दशौं राष्ट्रिय खेलकुद: तयारीमा प्रदेश सरकारको तदारुकता

सुर्खेत: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको मिति नजिकिँदै गर्दा कर्णाली प्रदेश सरकारले तयारीका लागि सक्रियता बढाएको छ । यसैक्रममा शनिवार सरोकारवालाहरूबीच छलफल तथा परामर्श गरिएको छ । सामाजिक विकास मन्त्रालयको आयोजना र प्रदेश खेलकुद विकास परिषद्को समन्वयमा छलफल गरिएको हो ।

छलफलमा मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीप्रतिको भरोसा र विश्वास भएको भन्दै जसरी पनि सफल बनाउनुपर्नेमा जोड दिए । त्यसका लागि आवश्यक सबै तयारी गर्न सरकार तत्पर रहेको उनको भनाइ थियो ।

आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले लामो समयसम्म खेलकुद गतिविधि नबढ्नुले सरकारप्रति खेलाडीको गुनासो बढेको बताए । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल पार्न भूमिका अनुसारको दायित्व पूरा गर्नुपर्ने उनको भनाइ थियो । साथै मन्त्रालयका तर्फबाट गर्नुपर्ने बजेट लगायतका व्यवस्थापनमा कमी हुन नदिने प्रतिबद्धता समेत जनाए ।

सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले यो प्रतियोगिता प्रदेशको गौरवसँग पनि जोडिएको भन्दै तयारीमा तीव्रता दिन मातहतका निकाय र प्रतिनिधिहरूलाई निर्देशन दिए । साथै प्रदेश सरकारले पनि आफ्नोतर्फबाट सम्पूर्ण जिम्मेवारी पूरा गर्ने उनले बताए । प्रतियोगिता आयोजना गर्नु र त्यसमा कर्णाली प्रदेशले दुई अंकको पदक जित्नु सरकारको प्राथमिकतामा रहेको मन्त्री भण्डारीको भनाई थियो । त्यसका लागि आवश्यक हुने बजेट, खेलाडीलाई दिनुपर्ने प्रशिक्षण सहितका आवश्यक व्यवस्थापनका लागि तयारी भइरहेको पनि जनाए ।

आगामी मंसिर २ देखि ९ गतेसम्म दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना हुँदैछ । त्यसका लागि अहिले पूर्वाधार निर्माणको काम भइरहेको छ । यद्यपि पूर्वाधार निर्माण पर्याप्त हुन नसकेको सरोकारवालाहरूले बताएका छन् । वीरेन्द्रनगरमा निर्माणाधिन प्रदेश रंगशालाकै काम सम्पन्न हुन सकेको छैन । निर्धारित समयमा सम्पन्न नभएपछि म्याद थप गरेर काम अघि बढाइएको छ ।

प्रकाशित मितिः   २ भाद्र २०८१, आईतवार १६:०६