विपद् प्रतिकार्य योजना निर्माणमा ढिलाइ

सुर्खेत: कर्णाली प्रदेश सरकारले विपद् प्रतिकार्य योजना निर्माणमा ढिलाइ गरेको छ । असार लाग्दै गर्दा कर्णालीवासीलाई बर्खाको पिरलो बढ्दै गएको छ । पहिरोको उच्च जोखिममा रहेको कर्णालीको करिब ५७ प्रतिशत भिरालो जमिन छ । प्रदेश सरकारले भने अहिलेसम्म पनि विपद् प्रतिकार्य योजना निर्माण गरेको छैन ।

असावधानीका कारण बर्सेनि कर्णालीमा विपद्बाट ठूलो जनधनको क्षति हुने गरेको छ । अहिलेसम्म प्रदेश सरकार विपद्को तयारीमा बेखबर बनेको छ । बर्खा लाग्नुअघि नै बाढी आउने कर्णालीमा पूर्वतयारीका काम न्यून मात्र हुने गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भने विपद् तयारी प्रतिकार्य योजना निर्माण गरिरहेको जनाएको छ । प्रतिकार्य योजना निर्माणको काम अन्तिम चरणमा पुगेको मन्त्रालयका विपद् व्यवस्थापन शाखाका विनोदकुमार बानियाँले बताए । उनका अनुसार प्रतिकार्य योजना अन्तिम चरणमा पुगेको र प्रदेश विपद् व्यवस्थापन परिषद्बाट स्वीकृत भएसँगै कार्यान्वयनमा जानेछ ।

कमजोर भू–बनोट अनि, भौगोलिक विकटताका कारण कर्णाली विपद्को उच्च जोखिममा छ । वर्षामा बाढी र पहिरोबाट ठूलो क्षति हुनेगरेको छ । तर विपद् प्रतिकार्यमा न सरकारले समयमै ध्यान दिन्छ, न त पीडितले नै समयमै राहत पाउँछन् । बाढी र पहिरो पीडितहरू अझै त्रिपालमुनि छन् । तर, राज्य बेखबर जस्तै छ । जब, कर्णालीमा विपद् आइपर्छ, राज्यका निकायहरू केही बोरा चामल बोकेर आउँछन् । त्यति मात्र होइन, त्यही राहतमा पनि राजनीतीकरण हुन्छ । तर, विपद्बाट कर्णालीलाई जोगाउन नीतिगत तथा अन्य पूर्वतयारीका काम भने कहीँकतैबाट भएको पाइएको छैन ।

२०७१ सालको साउनमा बाढीपीडित बनेकाहरूको अझै व्यवस्थापन भएको छैन । त्यति बेलाको बाढी र पहिरोमा परेका सुर्खेतका नागरिकहरूको अहिले पनि सामुदायिक वनमा छाप्रो बनाएर बसेका छन् । त्यति बेलाका विस्थापितको पूर्णरूपमा व्यवस्थापन भने अझै भइसकेको छैन । उनीहरू अहिले पनि विभिन्न स्थानका अस्थायी शिविरमै छन् । बराहताल गाउँपालिका–२ का एक सय २५ घरधुरी गिरीघाटस्थित सामुदायिक वन क्षेत्रमा बसिरहेका छन् । विस्थापित भएकै एक दशक पुगि सक्दासम्म उनीहरूको पुनस्र्थापना हुन सकेको छैन । बाढी प्रभावित परिवारको बसाइ मात्र असुरक्षित छैन, बिहान बेलुकाको गास जुटाउन पनि उस्तै मुश्किल छ । स्वास्थ्य, शिक्षा, खानेपानी, बिजुलीजस्ता सुविधाबाट उनीहरू वञ्चित छन् । तीन तहका सरकारबीच तालमेल नमिल्दा विपद् व्यवस्थापनमा समस्या छ । जिल्ला तहमा संघ र प्रदेशका संरचनाहरू छुट्टाछुट्टै छन् ।

विपद्का घटनामा वृद्धि

यो वर्ष कर्णालीमा सात सय ३३ वटा विपद्का घटना भएका छन् । प्रदेशभर विपद्का घटनामा ३० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । एक सय ६२ जना घाइते भएका छन् । यसैगरी प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक हेर्दा पछिल्ला चार आर्थिक वर्षमा विपद्का घटनाबाट चार सय १९ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा चार हजार पाँच सय ७९ विपद्का घटना भएका थिए ।

आर्थिक वर्ष २०७७/०७८ मा चार सय १६ विपद्का घटना भएकोमा ८५ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा एक हजार दुई सय १६ विपद्का घटना भए । उक्त वर्षमा ६८ जनाले ज्यान गुमाए । यसैगरी आर्थिक वर्ष २०७९/०८० मा दुई हजार दुई सय १४ विपद्का घटना भएका थिए । जसमा ७२ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा सात सय ३३ विपद्का घटना भएकोमा एक सय ९४ जनाको मृत्यु भएको छ । पछिल्लो समय विपद्का घटना कम भएपनि मानवीय क्षति बढी हुने गरेको छ । उक्त आर्थिक वर्षलाई कर्णालीमा विपद्को वर्षका रूपमा हेरिएको छ । विपद्का घटनामा पनि पहिरोको क्षति धेरै छ । आर्थिक वर्ष २०७७/०७८ मा पहिरोमा परेर ५१ जनाको मृत्यु भयो । यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा १७ तथा आर्थिक वर्ष २०७९/०८० मा ४० जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा ६ जनाको पहिरोमा परी ज्यान गएको छ ।

प्रकाशित मितिः   ५ असार २०८२, बिहीबार १०:३०