नियन्त्रणमा लिइएका सवारी प्रहरी कार्यालयमै थन्किए

साझा बिसौनी संवाददाता
सुर्खेत, ९ असार ।
वीरेन्द्रनगस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पुग्दा पुराना तथा नयाँ मोटरसाइकल र ठूला सवारी साधन लस्करै राखिएको देखिन्छ । शोरुममा बिक्रीका लागि राखिएका जस्तै देखिने मोटरसाइकल भने केही भन्सार छलेर अवैध रूपमा नेपाल भिœयाइएका र केही कागजात नपु¥याएर सञ्चालनमा ल्याइएका सवारी हुन् ।


ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका ती सवारी करिब दुई÷तीन वर्षदेखि नै ट्राफिक प्रहरी परिसरमा थन्किएका छन् । २०७२ मा अखण्ड मध्यपश्चिमको माग गर्दै भएको आन्दोलनपछि नियन्त्रणमा लिएका सवारीहरू अझै प्रहरी नियन्त्रणमै छन् । पटक–पटक नियन्त्रणमा लिएका सवारी साधनहरूको हकदाबीको लागि कोही पनि नआएको र दाबी गर्न नआएको खण्डमा बढाउनुपर्ने प्रक्रिया ट्राफिक प्रहरीले अगाडि नबढाउँदा खिया लागिसकेका छन् ।
अहिले करिब दुई दर्जन बढी मोटरसाइकल ट्राफिक कार्यालयको हाताभित्र छन् । तर तीमध्ये केही अहिले थोत्रा भइसकेका छन् । ट्राफिकले अवैध रूपमा ल्याएर सञ्चालन भइरहेका सवारी साधन नियन्त्रणपछि किनारा लगाउने प्रक्रिया अगाडि नबढाउँदा कतिपय सवारी काम नलाग्ने अवस्थामा पुगेका छन् । यता भन्सार विभागका अनुसार भन्सार प्रक्रिया नपु¥याइ सञ्चालन गरिरहेका अवैध सवारी साधन नियन्त्रणमा लिने बित्तिकै भन्सार कार्यालयमा बुझाउनु पर्दछ । कुनै पनि कागजपत्र विना सञ्चालन भएका सवारी नियन्त्रमा लिएको केही समयमा नै मुचुल्का उठाएर भन्सार कार्यालयलाई आवश्यक प्रक्रियाका लागि बुझाउनुपर्ने विभागका सूचना अधिकारी शिव भण्डारीले बताए ।
भन्सारले १५ दिनको हकदाबी सम्बन्धी सूचना प्रकाशित गर्दछ । तोकिएको समयमा उक्त सवारीको हकदाबी गर्न कोही नआएको खण्डमा कार्यालयले प्राविधिक टोलीहरूको मूल्याङ्कनका आधारमा लिलाम प्रक्रियामा लैजानुपर्दछ । तर सुर्खेत ट्राफिकले भने नियन्त्रणमा लिएका त्यस्ता सवारी नेपालगन्ज भन्सार कार्यालयलाई नबुझाउँदा लामो समयदेखि खिया लागेर थन्किरहेका छन् । जिल्ला ट्राफिक प्रहरी प्रमुख हरिबहादुर बिसीका अनुसार नियन्त्रणमा लिएका चोरीका सवारी साधनको लगत संकलन गर्ने कार्य भइरहेको छ । ‘विगतमा हुनेहरूले के गर्नुभयो, मलाई जानकारी छैन, अब मैले लगत संकलन गर्न लगाएको छु’ उनले भने, ‘कहिलेदेखिका सवारी यहाँ थन्किएर रहेका छन्, विस्तृतमा जानकारी लिएर प्रक्रिया अगाडि बढाउनेछु ।’
उनले आफूलाई पनि नियन्त्रणमा लिएका सवारी लिलाम गर्ने प्रक्रियाका विषयमा जानकारी नभएकाले बुझेर अगाडि बढ्ने बताए । यही आर्थिक वर्षको अन्त्यसम्म नियन्त्रणमा रहेका सबै चोरीका सवारी साधनहरू भन्सार प्रक्रियामा लैजाने तयारी गरिरहेको बिसीको भनाइ छ । ट्राफिक कार्यालयमा मात्रै होइन, जिल्ला प्रहरी कार्यालयको परिसरमा पनि दर्जनौं सवारी थन्किएका छन् । विभिन्न दुर्घटनाबाट नियन्त्रणमा लिएका सवारी साधनहरू विगत तीन÷चार वर्षदेखिका सवारी प्रहरी परिसरमै छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकर श्रेष्ठले व्यक्तिसँगै पक्राउ परेका सवारी अदालतले मुद्दा किनारा नलगाउने बेलासम्म सवारी प्रहरीकै संरक्षणमा राख्नुपर्ने बताए । प्रहरी परिसरमा चार दर्जन बढी सवारी भए पनि प्रहरी निरीक्षक श्रेष्ठले एक दर्जनभन्दा बढी नभएको बताए ।
विभिन्न घटनामा संलग्न भएका बेला प्रहरीले नियन्त्रणमा लिएका सवारी सकुशल फिर्ता नहुने गरेको उपभोक्ताको भनाइ छ । ‘एउटा कागज नमिलेको अवस्थामा पनि प्रहरीले सवारी आफ्नो नियन्त्रणमा लिन्छ, भनेको समयमा लिन जान कहिलेकाहीं असहज हुन्छ’ वीरेन्द्रनगरका एक जना नागरिकले भने, ‘केहीदिनपछि गाडी लिन जाँदा कुनै न कुनै सामान हराएको हुन्छ, प्रश्न गर्दा उल्टै धम्क्याउँछन् । बाध्य भएर आधा गाडी लिएर आउनुपर्दछ ।’ जिप्रका र ट्राफिकमा रहेका अधिकांश सवारी नियन्त्रणमा लिने अवस्थामा सकुसल रहे पनि अहिले भने काम नलाग्ने अवस्थामा रहेका छन् । यस्तै जिल्लाका प्रत्येक सरकारी कार्यालयमा एउटा पुरानो सवारी थन्किएका छन् । तर वर्षौंदेखि पुराना गाडी कार्यालयमा थन्किदा पनि सम्बन्धित कार्यालयले लिलाम बिक्रीका लागि प्रक्रिया अगाडि बढाएका छैनन् ।
जिल्ला समन्वय समितिमा थन्किएको चारपांग्रे गाडी हालसम्म लिलामका लागि प्रक्रिया अगाडि बढाइएको छैन । यस्तै प्रत्येक सरकारी कार्यालयमा पुराना मोटरसाइकलहरू छन् । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेका अनुसार सम्बन्धित कार्यालयले नै सञ्चालन हुन नसक्ने अवस्थामा रहेका सवारी साधनहरू लिलामका लागि प्रक्रिया थालनी गर्नुपर्ने हुन्छ । सवारी बिग्रिएपछि बेवारिसे थन्क्याउनाले नयाँ सवारी खरिदमा लाखौं खर्च हुने गरेको छ ।

प्रकाशित मितिः   १० असार २०७५, आईतवार १०:४१