सुर्खेत–बर्दिया जोड्ने सडक स्तरोन्नति हुँदै

सुर्खेत: सुर्खेतलाई बर्दियासँग जोड्ने मुलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडक स्तरोन्नति गरिने भएको छ । तत्कालका लागि पहिलो खण्डअन्तर्गत सात किलोमिटर सडक स्तरोन्नति गर्न लागिएको हो । आइतवार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले स्तरोन्नतिको काम शिलान्यास गरेका छन् ।
मुख्यमन्त्री कँडेलले पहिलो खण्ड स्तरोन्नतिको शिलान्यास भएसँगै दोस्रोखण्डको जग्गा भोगाधिकार, रुख कटान तथा रानीघाटको पुल निर्माणमा दबाब पुग्ने बताए । नागरिकले सदियौँदेखि प्रयोग गर्दै आएको तेलपानी–भुरीगाउँ सडकलाई पूर्णता दिन सके कर्णालीको समृद्धिमा नयाँपन थपिने उल्लेख गर्दै उनले यो मार्गलाई पूर्णता दिएरै छाड्ने बताए । तेलपानी–भुरीगाउँ सडक सिँगो कर्णालीले हाट जाँदा प्रयोग गर्ने बाटो भएको बताउँदै उनले यसलाई पूर्णता दिन सकिएको खण्डमा बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकलाई छिनभरमै कर्णालीमा ल्याउन सकिने बताए । यसले यहाँको समृद्धिमा ठूलो टेवा पुग्ने उनको भनाइ थियो ।
यो सडकलाई पूर्णता दिएर चितवनको देवघाटपछि सुर्खेतको रानीघाटलाई धार्मिक क्षेत्रका रूपमा विकास गर्नेगरी प्रदेश सरकार अघि बढेको कँडेलले बताए । तोकिएकै समयमा निर्माणको काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै मुख्यमन्त्री कँडेलले आयोजनालाई पूर्णता दिन स्थानीयस्तरमा अनावश्यक विवाद सिर्जना गर्न नहुने बताए । दोस्रोखण्ड रानीघाट–तेलपानी–भुरीगाउँखण्डमा जग्गा भोगाधिकार, रुख कटान र रानीघाटस्थित भेरी नदीमा पुल बनाउने विषयमा प्रदेश सरकार लागि परेको उनले बताए ।
पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निर्देशक सूर्यबहादुर शाहीले तोकिएकै समयमा काम सम्पन्न गर्न स्थानीयको साथ अनिवार्य रहेको भन्दै वडा र पालिकाको पनि महŒवपूर्ण सहयोग र समन्य हुनुपर्ने बताए ।
यो सडक बनाउन पूर्वाधार निर्देशनालय सुर्खेतले पहिलो खण्डको स्तरोन्नतिसहित कालोपत्रे गर्न ठेक्का प्रक्रिया अगाडि बढाएको थियो । निर्देशनालयले ३२ करोड रूपैयाँ स्रोत सुनिश्चित गरी पहिलोखण्डको स्तरोन्नतिको कामका लागि ठेक्का आह्वान गरेको थियो । कुल दश किलोमिटर सडकमध्ये सात किलोमिटर सडकको स्तरोन्नतिसँगै कालोपत्रे गर्न बहुवर्षीय ठेक्काअन्तर्गत निर्माणको काम थालनी भएको हो । आगामी ३० पुस २०८३ मा सम्पन्न गर्ने कार्यदेशसहित १८ करोड ५२ लाख २३ हजार आठ सय ५१ रूपैयाँ (भ्याटसहित) लागतमा पूर्वाधार निर्देशनालय र निर्माण व्यवसायी बसना निर्माण सेवा स्युना कालीकोटबीच सम्झौता भइ काम अघि बढेको हो । मुलपानी–रानीघाट सडकको दूरी दश किलोमिटरमध्ये मुलपानीदेखि फलाटेसम्मको तीन किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ ।
आर्थिक वर्ष २०७६/०७७ यता कर्णाली प्रदेश सरकारले यो सडकलाई प्राथमिकतामा राख्दै आएको छ । तर, प्रगति भने निराशाजनक छ । आर्थिक वर्ष २०७६/०७७ मा दुई खण्डमा विभाजन गरेर सडक निर्माणको ठेक्का भएको थियो । पहिलो खण्डअन्तर्गत वीरेन्द्रनगर उपत्यकाको मुलपानीबाट रानीघाटसम्म दश किलोमिटर सडक स्तरोन्नतिका लागि ९ पुस २०७६ मा पूर्वाधार निर्देशनालय र श्याम एन्ड शंकर कन्स्ट्रक्सनबीच १० करोड २६ लाख ६१ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको थियो । ८ फागुन २०७८ सम्म निर्माण सम्पन्न गर्नुपर्ने समयावधि तोकिएको भएपनि सडकले अझै पूर्णता पाउन सकेको छैन ।
यही खण्डमध्येको केही उपखण्ड स्तरोन्नति गर्न २०७९ माघमा अर्को निर्माण कम्पनीसँग दुई करोड ७५ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको थियो । १३ मंसिर २०८० सम्ममा काम सम्पन्न गर्नेगरी सम्झौता भएको भएपनि हालसम्म सात सय मिटर मात्र कालोपत्रे भएको छ । प्रदेश सरकारले उक्त खण्डको निर्माणको काम अघि बढाएसँगै रानीघाटमा पुल निर्माणका साथै रानीघाट–तेलपानीखण्डको सडक निर्माणमा आएको अवरोधलाई समाधान गर्न सरोकारवाला निकायलाई दबाब पुग्ने अपेक्षा गरिएको छ ।
कर्णाली प्रदेश सरकारले अन्तर प्रदेश सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर अन्तर प्रदेश सडक निर्माणलाई निरन्तरता दिएको हो । प्रदेशमा चार स्थानमा अन्तर प्रदेश सडक निर्माणका काम भइरहेका छन् । उक्त सडक निर्माणको कामलाई निरन्तरता दिन प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । अन्तर प्रदेश जोड्ने सडकलाई प्राथमिकतामा राखी निर्माण कार्य अघि बढाइने प्रदेश सरकारले जनाएको छ । उक्त सडकअन्तर्गत मुलपानी–रानीघाट, तेलपानी भुरीगाउँ सडक, कालीकोट, लालु, लैफू–कोटबाडा, रास्कोट, रामारोशन सडक, रारा, सेरी सुकाढीक, धुराचौर बाजुरा सडक, सल्यान खलङ्गा, कालिमाटी, घुइयावारी काप्रेचौर, खर्कवार कोहलपुर सडक स्तरोन्नतिको काम गरिनेछ । उक्त सडक निर्माणका लागि चालु आर्थिक वर्षमा ३९ करोड विनियोजन गरिएको छ ।
प्रकाशित मितिः १२ जेष्ठ २०८२, सोमबार ०५:०५
साझा बिसौनी ।