‘एक्ली छोरी, दुःख के हो थाहै भएन’

सोशीला शाही कर्णाली प्रदेश सभाका सांसद हुन् । वि.सं. २०२६ साउन ६ गते कालिकोटको तत्तकालीन रुस्पा गाविस (हाल नरहरिनाथ गाउँपालिका)मा बुबा कुलबहादुर सहकारी र आमा प्रेमकला सहकारीको कोखबाट जन्मिएकी हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको गाउँकमिटीको सदस्यबाट राजनीतिमा प्रवेश गरेकी शाही क्षेत्रीय कमिटी हुँदै कालिकोटकको जिल्ला सदस्य बनेकी उनी राप्रपाको महिला संगठनको कालिकाट जिल्ला अध्यक्ष पनि हुन् । प्रदेशसभाको निर्वाचनमार्फत् समानुपातिक कोटाबाट कर्णाली प्रदेशसभा सदस्य बनेकी शाहीले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी गरिन्ः

म घरको एक्ली छोरी । बुुबा–आमाको मायाममतामै हुर्किएँ । गाउँघरमै हुर्किएँ । अझै पनि म जन्मिएको ठाउँमा बाटो पुगेको छैन । ठूला–ठूला पहाड, डाँडाँहरू हुन्थे । लडिने हो की भन्ने चिन्ता हुन्थ्यो । म बुबा–आमाको एक्लो सन्तान भएकाले दुःखको अनुभव गर्न परेन । मेरो बाल्यकाल खेल्दै रमाउँदै बित्यो ।
बाल्यकालमा पढ्न भन्दा पनि साथीहरूसँग खेल्न मन लाग्ने । नौ वर्षको उमेरमा विद्यालय भर्ना भएँ । जनता माविमा कक्षा एकमा भर्ना भएको थिएँ । विद्यालय जान एक घण्टा हिँड्नुपथ्र्यो । उकालो र ओरालो हिँड्नु पथ्र्यो । विद्यालय जान धेरै गाह्रो हुने । केही दिन विद्यालय गएँ । त्यसपछि विद्यालय गइनँ । यहाँको भौगोलिक अवस्थाले विद्यालय जान सक्ने अवस्था थिएन् । त्यसबेलामा छोरीलाई पढाउनुपर्छ भन्ने मान्यता थिएन । बरु घरकै काम सिकाउन सक्यो भने राम्रो हुन्छ भन्ने थियो । छोरीहरू पढ्नै जाँदैन्थे । मलाई मेरो बुबाआमाले विद्यालय भर्ना गरिदिए पनि भौगौलिक विकटताले गर्दा विद्यालय जान सकिनँ । बुबाआमाले मलाई पढ्न धेरै कर गर्नुहुन्थ्यो । बुुबा आमालाई पनि डर हुन्थ्यो, एक्लो सन्तान बाटोमा केही भयो भने के गर्ने ? त्यसकारण पनि मलाई बुबाआमाले आफ्नो आँखा वरिपरि नै भएको देख्न चाहनुहुन्थ्यो । पछि मैले १३÷१४ वर्षको भएपछि प्राइभेटबाट पढेर कक्षा आठ उत्तीर्ण गरें ।
बाल्यकालमा प्रायः यस्तै हुनेरहेछ, आमाबुबाको मन छोराछोरीमाथि अनि छोराछोरीको मन ढुुङ्गामुढामाथि । बुबा–आमाले मलाई कतै नगइदिएको भए हुन्थ्यो भन्ने चाहनुहुन्थ्यो । तर मलाई साथीहरूसँगै गएर खेल्न पाएको भए भन्ने लाग्थ्यो । म भाागेर साथीहरूसँग खेल्न जान्थें । बुबाआमाले नजा भनेर कर गर्नुहुन्थ्यो । त्यहाँ नजिकै भेरी खेला थियो । हामी प्राय त्यही जान्थ्यौं । खोलाले बगाएर छोरी मरिहाल्छ की भन्ने चिन्ता बुबा–आमालाई हुन्थ्यो । म भागी–भागी साथीहरूसँग खेल्न जान्थें ।
बुबाआमाले खेती किसानी गर्ने भएको कारण प्रायः खेतबारीमा नै जानुहुन्थ्यो । एक दिन बुबा–आमाले मलाई यो भागेर खेल्न जान थालि भनेर घरमै थुनेर खेत जानुभएछ । म रुँदा–रुँदा बेहोस नै भएछु । पछि बुबाले यसलाई केही गरी हुँदैन भनेर आफैसँग खेतबारीमा लैजानुहुन्थ्यो । मलाई काम गराउनु हुँदैन्थ्यो । बुबाआमा काम गर्नुहुन्थ्यो । म खेल्थें । टाढाबाट साथीहरूले बोलाएभने बुबाआमालाई थाहा नै नदिएर भाग्थें । हाम्रै वरीपरी मात्र खेल भनेर बुबा सम्झाउनुहुन्थ्यौं । साथीहरूसँग भेट भयो भने रमाइलो लाग्थ्यो । डन्डिबियो, ढुङ्गाको गोट्टा बनाएर खेल्थ्यौं ।
आमाले मलाई पानी लिन जाँदा पनि सँगै लिएर जानुहुन्थ्यो । घरदेखि पानी लिन जान करिब एक घण्टा भन्दा बढी लाग्थ्यो । अझै पनि सम्झना छ । आमाले ठूलो तामाको ग्रागी डोकामा बोक्नुहुन्थ्यो अनि मलाई काँधमा राख्नुहुन्थ्यो । पछि ठूलो हुँदै गएपछि आमालाई दुःख हुन्छ भनेर म आफै गइनँ । बरु घरकै काम गर्छु भन्थें । बुबाआमाले काम नगराए पनि ठूलो हुँदैगएपछि सबै काम सिक्नुपर्छ भन्नुहुन्थ्यो । कहिले काहीं बुबाआमा मेलापातबाट आउन ढिलो गर्दा जानी–नजानी भए पनि रोटी पकाउँथे ।
सानोमा कहिले पनि बदमासी गरिनँ । इमान्दारिता हुनुपर्छ भन्ने लाग्थ्यो । कसैले झुट बोल्यो भने मलाई मन पर्दैनथ्यो । घमण्ड ग¥यो भने पनि मन पर्थेन । मैले कहिल्यै पनि घमण्ड गरिनँ । सहयोगी भावना थियो । कसैलाई सहयोग गर्नुपर्छ भन्ने लाग्थ्यो ।
पहिला खोलाहरूमा माछा मार्नेहरू धेरै हुन्थे । गाउँघरका खोलामा बर्खाको समयमा आएको भेलमा हातले नै समातेर माछा मार्थे । प्रायः बुबा माछा मार्न जानुहुन्थ्यो । ठूला–ठूला माछाहरू पनि हातले नै समातेर मार्न सकिन्थ्यो । एक दिन बुबासँगै म पनि खोला गएको थिएँ । खोलाको किनारामा मलाई राखेर बुबा माछा मार्न थाल्नुभएको थियो । माछा भनेर बुबाले ठूलो सर्प समात्नुभएछ । धन्न बुबालाई टोकेन । कति ठूलो माछा भनेर हेर्दा हातमा सर्प देखेपछि बुबाले फाल्दा म तिर फाल्नुभयो । सर्प एकैठाउँमा बेरिएर म तिर भएर उभियो । बुबाले अब छोरी मर्छे भनेर माया मारिसक्नुभएको थियो रे । मैले त्यो सर्पलाई नमस्ते गरें त्यसपछि त्यो सर्प आफै मलाई केही नगरी गयो । म सानोमा भगवानप्रति आस्था पनि राख्थें । पूजापाठ गर्ने भनेपछि मलाई असाध्यै मन पथ्र्यो ।
पहिले छोरा–छोरीलाई सानै उमेरमा कन्यदान दियो भने पूण्य कमाइछ भन्ने थियो । मागेर नै विवाह हन्थ्यो । छोरीलाई सानै उमेरमा नै विवाह गरिदिने हुुन्थ्यो । घर हेरेर बुबा–आमाले छोरी दिन्थे । मेरो छोरी पाल्न सक्छकी सक्दैन भनेर सबै बुझेर छोरी दिन्थे । मेरो बुबा–आमाले म १३ वर्ष हुँदा नै बिहेको कुरा टुङ्गो लगाइसक्नु भएको थियो । छोरीलाई धेरै टाढा नपठाउने सकेसम्म आफ्नै वरिपरि दिने उहाँको सोच थियो । मेरो मामाघर भएको गाउँमा नै मेरो विवाहको कुरा टुङ्गो लागेको थियो । विवाहको कुरा भएको करिब ३ वर्षपछि मेरो बिवाह भयो । १६ वर्षकै उमेरमा विवाह भए पनि म माइति घरमै बसें । बुबाआमाले छोरी सानी छ भनेर केही समय माइती घरमै राख्नुभयो । १८ वर्षपछि म आफ्नो घर गएँ । सानोमा खेल्नुका साथै कहिले काहीं घाँस दाउरा पनि गरिन्थ्यो । साथीहरूसँग मेलापात गएको सम्झना अझै पनि छ । प्रायः हामी दई जना साथी एकदमै मिल्ने गथ्र्यौं । केही काम गर्दा, मेलापात जाँदा सँगै जाने गथ्र्यौ । पछि उनीको उनको मृत्यु भयो । अहिले पनि उनको सम्झना आउँछ । बाल्यकालमा आफैसँग खेलेको सँगै हुर्किएको साथी गुमाउँदा पीडा भयो । अहिले पनि सम्झदा दुःख लाग्छ ।

प्रकाशित मितिः   ४ असार २०७५, सोमबार १६:४४