विद्युत कार्यालय समाधानको उपाय होइन, गुनासो सुनाउँछ
साझा बिसौनी संवाददाता
सुर्खेत, २९ जेठ ।
नेपाल विद्युत प्राधिकरणको सुर्खेतस्थित कार्यालयमा मंगलवार गुनासो सुनाउनेहरूको घुइँचो थियो । पछिल्लो समय जिल्लामा विद्युत आपूर्ति अनियमित भएको र भोल्टेजसमेत कम भएको गुनासो सुनाउन उनीहरू पुगेका थिए । छुट्टाछुट्टै समूहमा गरी कार्यालयमा गुनासो पोख्न पुगेका सेवाग्राही र व्यवसायीहरूले आफ्नो समस्या सुनाउन नपाउँदै विद्युत कार्यालयले उल्टै आफ्नो गुनासो सुनायो ।
विद्युत सेवा भरपर्दो नहुँदा हैरान बनेका वीरेन्द्रनगरका व्यवसायी र सेवाग्राही गुनासो सुनाउन जब कार्यालयमा पुगे, तब कार्यालयका प्रमुख सुरज भण्डारीले उनीहरूका कुरा सुन्नेतर्फ भन्दा पनि उल्टै कार्यालयको गुनासो सुनाए । आफ्नो कार्यकक्षमा आएको व्यवसायीहरूलाई कार्यालय प्रमुख भण्डारीले विद्युत सेवा प्रभावकारी बनाउने उपाय र तयारीबारे जानकारी दिएनन् । बरु कार्यालयले भोगेका समस्याहरूको पोको फुकालेर व्यवसायीहरूलाई आफ्ना गुनासाहरू सुनाउने काममा समय खर्च गरे । गुनासो सुनाएर समाधानको आश्वासन पाउने अपेक्षासहित गएका व्यवसायीहरू अन्त्यमा निराश भएर फिर्ता भए ।
जिल्लामा कम भोल्टेजका कारण आफूहरू हैरान भएको र व्यवसाय नै धरापमा परेको भन्दै व्यवसायीहरू समस्या समाधानका लागि दबाब दिन कार्यालयमा पुगेका थिए । तर विद्युत कार्यालयमा पुगेका उनीहरूलाई कार्यालय प्रमुख भण्डारीले भने, ‘कोहलपुरदेखि सुर्खेत जोड्ने १३२ केभी प्रशारण लाइन निर्माण नभएसम्म, सुर्खेतमा विद्युतको समस्या समाधान हुनै सक्दैन, यस्तै समस्या भइरहन्छ, हामीले अहिले नै समाधान गर्नसक्ने अवस्था छैन ।’ कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आवश्यकता अनुसारको विद्युत आपूर्ति गर्न कार्यालयले केन्द्रीय निकायमा पटक–पटक पत्राचार गर्दासमेत सुनुवाइ नभएको दुखेसो प्रमुख भण्डारीले सुनाए । ‘यहाँको आवश्यकता अनुसार तत्काल विद्युतको आपूर्ति गर्न नयाँ ट्रान्सफर्मर परिवर्तन आवश्यक छ, अरु कुनै उपाय नै छैन’ उनले भने, ‘कोहल्पुर–सुर्खेत विद्युत प्रशारण लाइन बर्दिया राष्ट्रिय निकुञ्जको भित्रबाट आएको छ, सामान्य हावाहुरी चल्दासमेत ढलेका रुखहरूले विद्युत अवरोध भइदिन्छ ।’
हावाहुरीका कारण विद्युतमा भएको क्षतिका बारेमा जानकारी ढिला आउने भएकाले पनि लामो समयसम्म विद्युत आपूर्ति बन्द हुने गरेको उनको भनाइ थियो । विद्युत आपूर्ति नियमित गर्न २४ घण्टे सेवामा कर्मचारी परिचालन गरिएको उनले बताए । साथै विद्युत अवरोध भएको खबर पाएलगतै मर्मतका लागि जनशक्ति परिचालन गरिदैं आएको उनले जानकारी दिए । ‘लो भोल्टेज’ समस्या समाधानका लागि ट्रान्सफर्मर अभाव भएकाले अब स्वयम् व्यापारीले खरिद गर्न भण्डारीले आग्रह गरे ।
प्राधिकरणमा राखिएको ‘हेल्लो विद्युत’ हटलाइनमा मात्रै होइन्, पछिल्लो समय विद्युत पूर्णरूपमा आपूर्ति कहिले हुन्छ ? भन्दै दैनिक जसो कार्यालयमा पुग्ने सेवाग्राहीको घुइँचो नै लाग्ने गरेको छ । चर्काे गर्मीसँगै विद्युत खपत बढेपछि प्राधिकरणमा गुनासो सुनाउनेहरूको ओइरो लाग्ने गरेको हो । कार्यालयमै पुगेर सुनाइने गुनासो सुन्दै हैरान परेका प्राधिकरण प्रमुख भण्डारीले अहिले उल्टै सेवाग्राहीलाई नै समस्या सुनाउने गरेका छन् ।
औद्योगिक क्षेत्रमा लोडसेडिङ्ग अन्त्य भए पनि प्रयाप्त विद्युतको आपूर्ति नहुँदा आक्रोशित बनेका व्यवसायीहरूले कार्यालय प्रमुखको समस्या सुनेरै फर्किए । विद्युत कार्यालयको गुनासो सुनेपछि त्यहाँ पुगेका व्यवसायीले समाधानका लागि भएका पहलहरूसमेत सोध्ने आँट गरेनन् ।
‘जनताका भन्दा विद्युत कार्यालयका समस्या धेरै रहेछन्’ निराश हुँदै एक व्यवसायीले भने, ‘दिनको तीन सय लिटर तेल (पेट्रोल÷डिजेल) खर्चेर कति दिनसम्म व्यापार चल्ने हो खै ?’ विद्युत प्राधिकरणले देशभर लोडसेडिङ्गमक्त घोषणा गरे पनि सुर्खेतमा त्यसको कुनै प्रभाव परेको छैन । विगतदेखि नै सुर्खेतका व्यवसायीहरूले गर्मि मौसममा विद्युत आपूर्तिमा समस्या खेपिरहेका छन् । ‘विद्युत आए÷नआएको कुनै अर्थ छैन्’ व्यवसायी शेरबहादुर शाहीले भने, ‘समय निर्धाणर गरेर बरु लोडसेडिङ्ग नै गरे उपयुक्त हुन्छ ।’ सरकारले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेपछि व्यवसायीहरू थप मारमा परेको उनको गुनासो छ ।
साझा बिसौनी संवाददाता ।