राष्ट्रपति रनिङ शिल्ड: प्रदेशस्तरीय छनोट हुँदै
सुर्खेत: कर्णालीमा १३औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु भएको छ । प्रदेशस्तरीय छनौट तीन दिन चल्नेछ । यो प्रतियोगिताबाट १३औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडी छनोट हुनेछन् ।
प्रतियोगितामा हुम्ला बाहेक प्रदेशका नौ जिल्लाका चार सय ४४ खेलाडी सहभागी भएको आयोजक कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए । पालिकाबाट, जिल्ला, जिल्लाबाट प्रदेशमा विभिन्न विधामा छनोट भएका खेलाडी सहभागी छन् । केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि एक सय दश जना खेलाडी छनोट गरिने सञ्ज्यालले बताए । एथलेटिक्स, भलिबल महिला÷पुरुष, कबड्डी, उसु, तेक्वान्दो र कराँते गरी ६ विधाका खेल खेलाइनेछ । उक्त खेलबाट प्रथम भएकालाई राष्ट्रिय प्रतियोगितामा लगिनेछ ।
छनोट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीले खेल क्षेत्रमा फड्को मारेको बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेलको माध्यमले कर्णालीको नाम उचो भएको उनको भनाई छ । शर्माले भने, ‘कर्णालीले गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नेपालको नाम चिनाउने हरिबहादुर रोकायजस्ता ख्याती प्राप्त म्याराथुन धावक जन्माएको छ । पछिल्लो समयमा खेल क्षेत्रमा प्रगति भइरहेको छ । खेल क्षेत्रमा लगानी बढेको छ ।’
नेपाली कांगे्रस कर्णाली प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले भूगोल, हावापानी र आर्थिक विपन्नताबाट गुज्रिएको कर्णालीले पछिल्लो समयमा खेल क्षेत्रमा उल्लेख्य विकास गरेको बताए । तीन तहका सरकारहरूले विभिन्न विधालाई प्राथमिकता दिएर भूगोल र आवश्यकताका आधारमा योजना निर्माण गरी बजेट व्यवस्थापन गर्नुपर्नेमा उनको जोड छ ।
यस्तै नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले व्यक्तिभित्रको क्षमतलाई प्रस्फुटन गर्न कर्णालीमा पूर्वाधारको अभाव भएको बताए । यति हुँदाहुँदै पनि कर्णालीले आफ्नो पहिचान र श्रेष्ठता कायम गर्दै आएको उनको भनाइ थियो । खेल क्षेत्रलाई व्यवस्थित र विकास गर्दै लैजान कर्णाली प्रदेश सरकारलाई उनले सुझाव दिए ।
नेकपा (एकीकृत समाजवादी) का कर्णाली प्रदेशसभा सदस्य कल्याणी खड्काले स्वस्थ नागरिक निर्माण र राष्ट्रको गौरव बढाउन खेलाडी र युवाहरूको प्रधान भूमिकालाई विशेष महत्वका साथ हेरिनुपर्ने बताइन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले कर्णालीको खेल क्षेत्रको विकासका लागि विभागीय मन्त्रालयको सचिव कर्णालीकै हुनुपर्नेमा जोड दिए । हरेक पटक बजेटमा कर्णालीलाई उपेक्षा गर्ने गरिएको उनको भनाइ छ ।
प्रकाशित मितिः ४ बैशाख २०८०, सोमबार ०५:०१
साझा बिसौनी ।