गाउँ र नगरसभा सुरु हुँदै

साझा बिसौनी संवाददाता
सुर्खेत, ९ असार ।
प्रदेश सरकारले बजेट सार्वजनिक गरेको १० दिनभित्र नगर÷गाउँसभा सुरु गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार आइतवारदेखि स्थानीय तहले आफ्नो नीति तथा योजनामाथि छलफल सुरु गर्दै छन् ।
संविधानतः प्रदेश सरकारले असार १ गते नै बजेट सार्वजनिक गरिसकेका छन् । जसअनुसार नै स्थानीय सरकारले पनि आर्थिक वर्ष २०७५÷०७६ को लागि नीति, योजना तयारी पूरा भएको जानकारी गराएका छन् ।
स्थानीय तहले स्रोतसाधनको उपयोग र जनताका आवश्यकता माग सम्बोधन हुने गरी आगामी योजना तय गरिएको जनाएका छन् । कानुनी जटिलता, कर्मचारी अभावलगायतका समस्याबीच पनि स्थानीय सरकारले सन्तोषजनक काम भएको दावी गरेका छन् ।
सुर्खेतको चिङ्गाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणको तयारी पुरा भएको बताए । गाउँपालिकाले वडा र गाउँस्तरबाट संकलित योजनालाई प्राथमिकता दिएको छ । ‘हामीले स्थानीय जनताको प्रत्यक्ष सहभागितामा वडा र गाउँपालिकाका विभिन्न भेलाबाट योजना निर्माण गरेका छौं’ उनले भने, ‘शिक्षा, यातायात, सडक, पूर्वाधारसँगै आवधिक योजना निर्माणलाई पहिलो प्राथमिकतामा राखेका छौं ।’ उनले आर्थिक वर्ष २०७४÷०७५ मा सन्तोषजनक प्रगति भएको दावी गरे । गाउँपालिकाका अधिकांश विद्यालयहरू प्राविधिमैत्री बनाउने लक्ष्यले इन्टरनेट जडान, गाउँपालिकामा विद्युत लाइन विस्तार, खानेपानी तथा सरसफाइमा निरन्तरता लगायत शैक्षिक गुणस्तरका लागि थुप्रै काम गरिएको उनले बताए ।
गाउँपालिकामा कानुनी जटिलता समाधानका लागि परामर्शदाताबाट सहयोग लिएरै अति आवश्यकीय कानुन निर्माण गरिएको छ । ‘समयमा पर्याप्त जनशक्ति नआउँदा गाउँपालिकाले निकै चुनौती खेप्नु प¥यो’ अध्यक्ष चन्दले भने, ‘हालसम्म पनि विषयगत कार्यालयका शाखा खुल्न सकेका छैनन् ।’ उनले भौगोलिक विकटतालाई सरकारले गत वर्ष विनियोजन गरेको बजेटले पर्याप्त सम्बोधन गर्न नसकेको गुनासो गरे ।
सिम्ता गाउँपालिकाले पनि अघिल्लो आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनलाई प्रगतिका रूपमा लिएको छ । उज्यालो सिम्ता, जनतासँग सिम्ता गाउँपालिका लगायतका महŒवकांक्षी कार्यक्रम ल्याएको गाउँपालिकाले सफलता प्राप्त भएको दावी गरेको छ । ‘करिब ८० प्रतिशत योजना कार्यान्वयन भएका छन्’ गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले भने, ‘चक्रपथ निर्माण, सिम्तामा विद्युतिकरणलगायतका कार्यक्रम सफल भएका छन् ।’ उनले गाउँपालिकाका सबै वडाहरूमा पहुँच मार्ग निर्माण, ज्येष्ठ नागरिकका लागि चौमासिक उपचार शिविर सम्पन्न गरिएको बताए । समग्र कर्णाली प्रदेशमा ५२ प्रतिशत गरिबी रहेको तथ्याङ्क सार्वजनिक भएपछि गाउँपालिकाले पहिलो पटक गरिबी दर र अवस्थाका बारेमा तथ्याङ्कसमेत संकलन गरेको छ । स्थानीय सरकारको तर्फबाट पहिलो पटक गरिबी नक्साङ्कन गरिएको छ’ अध्यक्ष केसीले भने, ‘यहाँको गरिबी, जनताका आवश्यकतालाई समावेश गरी सिम्ता गाउँपालिकाले आगामी योजना निर्माण गरेको छ ।’ उनका अनुसार अघिल्लो आर्थिक वर्षमा बनेका गुरुयोजना कार्यान्वयनसँगै जनताका आवश्यकता समेट्ने गरी आगामी नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने तयारी थालिएको छ ।
सिम्ता उज्यालो कार्यक्रम, सहिद ऋषि मार्ग निर्माण, सिम्तादेखि प्रदेश राजधानी वीरेन्द्रनगर द्रूतमार्ग निर्माण, जनतासँग सिम्ता गाउँपालिका लगायतका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखिएको छ । यस्तै, शिक्षा, स्वास्थ्य,
खानेपानी लगायतका जनआवश्यकतालाई समेट्ने गरी नीति तथा कार्यक्रम र योजना तयार पारिएको अध्यक्ष केसीले बताए ।
गुर्भाकोट नगरपालिकाले पनि स्थानीय जनताका आवश्यक र दीर्घकालीन विकास हुने गरी नीति तथा कार्यक्रम र योजनालाई प्राथमिकता दिएको छ । ‘वर्तमान आवश्यकता भनेकै पूर्वाधार निर्माण हो’ नगरपालिकाका प्रमुख हस्तबहादुर पुनले भने, ‘सडक सञ्जाल, कृषिसँगै सामाजिक र आर्थिक विकासमा टेवा पुग्ने गरी योजना निर्माण गरिएको छ ।’ उनले कानुनी जटिलता भए पनि प्रगति सन्तोषजनक नै रहेको बताए । उनका अनुसार ७५ किलोमिटर सडक निर्माण, १२ किलोमिटर ग्राभेल सडक निर्माण, ११ किलोमिटर विद्युतलाइन विस्तार, चार वटा वडाका वडा कार्यालय स्थापना, नगरपालिकाको कार्यालय निर्माण लगायतको प्रगति अघिल्लो आर्थिक वर्षमा भएको बताए ।
यस्तै, भेरीगंगा नगरपालिकाले पनि चालु आर्थिक वर्ष सन्तोषजनक प्रगति भएको बताएको छ । नगरपालिकाका प्रमुख भुपेन्द्रबहादुर चन्दले स्थानीय सम्भावनालाई मध्यनजर गरी बजेट सार्वजनिक गर्ने तयारी थालिएको बताएका छन् । उनले कृषि र शिक्षालाई नगरपालिकाले पहिलो प्राथमिकतामा पारी आगामी बजेट, नीति तथा योजना निर्माण गर्ने बताए । आर्थिक वर्ष २०७४÷०७५ मा सन्तोषजनक प्रगति रहेको भन्दै उनले आगामी वर्षदेखि सतप्रतिशत काम हुने गरी योजना बाँडफाँड गरिने बताए । उनका अनुसार नगरसभाको तयारी पुरा भएको छ ।

प्रकाशित मितिः   १० असार २०७५, आईतवार १०:३९