मेरो सपना स्टाफ नर्स

हरेक व्यक्तिको जीवनमा एउटा सपना हुन्छ । ठूलो भएर आफ्नो चाहना अनुसारको काम गर्ने र समाजमा इज्जत कमाउने । जाजरकोटकी बिना शाहीको पनि यस्तै एउटा सपना थियो । भेरी नगरपालिका–२ जाजरकोटमा जन्मिएकी बिनाको पनि सानैदेखि स्टाफ नर्स बनेर बिरामीहरुको सेवामा समर्पित हुने सपना थियो । परिवारको खुशी र आफूले देखेको सपना पूरा गर्नकै लागि मेहेनत गरेकी बिनाले श्री लक्ष्मी माध्यमिक विद्यालय ढिमी–५, खुप्रा, जाजरकोटबाट २०६९ सालमा एसएलसी पास गरिन् । छोरीको चाहना नै आफ्नो खुशी ठानेका परिवारले समेत उनलाई स्टाफ नर्स नै पढाउने निधो गरे । बुबाआमाको सहयोगले बिनालाई आफूले चाहेको विषय अध्ययन गर्न राम्रो अवसर मिल्यो । बाल्यकालदेखि नै चञ्चले स्वभावकी बिनाको भविष्यको लक्ष्य भनेको स्वास्थ्य सेवाबाटै सरकारी सेवामा प्रवेश गर्ने हो । विकसित सहरी क्षेत्रमा भन्दा पनि औषधि अभावमा उपचारको पहुँचमा पुग्न नसकेकाहरुको जीवन रक्षाका लागि सेवामा समर्पित हुने बिनाको इक्षा छ । पढाइ बाहेक अन्य क्षेत्रमा खासै रुचि नराख्ने बिना शाहीको कलेज लाईफबारे साझा बिसौनी सहकर्मी सीता वलीले गरेको कुराकानी ः

स्वास्थ्य क्षेत्रमा मेरो सानैदेखिको रहर
म वि.सं. २०५५ साल कार्तिक २५ गते बुबा भरतविक्रम शाही र आमा कमलादेवी शाहीको कोखबाट जन्मिएकी हँु । हामी पाँच भाइ–बहिनीमध्ये म घरकी माइली छोरी हो । मलाई सानैदेखि स्वास्थ्य क्षेत्रमा काम गर्ने रुचि थियो । त्यसैेले मैले विद्यालयको पढाइमा समेत विशेष ध्यान दिएँ । प्राविधिक क्षेत्रमा अलि बढी मेहेनत नगरी सफल भइदैन भन्ने लागेकाले एसएलसीमा प्रथम श्रेणी ल्याउनका लागि निकै मेहेनत गरेर पढें र ल्याए पनि । श्री लक्ष्मी माध्यमिक विद्यालय जाजरकोटबाट मैले एसएलसी पास गरें । बुबाआमाको सल्लाह र मेरो ईच्छा अनुसार मैले स्टाफ नर्स पढ्ने निधो गरेर वीरेन्द्रनगर सुर्खेत झरे ।
कलेजको पहिलो दिन
गाउँबाट सहरमा आएकी मलाई कलेजमा कस्तो हुन्छ भन्ने खासै थाहा थिएन । हामीभन्दा अगाडि पढ्न आएका दाइहरूले भनेका कुरालाई मनमा राखेर कलेजमा भर्ना भएँ । कलेजको पहिलो दिन मलाई एकदमै नरमाइलो लाग्यो । त्यति टाढाँबाट पढ्न आएँ तर यहाँ चिनेका साथीभाइ कोही नभेटाउँदा नरमाइलो लाग्यो । सानैदेखिको सपना पूरा गर्नको लागि बिरानो ठाउँमा एक्लै संघर्ष गर्नुको अर्को विकल्प थिएन । म एक्लै परे पनि कलेजबाट घर फर्किँदा भने मनमनै रमाइलो पनि महसुस हुन्थ्यो । किनभने मेरो सानैदेखिको सपना त पूरा भएको थियो । पढ्दै गर्दा साथीहरू त बनाइहाल्छु नि भन्ने मनमा सोचिरहें ।
कलेजको पढाइ र विद्यालयको पढाइमा अवश्य पनि फरक त भइ नै हाल्छ । त्यसमा पनि स्वास्थ्य क्षेत्रमा विशेष किसिमको नियम हुन्छ । विद्यालयमा प्रत्यक्ष रूपमा शिक्षकहरूले विद्यार्थीहरूलाई निगरानी गर्नुहुन्छ र गल्ती गरे सम्झाउने भन्दा पनि सजाय दिनेतर्फ बढी ध्यान हुन्छ तर कलेजमा भने मैले त्यस्तो वातावरण पाइन । कलेजमा विद्यार्थीहरूले गल्ती गरे पनि शिक्षकहरूले विद्यार्थीलाई आग्रह गर्दै सम्झाउनुहुन्छ । र कलेज लाइफमा सजाय भने भोग्नुपर्दैन ।
कलेज बाहेक मैले घरमा चार घण्टा जति पढ्ने गर्दछु । कलेज लाइफमा सबैभन्दा मनपर्ने पक्ष भनेको आफूले गल्ती गरेको खण्डमा शिक्षकहरूले सजाय दिने भन्दा पनि सम्झाइ–बुझाइ गर्नमै प्रेरित गर्नुहुन्छ । मलाई यो विधि निकै मन पनि पर्छ । आफूले नजानेका कुरा सजिलै राख्न सकिन्छ, सबै मन मिल्ने साथीहरूबीचमा आफ्नो समस्या साटा–साट गर्नुको मजा छुट्टैछ । अहिले त गाउँतिरका साथी भन्दा कलेजकै साथी नजिक लाग्छन् । सधैं नजिक भएर पनि होला सायद ।
समाजसेवा मेरो परिवारको रुचि हो
समाजसेवा मेरो परिवारकै शोख हो । मेरो बुबा शिक्षक हुनुहुन्छ र आमा व्यापारी । मेरो बुबाआमाको पनि समाज सेवामा असाध्यै रुचि छ । मलाई पनि त्यो वातावरणले छोएको छ । मैले स्वास्थ्य क्षेत्रमै रहेर समाजको सेवा गर्न पाउँ भन्ने सोचेकी छु । बुबा–आमाको ईच्छा छोरीले सरकारी जागिर खाओस् भन्ने छ । मैले पनि स्वास्थ्य क्षेत्रबाट सरकारी सेवामा छिरेर समाजको सेवा गर्ने योजना बनाएकी छु ।
मलाइै राजनीतिमा पटक्कै रुचि छैन । बरु साथीहरूसँग मिलेर घुम्न भने मलाई असाध्यै मनपर्छ । प्रेम एकअर्काप्रतिको विश्वास हो, दुःख–सुख साट्ने माध्यम हो । मैले प्रेमीलाई गर्ने प्रेम त गरेको छैन घरपरिवार, आफन्त र साथीहरूलाई भने म भुल्न सक्दिन । मलाई फिल्म हेर्न भने एकदमै मनपर्छ । म धेरै पटक साथीहरूसँग मिलेर फिल्म हेर्न गएको छु । क्लास बंक नै गरेर भने कहीं गएको छैन ।
म मेरो हजुरबुबाको मृत्युमा दुःखी भएकी थिएँ
जीवनमा म त्यति धेरै दुःखी सायदै कहिल्यै भएकी थिइनँ । जतिबेला मेरो हजुरबुबाको मृत्युको खबर मलाई आइपुग्यो । २०७१ सालमा मेरो हजुरबुबाको मृत्यु भएको हो म एकदमै दुःखी भएकी थिएँ । मेरो हजुरबुबाले मलाई निकै माया गर्नुहुन्थ्यो । उहाँको मृत्युले म कतिदिनसम्म रोइरहें । दुःख बाहेक खुुशीको पनि क्षण मसँग छ । मैले सानैदेखि नर्सिङ्ग पढ्ने सपना बोकेको थिएँ त्यसैको लागि मैले सुर्खेत एजुकेशनल डेभलपमेन्ट ऐकेडेमीमा प्रवेशिका परीक्षा दिएँ । परीक्षा दिनेमध्ये सबैको नाम निक्लिने कुरा पनि भएन, मलाई एकदमै डर लागिरहेको थियो । कतै मेरो सपना पूरा नहुने पो होकि भनेर, तर मेरो नाम प्रवेशिका परीक्षामा निस्कियो । त्यो मेरो सबैभन्दा खुशीको क्षण थियो ।
मेरो जीवनको लक्ष्य प्राप्तिको महसुस मलाई त्यो दिन भएको थियो । म मध्यम परिवारमा जन्मिएको मान्छे त्यति धेरै दुःख संघर्ष पनि गर्नु परेन र त्यति सुख सयल मा पनि बाँच्न सकिएन । अब मेरो अन्तिम ईच्छा स्वास्थ्य क्षेत्रबाट सरकारी सेवामा छिरेर समाजको सेवा गर्ने नै हो ।

प्रकाशित मितिः   ९ असार २०७५, शनिबार १०:२७