मानव सेवा सहयोगार्थ साँस्कृतिक कार्यक्रम
सुर्खेत: मानव सेवा आश्रमको सहयोगार्थ वीरेन्द्रनगरमा साँस्कृतिक कार्यक्रम गरिने भएको छ । विगत एक दशकदेखि सहयोगापेक्षी सडक आश्रित मानवहरूको सेवा गर्दै आइरहेको मानव सेवा आश्रमको आयोजना तथा चर्चित साँस्कृतिक समूह नेपथ्यको सहकार्यमा कार्यक्रम हुन लागेको हो । वीरेन्द्रनगरको खुल्लामञ्चमा आउँदो पुस ६ गते नेपथ्य लाइभ कन्सर्ट हुन लागेको आयोजक मानवसेवा आश्रमले जनाएको छ । यसअघि नेपथ्यले शान्तिको लागि शिक्षाको नारासहित २०६३ सालमा सुर्खेतमा कार्यक्रम गरेको थियो । तर यसपटक भने नेपथ्य फरक रूपमा प्रस्तुत हुँदैछ । यसपालि मानवीय सेवाभाव राखेर कार्यक्रममा जुटेको नेपथ्यले जनाएको छ । कार्यक्रमबाट संकलित रकम मानवसेवा आश्रमको भवन निर्माणमा खर्चिने बताइएको छ । मानवता प्रवद्र्धन गर्दै आश्रमको संरक्षणका लागि आपतकालीन अक्षयकोष स्थापनार्थ वीरेन्द्रनगरसहित देशभरका १० वटा सहरहरूमा नेपथ्य लाइभ कन्सर्ट गर्न लागिएको आश्रमका केन्द्रीय सदस्य सिर्जना ओलीले जानकारी दिइन् ।
मानवसेवा आश्रमले आश्रितको दीर्घकालीन व्यवस्थापनका वीरेन्द्रनगरमा भवन निर्माण गर्न जग्गा खोजी गरिरहेको छ । कन्सर्टमा नेपथ्य समूहका चर्चित गायक अमृत गुरुङले मानवता झल्किने र मानवता प्रवद्र्धनमा सहयोग पुग्नेलगायत लोक÷रक गीतहरू प्रस्तुत गर्नेछन् । नेपथ्य सांस्कृतिक समूहले यसअघि विभिन्न देश परिवर्तनका नाराहरूसहित कार्यक्रम गर्दै आइरहेकोमा सन् २०२२ अर्थात् पुस ६ गते हुने संगीत यात्रालाई ‘मानवताका लागि संगीत’ यात्रा २०२२ नाम दिएको छ ।
प्रकाशित मितिः १७ मंसिर २०७९, शनिबार ०८:५१
साझा बिसौनी ।