काँक्रेविहार गोल्डकप : वीरेन्द्रनगर र भेरीगंगा विजयी

सुर्खेत – काँक्रेविहार गोल्डकप फुटबल प्रतियोगितामा आज दुई वटा खेल भएका छन् । आ-आफ्नो खेल जित्दै वीरेन्द्रनगर र भेरीगंगाले प्रतियोगितामा विजयी यात्रा सुरु गरेका छन् ।

बिहीवारको पहिलो खेलमा सिम्ता गाउँपालिकालाई २-० गोलअन्तरले पराजित गर्दै वीरेन्द्रनगर नगरपालिका विजयी भयो । वीरेन्द्रनगरका लागि खेलको १८औं मिनेटमा कुमार शाहीले गोल गरेर टिमलाई अग्रता दिलाए । ३८ औं मिनेटमा विनोद अधिकारीले अर्को गोल थपे । त्यसपछि दुवै टीमबाट कुनै गोल हुन सकेन ।

बिहीवार नै भएको दोस्रो खेलमा भेरीगंगा नगरपालिकाले बराहताल गाउँपालिकालाई ४–१ गोल अन्तरले पराजित गर्‍यो । भेरीगंगाका विवेक सन्तोषीले ह्याट्रिक गरे । उनले ३४, ४७ र ५९ औं मिनेटमा गोल गरेका थिए । गणेश खत्रीले पनि एक गोल गरे ।

बराहतालका लागि ५४ औं मिनेटमा निर्मल लामिछानले एक गोल गरेका थिए ।

काँक्रेविहार युवा क्लब सुर्खेतले आयोजना गरेको प्रतियोगिता कार्तिक १४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मितिः   ११ कार्तिक २०७८, बिहीबार १९:१८