चार वर्षमा आधा मात्र काम

साझा बिसौनी संवाददाता
सुर्खेत, १२ असार ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आउँदा अधिकांश व्यक्तिहरू काँक्रेबिहार नपुगी फर्किदैनन् । बुलबुलेपछि घुम्नको लागि काँक्रेबिहार नै पर्यटकको रोजाइमा पर्दै आएको छ । तर काँक्रेबिहारको पुनर्निर्माणमा भएको ढिलाइका कारण त्यहाँ पुग्ने जो कोही पर्यटक पनि खिन्न भएर फर्किने गरेका छन् ।


चार वर्षअघि काँक्रबिहारको पुनर्निर्माणको काम सुरु भएपछि मन्दिरको वास्तविक संरचनासँग भेट गर्न आत्तुर रहेका पर्यटकले चार वर्षसम्म लथालिंग अवस्थामा मूर्तिहरू छरपस्ट देख्दा अप्ठ्यारो महसुस गर्नेगरेका छन् । पटक–पटक सरोकारवाला र नागरिकले मन्दिरको पुनर्निर्माणको काम छिटो गर्न अनुरोध गर्दै आए पनि पुरातत्व विभाग र निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको हेचक्र्याइका कारण हालसम्म सिङ्गो संरचना ठडिन सकेको छैन ।
काँक्रेबिहार भग्नावशेषको २०५७ साल फागुन ११ गतेदेखि उत्खनन् गरी दुई हजार २८ वटा पुरातात्विक वस्तुहरू निकालिएको थियो । उत्खनन् स्थलमा पुरातत्व विभागले २०६१ साल मंसिरदेखि शिखर शैलीको मन्दिर निर्माण थालेको हो । पटकपटक गरेर लाखौं रूपैयाँ खर्च भइसक्दा पनि पुनर्निर्माण कार्यले भने पूर्णता पाउन सकेको छैन । काँक्रेबिहारको पुनर्निर्माणका लागि सिद्धबाबा कन्ट्रक्सनले प्रालिले पुनर्निर्माणको जिम्मा लिएको हो । २०७४ जेठ मसान्तसम्म पुनर्निर्माणको काम सक्नेगरी चार वर्षअघि सम्झौता भएको थियो । तर सम्झौता अनुसार निर्माण सम्पन्न हुने मिति घर्किएको एक वर्ष बितिसक्दा समेत हालसम्म आधा काम मात्रै सकिएको छ । पुरातत्व विभागमार्फत् नौ करोड ६५ लाख ६६ हजार रूपैयाँ विनियोजित भएकोमा भ्याटबाहेक निर्माण कम्पनीसँग सात करोड ३४ लाख २१ हजारमा सम्झौता भएको हो ।
समयमै काम नहुँदा दुई पटकसम्म म्याद थप भइसेकेको छ । गतवर्ष तोकिएको समयमा नसकेपछि विभागले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म काम सक्नेगरी पहिलो पटक म्याद थप गरेको विभागका इन्जिनियर पूर्णबहादुर श्रेष्ठले बताए । ‘यो मूर्तिका बुट्टा कुँद्ने जनशक्तिहरू नहुँदा र अधिकांश सामग्री बाहिरबाट ल्याउनुपर्ने भएका कारण पनि ढिलाइ भएको हो’ उनले भने । एक महिनाअघि संस्कृति तथा पर्यटन मन्त्री रविन्द्र अधिकारी सुर्खेत आउँदा बिहार पुनर्निर्माणको काममा भएको प्रगतिबारे अनुगमनसमेत गरेका थिए । तर उनी त्यहाँ पुग्दा छरपस्ट अवस्थामा सामग्रीहरू देखेपछि अब धेरै ढिलाइ गर्न नहुने भन्दै छिटो सक्न निर्देशन पनि दिए । पहिलो पटक थप भएको समयमा आधा मात्रै काम भएपछि अधिकारीसँग विभाग र कम्पनीले अनुरोध गर्दा पुनः दोस्रो पटक म्याद थप भएको छ । यो पटक आउँदो माघ मसान्तसम्म सक्ने गरी म्याद थप भएको हो ।
चार वर्षसम्म बिहार निर्माणको ६५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । मूर्तिको कलाकृति बनाउने कामहरू सकिएकोले अब जडानको काम मात्रै बाँकी रहेको बताइएको छ । सकेसम्म दशैंसम्म र नभए माघसम्म भए पनि मन्दिर निर्माणको काम सक्ने विभागको तयारी छ । तर चार–चार वर्षसम्म पनि आधा काम मात्रै भएकोले दोस्रो पटक थप भएको मितिमा पनि बिहारको पूर्ण स्वरूप प्राप्त गर्नेमा स्थानीयहरूमा आशंका पैदा भएको छ । हेर्न लायक ठाउँलाई निर्माणमा ढिलाइ गरेर पर्यटकहरूको मन दुखाउने काम गरेको स्थानीयको भनाइ छ । ‘बिहारको पुरानै शैलीमा निर्माण हुँदैछ भन्ने थाहा पाएपछि हामी निकै खुशी भएका थियौं, हामी पहिचान स्थापित हुने भयो भन्ने लाग्यो’ लाटीकोइलीका स्थानीय मिलन श्रेष्ठले भने, ‘आधा काम त भएको देखिन्छ तर चार–चार वर्षसम्म पूरा हुन नसकेको यही वर्षमा हुन्छ भन्नेमा विश्वास छैन ।’
भएका संरचना पनि व्यवस्थित हुन नसक्दा उत्खनन्मा निस्किएका हजारौं वर्ष पुराना पुरातात्विक वस्तुहरू नष्ट हुँदै गएका छन् । निर्माण जिम्मा लिएको सिद्धबाबा कन्ट्रक्सनले प्रालिले भने सरकारी पक्षकै ढिलाइका कारण समयमै बिहार बन्न नसकेको बताएको छ । कम्पनीका प्रमुख दिपक कार्कीले भने, ‘हाम्रो तर्फबाट हुने काम भइसक्यो, जनशक्ति अभाव र सामग्री बाहिरबाट ल्याउँदा केही ढिलाइ भएकै हो । तर अब सबै तयारी भएर पनि जडान गर्नेबेला पुरातत्व विभागको बेवस्ताका कारण समय बित्दै गएको छ ।’

प्रकाशित मितिः   १३ असार २०७५, बुधबार १३:०९