अरुका लागि खुशी खोज्दै किशोर
सविता जिसी
संसारका हरेक मानिस आफ्नो व्यक्तिगत खुशी खोज्दै बाँचिरहेका हुन्छन् । तिनै आफ्नो व्यक्तिगत जीवनको खुशी खोजिरहेकाहरूको भीडमा केही त्यस्ता व्यक्तिहरू पनि छन्, जसले आफ्नो भन्दा बढी अरुको खुशी खोजिरहेका छन् । त्यस्ता केही व्यक्ति छन्, जसले अरुलाई समेत जीवन बाँच्ने प्रेरणा दिनका लागि संघर्ष गरिरहेका छन् । र, त्यस्तै मध्येका एक हुन्, किशोर शाही ।
कालिकोटका किशोर शाही स्पाइनल कर्ड ईन्जुरी भएर ह्वीलचियरको साहारामा हिँड्छन् । स्पाइनल कर्ड ईन्जुरीकै कारण किशोरको मेरुदण्ड भन्दा तलको शरीरको भाग नै चल्दैन, अर्थात् उनको बसमा हुँदैन । तर आफूजस्तै अपाङ्गता भएर बाँचिरहेका कर्णालीका नागरिकहरूको खुशी र आत्मसम्मान खोज्ने अभियानमा उनी अहोरात्र खटिएका छन् ।
…
वि.सं. २०३५ साल वैशाख १ गते कालिकोटको खाडाचक्र नगरपालिकाको वडा नम्बर ६ मा जन्मिएका हुन्, किशोर । जुम्लाबाट कक्षा पाँचसम्मको पढाइ पूरा गरेका किशोरले गाउँकै पञ्चदेव माध्यमिक विद्यालयबाट प्रवेशिका उत्तीर्ण गरे । काठमाडौंमा बसेर कक्षा ११ र १२ को पढाइ सकेका किशोर स्नातक पढ्न नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पस पुगे । पढाइ चल्दै थियो, किशोर आफ्नो भविष्यका बारेमा सोच्दथे । अब आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने सोच उनमा थियो । त्यसपछि उनले वि.सं. २०५८ सालमा नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदका लागि प्रतिस्पर्धा गरे । त्यसमा उनी सफल पनि भए । खुला प्रतिस्पर्धाबाट नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा नाम निकाल्न सफल भए, किशोर । सानै उमेरदेखि भविष्यमा गएर देश र जनताका लागि केही गर्नुपर्छ भन्ने भावना बोकेका किशोरको जागिरे जीवन सुरु भयो ।
मुलुकमा सशस्त्र युद्ध चलेको थियो । देशभर सरकारी पक्ष र तत्कालीन विद्रोही पक्ष माओवादीबीच भिडन्त भइरहेका थिए । त्यसैक्रममा कैलालीको आँपखैया जंगलमा माओवादी र नेपाल प्रहरीबीच दोहोरो भिडन्त भयो । घटना वि.सं. २०६१ सालको हो । प्रहरी टोलीमा किशोर पनि थिए ।
दोहोरो भिडन्तमा माओवादीले चलाएको गोली लागेर उनी घटनास्थलमै ढल्न पुगे । उनको शरीरमा दुईवटा गोली लाग्यो । तर उद्दार छिटो भएकाले किशोरको उपचार समयमै भयो । परिवारले बाँच्ने आशा मारिसकेका किशोर ४६ दिनको अस्पताल बसाइँ पछि मात्रै होसमा फर्किए । अस्पताल बसाइँ सकिनै लाग्दा थाहा भयो, उनलाई स्पाइनल कर्ड ईन्जुरी भएछ । गोली लागेपछिका दुई वर्ष त किशोरले कहाली लाग्दो जीवन बिताए । ओछ्यानबाट बाहिर निस्कन नमिल्ने, उनको सहाराका लागि एक जना अर्को व्यक्ति चाहिने । उनले आफ्नो जीवनको यो अवधिसम्म आइपुग्दा तीन पटक त आत्महत्याको प्रयास गरेको अनुभव सुनाए । जीवन के नै रहेछ र, यसरी अर्काको सहारमा कति दिन बाँच्ने, यसरी बाँच्नु भन्दा मर्नु नै ठीक भन्ने सोचका कारण किशोरले आत्महत्याको प्रयास गरेका रहेछन् । आत्महत्याको प्रयास गरेका क्षण सुनाउँदै किशोरले भने, ‘मैले त्यतिबेला नै आत्महत्या गरेको भए, कर्णालीका ३५ हजार अपाङ्गता भएका नागरिकको हक अधिकारका लागि आवाज कसले उठाइ दिँदो हो ?’
उनको शरीर अशक्त भए पनि जीवन र मनलाई अपाङ्गता बनाउनु हुन्न भन्ने सोच्थे तर शरीरलाई आराम चाहिएको थियो । झन् जीवनदेखि हरेश नखाइ आफूजस्तै अपाङ्गता भएकाहरूका हकहितका लागि काम गर्छु भन्ने सोच राखे । अब अपाङ्गता भए भन्दैमा यसरी कमजोर भएर हुँदैन भन्ने सोच राखेर किशोरले वि.सं. २०६७ सालमा एकजना साथीसँग मिलेर नेपाल स्पाइनल कर्ड ईन्जुरी खेलकुद संघ स्थापना गरे ।
यही संस्थाबाटै उनले देश तथा विदेशमा हुने विभिन्न प्रतियोगिताहरूमा सहभागिता जनाए । अहिले यो संस्थामा देशभरका दुई सय जनाभन्दा धेरै अपाङ्गता भएका व्यक्तिहरू संलग्न छन् । उनी भन्छन्, ‘द्वन्द्वको क्रममा गोली लागे पछिका मेरो जीवनका सबै क्षण सम्झनलायक छन्, जीवनमा भोगेका केही भोगाइ खुशीले बिर्सन सकिएन त केही पीडाले ।’
मुख्यमन्त्रीसँगको त्यो भेट
किशोर एक्लैले चाहेर मात्र पनि उनले देखेको सपना पूरा हुँदैनथ्यो । त्यसका लागि सरकारबाट सहयोग पाइने आशाका साथ उनी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेट्न पुगे । मुख्यमन्त्री शाहीले मन्त्रालयमै बोलाएपछि उनी ह्वीलचियरमा नै मन्त्रालय पुगे । तर मुख्यमन्त्रीलाई भेट्न जाँदा उनी कार्यालयभित्र प्रवेश गर्नै पाएनन् । कारण थियो, कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रवेशद्वारबाट किशोरले चढ्ने गरेको जस्तो ह्वीलचियर जाँदैन थियो अर्थात मुख्यमन्त्रीको कार्यालय अपाङ्गतामैत्री थिएन । मन्त्रालयको मूलगेटबाट प्रवेश गरेका किशोर कार्यालय परिसरमै रोकिनुप¥यो । मुख्यमन्त्रीको कार्यालयभित्र ह्वीलचियर नजाने भएपछि आँगनमै बसे । राज्यका सबै संरचनाहरू अपाङ्गतामैत्री हुनुपर्ने मुद्दामा पनि निरन्तर वकालन गर्दै आइरहेका छन् किशोर । तर मुख्यमन्त्रीकै कार्यालय आफूहरूका लागि अनुकूल नहुँदा दुखी हुन पुगे ।
मुख्यमन्त्री शाही किशोर बसेकै ठाउँमा भेट्न आइपुगे । उनले आफ्ना योजनाका मुख्य मुख्य अंश सुनाए । मुख्यमन्त्रीले किशोरले सुनाएका योजना सुकिसकेपछि योजनाको तारिफ मात्र गरेनन्, अपाङ्गता भएका नागरिकलाई रोजगारीका लागि सीपमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाए ।
मुख्यमन्त्री शाहीले गैरसरकारी संस्थामार्फत् भन्दा पनि उद्योग दर्ता गरेर उत्पादनमूलक क्षेत्रमा लाग्न आग्रह गरे । मुख्यमन्त्री शाहीले कम्पनी दर्ता गरेर आउन भने पछि लगत्तै काठमाडौं हानिए, १५ दिनको काठमाडौं बसाइँपछि उनले कर्णालीका अपाङ्गता भएका नागरिकका हकमा काम गर्ने गरी कर्णाली डिजेवल भोकेवेश्नल ट्रेनिङ्ग सेन्टर एण्ड प्रोडक्शन दर्ता गरे । अहिले यही उद्योगमार्फत् उनले कर्णालीका ३५ हजार नागरिकलाई आत्मनिर्भर बनाउनका लागि हिँडिरहेका छन् ।
३५ हजारलाई रोजगार बनाउने लक्ष्य
स्पाइनल कर्ड इन्जुरीसँग लडिरहेका किशोरको एउटै उद्देश्य छ, त्यो हो कर्णाली भित्र अपाङ्गता जीवन बिताइरहेकाहरूलाई आत्मनिर्भर बनाउने । यसका लागि किशोरले कर्णाली प्रदेश सरकारले सहयोग गर्ने अपेक्षा गरेका छन् । उनले विना आधार कर्णालीका ३५ हजार अपाङ्गहरूका लागि रोजगारी खोजेका भने होइन् ।
वि.सं. २०६८ सालमा भएको जनगणना अनुसार कर्णालीका १० जिल्लामा ३५ हजार नागरिकले अपाङ्गता जीवन बिताइरहेका छन् । उनीहरू सबै नागरिकलाई आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरिनुपर्ने उनेको मूल मुद्दा हो । उनले स्थापना गरेको उद्योगमार्फत् कोटाका आधारमा सीपमूलक तालिम दिने र ती तालिम लिएका व्यक्तिले अरु व्यक्तिलाई सीप सिकाउने योजना बनाएका छन् । यसका लागि पूँजीको आवश्यकता छ, उनले यो प्रदेश सरकारबाट सहयोगको अपेक्षा गरेको बताए ।
यसरी सुरुमा तालिम गरेका व्यक्तिले अरुलाई सिकाउँदा समयको बचत र प्रभावकारी बन्ने किशोरको तर्क छ । उनले यसका लागि ४० लाख लगानी लाग्ने अनुमान गरेका छन् । उनले अपाङ्गता भएका नागरिकहरूका लागि कपाल काट्ने, कपडा बुन्ने लगायतका सीप सिकाउने योजना बनाएका छन् ।
बढेको आत्मविश्वास
आफू अपाङ्गता भएकोमा उनलाई अहिले कुनै अफसोच छैन । पहिलेभन्दा बढी आत्मविश्वासका साथ उनी आफ्नो लक्ष्य भेट्न हिँडिरहेका छन् । उनी भन्छन्, ‘त्यो घटना नभएको भए म साधारण मानिस नै रहन्थेंहोला, जुन घटना भयो त्यसले मलाई देशका लागि केही गर्नुपर्छ भन्ने भावनाको विकास गरिदियो । गोली नलागेको भए, म प्रहरीको कुनै पदमा ड्युटी गरिरहेको हुन्थे होला ।’
बदल्न बाँकी दृष्टिकोण
किशोरलाई लाग्छ, अपाङ्गता भएकाहरूप्रति हेर्ने समाज र राज्यको दृष्टिकोण अझै पनि बदल्न बाँकी छ । भन्छन्, ‘हामीसँग पनि क्षमताहरू छन्, अन्य नागरिक सरह काम गर्न सक्छौं, अवसरको खाचो भने पर्छ ।’ समाजले अहिले पनि अपाङ्गता भएकाहरू भित्र पनि क्षमता छ भनेर बुझ्न नसकेको उनको गुनासो छ । तर किशोरले समाजले विस्तारै आफूलाई परिवर्तन गर्दै लैजानेमा विश्वास छ । समाजले अझै पनि अपाङ्गता भएका व्यक्तिहरू प्रतिको बुझाइ सकारात्मक बनाउन नसके पनि सरकारले विस्तारै बुझ्दै गएको बताए ।
शारीरिक अशक्तताका बाबजुद उनी हरेक क्षेत्रमा कर्मठ भएर लागिरहेका छन् । देशभर नै अपाङ्गतामैत्री संरचना निर्माण गर्नु र उनीहरूको चाहना अनुसारको शिक्षा र आधारभूत सीप सिकाउने र स्वरोजगार बनाउने योजना छ । प्रकृतिले दिएको यातनालाई पनि उनले सहज रूपमा लिइरहेका छन्, उनले हरूलाई पनि बाँच्ने प्रेरण दिइरहेका छन् । जिन्दगी भनेको समाजका लागि केही गर्ने सुनौलो अवसर हो ।
जब देशका लागि हित हुने केही गर्न सकिन्छ, तब एउटा जीवनले सार्थकता पाउँछ । उनको जीवनलाई गहिरिएर हेर्ने हो भने, शारीरिक रूपमा अशक्त भए, त्यही अशक्तताको कारणले नै देशका अरु अपाङ्गहरूले नयाँ जीवन पाउन् । उपचारको उचित व्यवस्था नहुनु, सामाजिक संरक्षणको अभाव, आर्थिक अभाव, जनचेतनाको कमी, अज्ञानता जस्तो कहीं तत्वहरू अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा तगारो बनिरहेको किशोरको अनुभव छ । सामाजिक विभेद र अपाङ्गप्रति सरकारको गलत दृष्टिकोणलाई हटाएर स्वच्छ जीवन निर्वाह गर्ने वातावरण तयार गर्न सबै लाग्नुपर्ने उनी बताउँछन् । भन्छन्, ‘सबै मानिसले आफ्नो आत्मसम्मानसहित बाँच्न पाउनुपर्छ, अपाङ्गता भएका नागरिक पनि यही सामाजका नागरिक हुन्, उनीहरू पनि सपाङ्ग व्यक्ति सरह स्वतन्त्र र स–सम्मान बाँच्न दिनुपर्छ ।’
साझा बिसौनी ।