स्ववियू निर्वाचन रोक्न रिट

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन रोक्न माग गर्दै अदालतमा रिट परेको छ । आफूहरूलाई निर्वाचनमा सहभागी हुनबाट वञ्चित गरिएको भन्दै विश्वविद्यालयको स्कुल अफ म्योनेजमेन्ट (मुसोम) मा अध्ययनरत विद्यार्थीहरूले मंगलवार उच्च अदालत सुर्खेतमा रिट निवेदन दर्ता गरेका हुन् ।

रिटमा मध्यपश्चिम विश्वविद्यालयको कार्यकारी परिषद्, मुसोम, स्ववियू निर्वाचन समितिलगायतलाई विपक्षी बनाइएको छ । मुसोममा अध्ययनरत तीन सय बढी विद्यार्थीलाई स्ववियू निर्वाचनमा भाग लिन नपाउनेगरी भएको निर्णय बदर गर्न माग गरिएको छ ।

मुसोम विश्वविद्यालय अन्तर्गत नै भएपनि अलग्गै स्वायत्त संस्था हो । विश्वविद्यालय र मुसोमबीचको सम्झौतामा मुसोममा कुनै पनि किसिमका राजनैतिक संघसंगठन र उनीहरूको प्रभाव नरहने भनिएको छ । जसका कारण विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा हुने स्ववियू निर्वाचनमा समेत मुसोमका विद्यार्थी सहभागी हुन पाउँदैनन् । तर विद्यार्थीहरूले भने यस्तो सम्झौताले आफ्नो अधिकार कुण्ठित गरेको भन्दै निर्वाचनमा सहभागी हुन पाउनुपर्ने माग गरेका छन् ।
स्ववियू निर्वाचन अधिकृत वेदप्रकाश ढकालले मुसोम स्वायत्त संस्था भएकाले त्यसलाई निर्वाचनमा सहभागी गराउन नमिलेको बताए । उनले विश्वविद्यालयले नै मुसोम अलग्गै स्वायत्त संस्था भएको बताएपछि निर्वाचन समितिले त्यहाँका विद्यार्थीलाई मतदाता नामावलीमा नसमेटिएको जानकारी दिए ।

मुसोम पनि विश्वविद्यालय मातहतकै संकाय भएकाले सबै विद्यार्थीले समान रूपमा निर्वाचनमा सहभागी हुने अधिकार पाउनुपर्ने बताउँछन् अधिवक्ता शेरबहादुर खत्री । संविधानदेखि अन्तर्राष्ट्रिय महासन्धीहरूले समेत निर्वाचनमा सहभागी हुने तथा चुन्ने र चुनिने अधिकारबाट बन्देज लगाउन नपाउने व्यवस्था गरेकाले विश्वविद्यालयले पनि मताधिकार खोस्न नमिल्ने जनाए ।

रिट परेपछि अदालतले आज (बुधवार) का लागि पेशी तोकेको छ । अदालतका प्रशासकीय अधिकृत जनकप्रसाद शर्माले बुधवार उक्त रिट एकल इजलाशमा पेस हुने जानकारी दिए । विश्वविद्यालयमा चैत ३ गते स्ववियूको निर्वाचन हुँदैछ ।

प्रकाशित मितिः   १ चैत्र २०७९, बुधबार ०५:०१