काँक्रेविहारको पर्खाल निर्माण कार्य धमाधम

सुर्खेत: काँक्रेविहार पर्खाल निर्माण कार्य अघि बढेको छ । अहिलेसम्म पर्खाल निर्माणको १५ प्रतिशत काम सकिएको छ । प्रदेश सरकारले काँक्रेविहार कम्पाउन्डिङ (पर्खाल) आयोजनालाई प्राथमिकतामा राखेको छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर आयोजनालाई अगाडि बढाउन लागिएको हो । प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य स्थलका रूपमा रहेको काँक्रेविहारको पर्खाल निर्माणलाई पनि प्राथमिकताकासाथ अघि बढाइएको जनाइएको छ । चालु आर्थिक वर्षमा उक्त आयोजनाको निरन्तरताको लागि पाँच करोड बजेट विनियोजन गरिएको छ । अहिले पर्खाल निर्माणको काम धमाधम भइरहेको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ ।

डिभिजनल वन अधिकृत बसन्तबाबु श्रेष्ठले म्याद थपेर पर्खाल निर्माणको काम अघि बढाइएको जानकारी दिए । गत आर्थिक वर्षबाट पर्खाल निर्माणको काम पुनः थालिएको थियो । २०७८ असोज १९ गते उच्च अदालत सुर्खेतले अन्तरिम आदेश जारी गर्दै पर्खाल निर्माणको काम अघि नबढाउन भनेको थियो । डिभिजन वन कार्यालय सुर्खेतले काँक्रेविहार वन क्षेत्रको साँध सीमामा पर्खाल नलगाई ५÷७ मिटर जग्गा बाहिर छोडेर पर्खाल निर्माण गरेको आरोप लगाउँदै अधिवक्ता शेरबहादुर खत्रीले रिट निवेदन दायर गरेका थिए । त्यसयता पर्खाल निर्माणको काम अघि बढ्न सकेको थिएन । वन क्षेत्रलाई समेटेर काम अघि बढाउन उच्च अदालत सुर्खेतले आदेश दिएसँगै गतवर्षबाट काम अघि बढाइएको हो । २०७९ मंसिर २८ गते संरक्षित क्षेत्रको सबै वनक्षेत्र समेटेर पर्खाल निर्माण गर्न उच्च अदालत सुर्खेतले फैसला गरेको थियो ।

अहिले म्याद थप गरेर निर्माणको काम अघि बढाइएको छ । २०७९ कार्तिक १२ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । तर बीचमै अदालतले काम रोकेपछि निर्माणको काम अघि बढेको थिएन । अहिले म्याद थप गरेर निर्माणको काम अघि बढाइएको छ । आर्थिक वर्ष २०८०÷०८१ देखि २०८१÷०८२ सम्म एक वर्षका लागि म्याद थपिएको हो ।

नयाँ म्यादअनुसार आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । हालसम्म १५ प्रतिशत मात्र काम भएको छ । अझै ८५ प्रतिशत काम बाँकी छ । हालसम्म निर्माण कम्पनीले एक करोड ८७ लाख मात्र भुक्तानी लिएको छ ।

२०७८ वैशाख १२ गते ऐतिहासिक काँक्रेविहार संरक्षित वन क्षेत्रको सुरक्षार्थ ‘कम्पाउण्ड वाल’ (पर्खाल) निर्माण कार्य अघि बढाइएको थियो । डिभिजन वन कार्यालय सुर्खेतले महाविर, खिन्ती, हिराचन्द केएसके जोइन एडभेन्जर सुर्खेतसँग कामको ठेक्का सम्झौता गरेको थियो । ११ करोड ८५ लाख ४२ हजारमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको हो । काँक्रेविहार संरक्षित वन क्षेत्रको सात किलोमिर क्षेत्रमा ‘कम्पाउण्ड वाल’ निर्माण गरिनेछ ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार पर्खाल निर्माण (कम्पाउन्डिङ) का लागि २१ करोड लागत अनुमान छ । गत आर्थिक वर्षमा प्रदेश सरकारले एक करोड बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा पाँच करोड बजेट विनियोजन गरिएको छ । काँक्रेविहार क्षेत्रमा पयर्टकीय दृष्टिकोणलाई समेत मध्यनजर गर्दै अवलोकनका लागि आकर्षक डिजाइन देखिने गरी पर्खाल निर्माण गर्न लागिएको जनाइएको छ । वन अधिकृत श्रेष्ठका अनुसार काँक्रेविहार संरक्षण क्षेत्रको पश्चिम भागमा प्रमुख गेट बन्नेछ भने पूर्वमा आपतकालीन द्वार (इमर्जेन्सी एक्जिट) बन्ने भएको छ ।

वीरेन्द्रनगर–९ लाटीकोइलीमा रहेको काँक्रेविहार वन नेपालकै पहिलो संरक्षित वन हो । सरकारद्वारा जारी राजपत्रमा काँक्रेविहार संरक्षित वन क्षेत्रको क्षेत्रफल १७५.५ हेक्टर उल्लेख गरिएको छ । उक्त क्षेत्रको संरक्षणका लागि कम्पाउन्डिङ (पर्खाल) निर्माण गर्न लागिएको छ । विवाद नै विवादकाबीच रोकिएको काम गत आर्थिक वर्षबाट अघि बढाइएको छ ।

प्रकाशित मितिः   २४ भाद्र २०८१, सोमबार ०५:०५