको जनाइएको छ ।
हिंसाको विरोधमा प्रदर्शन
कर्णाली प्रदेशसहित देशभरि बढ्दै गइरहेका महिला हिंसा र विभत्स हत्याका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सुर्खेतका मानव अधिकार तथा महिला अधिकारकर्मीहरूले संयुक्त रूपमा विरोध ¥याली गरेका छन् । उनीहरूले मंगलवार वीरेन्द्रनगरमा बृहत् विरोध ¥याली गर्दै स्थानीय सरकार, प्रदेश सरकार र प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षणमा हालका समयमा भएका घटनाहरूलाई उदाहरणस्वरूप प्रस्तुत गर्दै दोषीमाथि कडा कारबाही, पीडित परिवारको संरक्षण र महिला सुरक्षाका लागि दीर्घकालीन नीति निर्माण गर्नुपर्ने जनाइएको छ । नेपालको संविधान, कानुन र नीति नियमहरूले महिलाको हक अधिकार सुनिश्चित गरे पनि व्यावहारिक रूपमा महिलाहरू असुरक्षित भएको र महिला भएकै कारण हत्या, हिंसा र दुव्र्यवहारको सिकार हुनुपरेकोप्रति सरकारलाई सचेत गराइएको छ ।
हत्याका घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही हुनुपर्ने, पीडितका आश्रित परिवारलाई मनोसामाजिक सहायता र संरक्षण, महिला उद्धार, पुनःस्थापना र क्षमता विकासका कार्यक्रम, मानसिक समस्याबाट पीडित महिलाको उपचार र निगरानी प्रणाली, दीर्घकालीन रणनीति निर्माण तथा कानुनको प्रभावकारी कार्यान्वयनलगायतका मागहरू अधिकारकर्मीले राखेका छन् ।
बाल विवाहविरुद्ध साझा अभियान सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, मानव अधिकार रक्षक सञ्जाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नवज्योति केन्द्र, आवाज, दलित महिला संघ, नेपाल अपाङ्ग महिला संघ, बालिका दुलही होइनन्, सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम), मानव अधिकार एलाइन्स, सुन्दर नेपाल, मानव अधिकारका लागि एकल महिला समूह, शिक्षाका लागि राष्ट्रिय सञ्जाल लगायत २२ संस्थाहरूले मागहरूप्रीत ऐक्यवद्धता जनाएका छन् । संयुक्त ध्यानाकर्षण पत्रमार्फत् महिला सुरक्षालाई संवैधानिक अधिकार अनुरूप व्यवहारमा उतार्न र महिलाले ढुक्कसाथ बाँच्न सक्ने वातावरण सिर्जनाको माग गरिएको छ ।
प्रकाशित मितिः १४ श्रावण २०८२, बुधबार १४:५३
साझा बिसौनी ।