कर्णालीमा डेंगुको जाखिम बढ्दै
सुर्खेत: पछिल्लो समय डेंगुका बिरामी बढ्दै गएका छन् । हरेक दिन डेंगु संक्रमित भेटिन थालेका छन् । संक्रमितको संख्या बढेसँगै जोखिम पनि बढ्दै गएको छ ।
ज्वरोसहित डेंगुका लक्षण देखिएका अधिकांश बिरामीलाई गरिएको परीक्षणमा संक्रमण पुष्टि हुने गरेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । बर्सेनि रूपमा डेंगुका बिरामी बढ्दै गएको पाइएको डेंगु फोकल पर्सन उदय विसीले बताए । पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांकले पनि डेंगु संक्रमण बढ्दै गएको देखाएको छ । कर्णाली प्रदेशभर आर्थिक वर्ष २०७७/०७८ मा ६ सय ३९ जना डेंगुका बिरामी भेटिएका थिए । आर्थिक वर्ष २०७८/०७९ मा एक हजार तीन सय २२ जना, आर्थिक वर्ष २०७९/०८० एक हजार चार सय ८४ जना, आर्थिक वर्ष २०८०/०८१ मा पाँच सय ७१ जना र आर्थिक वर्ष २०८१/०८२ मा एक हजार आठ सय ३७ डेंगुका बिरामी भेटिएका थिए ।
डेंगुसँगसँगै कर्णालीमा बर्सेनि औलोको जोखिम पनि बढिरहेको छ । यहाँका हिमाली जिल्ला पनि औलोको जोखिममा छन् । विगतमा औलोको समस्या नरहेको यहाँको हिमाली जिल्ला हुम्ला पनि अहिले औलोको उच्च जोखिममा परेको छ ।
यसैबीच सरकारले डेंगु संक्रमण नियन्त्रण गर्न राष्ट्रिय सचेतना अभियान सुरु गरेको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले आइतवार पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी गराएको हो । कार्यालयका डेंगु फोकल पर्सन उदय विसीका अनुसार साउन महिनादेखि डेंगु संक्रमणको जोखिम बढ्ने भएकाले सचेतना अभियान सुरु गरिएको छ । उनले लामखुट्टे र लार्भा उत्पादन हुने आधारलाई नष्ट गर्न अबको चार महिना सबै नागरिकका साथै निकायहरू सजक बनाउनका लागिएको बताए । डेंगु सचेतना राष्ट्रिय अभियान कार्यान्वयनको विषय सरकारसँगै मिडियाको पनि भएकाले सबै एक भएर डेंगु नियन्त्रणमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए । डेंगु संक्रमण भदौदेखि कार्तिकसम्म उच्च रहने भन्दै विसीले ठाउँ–ठाउँमा सचेतनाका कार्यक्रममा जोड दिएको जानकारी दिए । सन् २०२४ मा विश्वभर एक करोड ४० लाखभन्दा बढी व्यक्तिहरूमा डेंगु संक्रमण भएको र ११ हजारभन्दा बढीको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
डेंगुसँगसँगै कर्णालीमा बर्सेनि औलोको जोखिम पनि बढिरहेको छ । यहाँका हिमाली जिल्ला पनि औलोको जोखिममा छन् । विगतमा औलोको समस्या नरहेको यहाँको हिमाली जिल्ला हुम्ला पनि अहिले औलोको उच्च जोखिममा परेको छ । यातायात सेवासँग जोडिँदा लामखुट्टेको पहुँच विस्तारसँगै बढ्दो तापक्रमका कारण कर्णालीको हिमाली जिल्ला हुम्ला पनि औलोको उच्च जोखिममा परेको हो । कर्णाली प्रदेशका १० जिल्लामध्ये हुम्ला औलो रोगको उच्च जोखिममा रहेको प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले जनाएको छ ।
निर्देशनालयका अनुसार हुम्लासँगै कालीकोट, दैलेख र सुर्खेत औलोको उच्च जोखिममा छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर श्यामलाल आचार्यले कर्णालीका हिमाली जिल्लामा पनि औलोको जोखिम बढिरहेको बताए । पछिल्लो समय हिमाली जिल्लासमेत औलोको उच्च जोखिममा रहेको उनको भनाइ छ । गत आर्थिक वर्ष २०८१/०८२ मा कर्णाली प्रदेशभरिमा ३८ जना औलोका बिरामी पहिचान भएका छन् ।
निर्देशनालयका अनुसार गत आवमा कर्णाली प्रदेशका सुर्खेतमा २९ जना, दैलेखमा चार जना, कालीकोटमा तीन जना र हुम्लामा दुई जना औलोका बिरामी फेला परेका हुन् । जसमध्ये ३७ जना आयातित औलोका बिरामी भेटिएका छन् । एक जना स्थानीय नागरिकमा पनि औलोको संक्रमण देखिएको छ । हुम्लाको ताँजाकोट गाउँपालिका, दैलेखको आठबिस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, दुल्लू नगरपालिका, ठाटीकाँध गाउँपालिका, कालीकोटको खाँडाचक्र नगरपालिका, सुर्खेतका बराहताल गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका, चौकुने गाउँपालिका, गुर्भाकोट नगरपालिका, लेकबेसी नगरपालिका, पञ्चपुरी नगरपालिका र सिम्ता गाउँपालिकामा औलोका बिरामी फेला गरेका छन् ।
यस्तै यहाँका ७९ स्थानीय तहका सात सय १८ वडामध्ये तीन वटा वडा औलोरोगको उच्च जोखिममा छन् । सात वटा वडामा मध्यम जोखिम रहेको, चार सय १० वटा वडामा निम्न जोखिम रहेको र दुई सय ९८ वडामा जोखिम नरहेको निर्देशनालयले जनाएको छ । उच्च जोखिममा रहेका वडामध्ये हुम्लाको ताजाकोट गाउँपालिका–२, ३ र ४ हुन् । न्यून जोखिममा वीरेन्द्रनगर नगरपालिका–२, गुर्भाकोट नगरपालिका–८, मुगुको खत्याड गाउँपालिका–८, सोरु गाउँपालिका–४ र ५, हुम्ला जिल्लाको अदानचुली गाउँपालिका–३ र ताँजाकोट गाउँपालिका–५ छन् ।
प्रकाशित मितिः ५ श्रावण २०८२, सोमबार ०५:०५

साझा बिसौनी ।