रसिदमै फोटो र क्यूआर कोड

सुर्खेत: सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास भएपछि रसिदमै फोटो र क्यूआर कोड दिन सुरु गरिएको छ । प्रदेशस्तरमा सञ्चालन भइरहेका सवारी चालक अनुमतिपत्रको लागि दिइएको ट्रायल पास हुनेहरूले पाउने रसिदमा फोटो र क्यूआर कोड दिन थालिएको हो ।
यातायात व्यवस्था विभागले वितरण गर्दै आएको सवारी लाइसेन्सको स्मार्ट कार्ड इमरजेन्सीबाहेक नछाप्ने निर्णय गरेपछि तत्कालका लागि प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका यातायात कार्यालयहरूले ट्रायल पास हुने व्यक्तिले पाउने रसिदमा सम्बन्धित व्यक्तिको फोटो र क्यूआर कोड राख्न सुरु गरिएको हो । कर्णाली प्रदेशका तीन ठाउँबाट सवारी लाइसेन्सको ट्रायल पास भएपछि रसिदमै फोटो र क्यूआर कोड वितरण गरिने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । अहिले जुम्ला र रुकुमपश्चिमले मात्र क्यूआर कोड दिन सुरु गरेको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताए । उनका अनुसार यातायात व्यवस्था कार्यालय सुर्खेत, यातायात व्यवस्था सेवा कार्यालय जुम्ला र रुकुमपश्चिमबाट लाइसेन्स वितरण हुँदै आएको छ ।
अहिले यातायात व्यवस्था सेवा कार्यालय जुम्ला र रुकुमपश्चिमले फोटो र क्यूआर कोड वितरण गरिरहेको सुवेदीले जानकारी दिए । यस्तो व्यवस्थाले नक्कली परीक्षार्थी रोकिने छन् । वैशाख २४ गतेबाट फोटोसहित ‘क्यूआर कोड’ वितरण सुरु गरिएको यातायात व्यावस्था सेवा कार्यालय जुम्लाले जनाएको छ । झट्ट हेर्दा हुबहु स्मार्ट लाइसेन्सजस्तै देखिने क्यूआर कोड कार्ड वितरण सुरु गरिएको कार्यालय प्रमुख लोकबहादुर महतले बताए । हेर्दा स्मार्ट लाइसेन्सजस्तो देखिएपनि सक्कल लाइसेन्स नभएको र ट्रायल पास गरिसकेकालाई एक वर्षका लागि दिइने परीक्षण पेपरलाई अहिले क्यूआर कोड कार्डका रूपमा छापेर दिन सुरु गरिएको उनले बताए । उनले भने, ‘कार्यालयले विगतमा ट्रायल पास गरेकालाई पेपरमा प्रिन्ट गरेको एक वर्षका लागि परीक्षण लाइसेन्स दिइन्थ्यो तर पेपर हराउने, लुगाँ धुदा धोइने जस्ता गुनासो बढ्यो, मन्त्रालयले यातायातका सबै सेवाहरू पेपरलेस बनाउनु पर्ने निर्देशन दिएपछि हामीले स्मार्ट कार्डजस्तै देखिने क्यूआर कोर्ड भएको कार्ड छापेर दिन सुरु गरेका छौँ ।’ एक वर्षका लागि क्यूआर कोेड उपलब्ध गराइनेछ । ट्राफिक प्रहरीले चेक गर्दा क्यूआर कोड स्क्यान गरेपछि सबै विवरण देखिने महतको भनाइ छ भने पेपर जस्तो गोजीमा राख्नु पर्ने, पट्याउनु पर्ने, हराउने, भिज्नेजस्ता कुनै पनि जोखिम र झन्झटको समेत अन्त्य हुनेछ ।
यस्तै यातायात व्यवस्था सेवा कार्यालय रुकुमपश्चिमले पनि आइतवारदेखि सवारी लाइसेन्सको ट्रायल पास भएपछि रसिदमै फोटो र क्यूआर कोड वितरण सुरु गरेको छ । रसिदमै फोटो र क्यूआर कोड राख्दा ट्राफिक प्रहरीलाई पनि लाइसेन्स जाँच सहज र भरपर्दो हुने कार्यालय प्रमुख मोहनकुमार केसीले बताए । व्यवस्थित गरेर रसिदमै फोटो र क्यूआर कोड वितरण सुरु गरिएको उनको भनाइ छ । केसीले भने, ‘मेसिनमा केही समस्या देखिएको छ, आइतवार केही फोटो सादाजस्तो आयो, मेसिनमा देखिएको समस्यालाई सुधार गरेर विवरण गर्छौं ।’
यातायात व्यवस्था कार्यालय सुर्खेतले भने अहिले नयाँ लाइसेन्स वितरण गरेको छैन । विगत ६ महिनादेखि कार्यालयबाट नयाँ लाइसेन्स वितरणको काम नभएको कार्यालय प्रमुख मुकुन्द्रनाथ योगीले बताए । उनका अनुसार यातायात व्यवस्था कार्यालय सुर्खेतको भवन निर्माणको काम भइरहेको छ । भवन निर्माण सम्पन्न भएपछि मात्र नयाँ लाइसन्स वितरण गरिने योगीले जानकारी दिए । सवारी लाइसेन्सको ट्रायल पास भएपछि रसिदमै फोटो र क्यूआर कोड वितरणका लागि कार्यालयलाई पत्र भने प्राप्त भएको उनले जानकारी दिए ।
नक्कली परीक्षार्थी र लाइसेन्स रोकिने
ट्रायल दिनु अगावै शुल्क तिर्ने बेलामै रसिदमा क्यूआर कोड राख्ने र फोटो टास्ने व्यवस्था गर्न लागिएको छ । यसबाट लाइसेन्सका लागि नक्कली परीक्षार्थीले ट्रायल दिने प्रवृत्ति रोकिनेछ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार अरुको रसिद बोकेर आफ्नै हो भन्दै सवारीसाधान चलाउने घटनालाई पनि यसले रोक्नेछ । अहिले दिइरहेको रसिदमा फोटो वा व्यक्ति पहिचानका लागि नामबाहेक अन्य विवरण नहुने भएकाले ट्राफिक प्रहरी झुक्याउने गरिएको मन्त्रालयका सचिव इश्वरचन्द्र मरहट्टाले बताए ।
अबको रसिदमा फोटो र क्यूआर कोड राखेपछि ट्राफिक प्रहरीसँग मोबाइलमा भएको सफ्टवेयर स्क्यान गरेर नक्कली र सक्कली पत्ता लगाउन सकिने उनको भनाइ रहेको छ । यो व्यवस्थाले कसैले बोकेको लाइसेन्सनै नक्कली हो कि सक्कली भन्ने स्क्यान गरेर पत्ता लाग्नेछ । मरहट्टाले भने, ‘लिखित र ट्रायलमा खेताला लगाउने प्रवृत्तिको अन्त्य हुनेछ, सेवाग्राहीलाई समेत सहज हुनेछ ।’
प्रकाशित मितिः २९ बैशाख २०८२, सोमबार १७:३९
साझा बिसौनी ।