भेरी लिफ्टिङ आयोजना: तीन वर्षभित्र निर्माण गर्ने सम्झौता

सुर्खेत: भेरी नदीको पानी लिफ्टिङ गरेर तीन वर्षभित्रैमा वीरेन्द्रनगर उपत्यकामा ल्याउने गरी निर्माण कार्य अघि बढाइने भएको छ । त्यसका लागि त्रिपक्षीय सम्झौता गरिएको छ ।

खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना इकाई कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र चिनियाँ कम्पनी सिंज्याङ टम्र्स इन्टरनेशनल इकोनमी एण्ड टेक्निकल को–अपररेसन कम्पनी लिमेटेडबीच बुधवार ठेक्का सम्झौता भएको हो ।

तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको आयोजना इकाईका प्रमुख सन्जिवकुमार साहले जानकारी दिए । उनका अनुसार २०८१ भदौ १२ गतेदेखि २०८४ भदौ १२ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । तीन अर्ब पाँच करोडमा ठेक्का सम्झौता गरिएको छ । ग्लोबल टेण्डरमार्फत् गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायीमध्ये चिनियाँ कम्पनी छनौटमा परेको हो । आयोजना निर्माणको चरणमा प्रवेश गरेको भन्दै साहले अब निर्माणका काम धमाधम सुरु हुने जानकारी दिए ।

अध्ययनको काम सकेर ठेक्का सम्झौता नै भएपछि भेरी नदीको पानी लिफ्टिङ गर्ने आयोजना अघि बढ्ने देखिएको छ । वीरेन्द्रनगर नगरपालिकाले ‘ड्रिम प्रोजेक्ट’को रूपमा अगाडि सारेको भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माण प्रक्रियामा प्रवेश गरेको हो । संघीयता कार्यान्वयनपछि खानेपानीको क्षेत्रमा संघीय सरकारबाट स्थानीय तहले पाएको सबैभन्दा ठूलो लगानीबाट भेरी लिफ्टिङ खानेपानी आयोजन बन्न लागेको हो ।

त्रिपक्षीय लगानीमा पहिलो पटक आयोजना निर्माण गर्न लागिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन् । उनले आयोजना निर्माणको सम्झौता भएसँगै काम अघि बढ्ने जनाइन् । भेरी लिफ्ट खानेपानी आयोजना कार्यान्वयका क्रममा कुनै पनि समस्या आउन नदिने नगरप्रमुख ढकालले बताइन् । वीरेन्द्रनगरको मात्र नभइ समग्र प्रदेशको गौरवको आयोजनालाई समयमै सक्न निर्माण व्यवसायीलाई कुनै पनि नीतिगत तथा स्थानीयस्तरमा समस्या आउन नदिने उनको भनाइ छ ।

वीरेन्द्रनगरमा आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसंख्याको आँकलन गरेर खानेपानी आयोजना सञ्चालन गर्न लागिएको हो । यो आयोजनाको चर्चा हुन थालेको धेरै भएपनि कामको सुरुवात भने यो वर्षबाट भएको छ । आयोजनाका लागि विश्व बैंकले यसअघि नै लगानी गर्ने प्रतिवद्धता जनाइसकेको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनिसकेको छ । भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माणका लागि कूल लागतको ७० प्रतिशत खर्च विश्व बैंकले बेहोर्ने छ । बाँकी ३० प्रतिशत रकम संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा लगानी गरिने छ ।

आयोजनाअन्तर्गत भेरी नदीबाट लिफ्ट प्रविधिमार्फत् अमृतडाँडामा पानी ल्याइने छ । अमृतडाँडामा रिजर्वेशन ट्यांकी निर्माण हुनेछ । उक्त स्थानबाट मुख्य प्रसारण लाइनमार्फत् उपत्यकामा पानी वितरण गरिने छ । आयोजनाको पहिलो चरणमा भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, रिजर्वेशन ट्यांकी निर्माण, मुख्य पानी प्रसारण लाइन विस्तारलगायतका काम गरिने बताइएको छ ।

त्यस्तै, दोस्रो चरणमा सञ्चालन व्यवस्थापनका कामहरू अघि बढाइने छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको ठेक्का सम्झौता गरिएको हो । वीरेन्द्रनगर उपत्यकामा भेरीको पानी ल्याउन विगतका वर्षहरूमा संघीय र प्रदेश सरकारले पटक–पटक बजेट विनियोजन गर्ने गरेका थिए । योजना कार्यान्वयन नहुँदा रकम फ्रिज जाने गरेको थियो । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा हाल खानेपानीको संकट छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले अहिले २० हजार घरधुरीलाई धारामार्फत् खानेपानी वितरण गरिँदै आएको छ । अझै करिब १८ हजारभन्दा बढी घरधुरीलाई खानेपानीका धारा अपुग रहेको जनाइएको छ । भेरी लिफ्टिङ आयोजना अघि बढ्ने भएसँगै वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः   १३ भाद्र २०८१, बिहीबार १०:१५