सरकारबाट बाहिरियो एमाले

सुर्खेत: नेकपा (एमाले) कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट सरकारमा सहभागी तीन जना मन्त्रीले आइतवार पदबाट राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, सामाजिक विकासमन्त्री टेकराई पछाई र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्लले सामूहिक रूपमा मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा बुझाएका हुन् ।
मुख्यमन्त्री शर्मालाई दोस्रो पटक विश्वासको मत दिएको दुई साता नबित्दै एमाले सरकारबाट बाहिरिएको हो । देशको राजनीतिक परिस्थिति बदलिएको भन्दै प्रदेश सरकारबाट एमाले बाहिरिएको हो । नेकपा (एमाले) का प्रदेश अध्यक्षसमेत रहेका निवर्तमान मन्त्री शाहले केन्द्रको राजनीतिक समीकरण फेरिएसँगै आफूहरू बाहिरिनु परेको बताए । उनले भने, ‘सरकारमा बस्दा सरकारको नेतृत्व गरिरहेको पार्टीलाई असहजता हुने भएपछि बाहिरिने निर्णयमा पुगेका हौँ । सरकारलाई सहजता प्रदान गरिदिएका छौँ ।’ मुख्यमन्त्री शर्माको इच्छा अनुकूल एमाले बाहिरिएको उनले प्रष्टाए । ‘मुख्यमन्त्रीकोे चाहान सहजता प्रदान गरिदियोस् भन्ने थियो’ शाहले भने, ‘सरकारको मर्म बुझेर हामीले सरकार छोडेका हौँ ।’
केन्द्रमा सत्तागठबन्धन फेरिए पनि कर्णालीमा भने बदलिएको थिएन । मुख्यमन्त्री शर्माले चैत १७ गते दोस्रो पटक विश्वासको मत लिँदा एमाले सरकारबाट बाहिरिने आकलन गरिएको थियो । तर एमालेले भने विश्वासको मत दिएर सरकारमै रहने निर्णय गरेको थियो । केन्द्रमा माओवादी र कांग्रेसहितको गठबन्धन सरकार बनिसक्दा पनि कर्णालीमा भने एमाले र माओवादीको गठबन्धन कायमै थियो । मुख्यमन्त्री शर्माले एमालेलाई सरकारबाट हटाउनुपर्ने कुनै कारण नभएको बताउँदै आएका थिए । तर एमाले सरकारमा हुँदा नयाँ गठबन्धनअनुसार नेपाली कांग्रेस भने सरकारमा सहभागी हुन पाएको थिएन । कांग्रेसले पुरानो गठबन्धन तोड्न माओवादीमाथि दवाव बनाउँदै लगेको थियो । प्रदेश नेतृत्वबाट हुन नसकेपछि केन्द्रीय तहबाट माओवादीलाई दवाव बढाइएको नेताहरूले बताएका छन् । शनिवार सुर्खेत आइपुगेका नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि केही दिनभित्रैमा कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी हुने बताएका थिए ।
मुख्यमन्त्री शर्माले मन्त्रिमण्डल पुनर्गठनका लागि आफूलाई दवाव आएको भन्दै सहज बनाइदिन आग्रह गरेपछि एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका हुन् । ‘मुख्यमन्त्रीले राजीनामा नै नमागेपनि उहाँहरूलाई असहज भएको थियो, हामीले सहज बनाइदिएका हौँ’ एमाले प्रदेश अध्यक्ष शाहले भने । देशकै राजनीतिक अवस्था बदलिएकोले प्रदेशको पनि बदलिएको उनले जनाए ।
आइतवार सरकारबाट बाहिरिएको एमालेले केही दिनभित्रैमा सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने जनाइएको छ । सकेसम्म सोमवार नै समर्थन फिर्ता लिएको पत्र संसद् सचिवालयलाई पठाउने तयारी एमालेको छ । प्रदेश अध्यक्ष शाहले पार्टीमा छलफल गरेर समर्थन फिर्ता लिने जनाए । उनले भने, ‘आज सरकारबाट बाहिरियौँ । अब समर्थन फिर्ता लिने क्रम जारी हुन्छ । अहिले हामीले समर्थन फिर्ता लिएको स्थिति छैन ।’ पार्टीमा थप छलफल गरेर निर्णय गरिने उनले जानकारी दिए ।
एमाले सरकारबाट बाहिरिएसँगै कांग्रेसलाई सरकारमा सहभागी हुने बाटो खुलेको छ । अबको केही दिनमै मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिने र कांग्रेसलाई सरकारमा सहभागी गराउने बुझिएको छ । नयाँ समीकरणअनुसार कर्णाली सरकार अघि बढ्ने छ । नयाँ आठ दलिय गठबन्धनअनुसार कर्णालीमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी सरकारमा सहभागी हुनेछन् । यसअघि मुख्यमन्त्रीसहित चार मन्त्रालय माओवादीले लिएको थियो भने एमालेले तीन मन्त्रालय लिएको थियो ।


साझा बिसौनी ।