जिल्ला कमिटी नै अर्को पार्टीमा समाहित

जुम्ला: नेकपा (एकीकृत समाजवादी) जुम्लाको जिल्ला कमिटी नेकपा ‐एमाले)मा समाहित भएको छ । जुम्लाका एमाले अध्यक्ष शान्तिलाल महत र एकीकृत समाजवादीका अध्यक्ष आदिप्रसाद न्यौपानेले सोमवार सात बुँदे सहमति गर्दै एकिकृत समाजवादी जिल्ला कमिटी एमालेमा समाहित भएको घोषणा गरेका हुन् । एकीकृत समाजवादीका इन्चार्ज देवीलाल थापा, अध्यक्ष आदिप्रसाद न्यौपाने, प्रदेश कमिटी सदस्यहरू र अधिकांश जिल्ला समिति सदस्यहरू एमालेमा समाहित भएका हुन् । सामाजवादी निकट कर्मचारी र शिक्षक संगठन पनि एमालेमा एकीकृत भएको जनाइएको छ ।
एकीकृत समाजवादीका जिल्ला अध्यक्ष आदिप्रसाद न्यौपानेले एकअर्काको आत्मसम्मान र भावनामा ठेस नपुग्ने गरी साझा उद्देश्य र समझदारीका साथ एमालेको संगठन निर्माणको अभियानमा जुट्ने निर्णय गरिएको जनाए । पछिल्लो समय जुम्लामा निर्वाचित जनप्रतिनिधिबाहेक अधिकांश नेता र कार्यकर्ताहरू एमालेमा फर्किएको जनाएको छ । नेकपा एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाजन भएपछि एकीकृत समाजवादीको सबैभन्दा प्रभाव क्षेत्रको रूपमा जुम्लालाई लिइन्थ्यो । समाजवादीको उच्च तहको नेतृत्वमा रहेका नेता÷कार्यकर्ताले विद्रोहको औचित्यमाथि प्रश्न उठाएर पार्टी एकताको बहस चलाएपछि बहुमत कार्यकर्ता एमालेमा फर्किन राजी भएको जनाइएको छ । ‘हिजो एमाले हामीले नै बनाएका हौँ । अब पनि जुम्लाकै एक नम्बर पार्टी बनाउन लागि पर्छौं,’ अध्यक्ष न्यौपानले भने, ‘गठबन्धनभित्रको असन्तुष्ट रिजाएर निर्वाचनको परिणाम एमालेको पक्षमा बनाउन लागिनेछ ।’ संसदीय निर्वाचन नजिकिएका बेला सिँगो पार्टी नै एमालेमा समाहित भएपछि जुम्लाको राजनीति तरङ्गित बनेको छ ।
प्रकाशित मितिः २१ कार्तिक २०७९, सोमबार १९:३४
साझा बिसौनी ।