इमान्दारिताले व्यापारमा सफलता
वीरेन्द्रनगर–३ यरीचौकका टिकाबहादुर वलीको सानैदखीको सपना राम्रो खेलाडी बन्ने थियो । खेल खेलेरै देशको लागी केही गरौंला भन्ने सोचले प्रविणता प्रमाणपत्र तहसम्म पढेका टिकाको जीवनले अर्कै मोड लियो । जसले टिकालाई नाम र दाम दुवै दिएको छ । बुबा कृष्णबहादुर वली र आमा खगीसरा वलीको कोखबाट वि.सं. २०३३ असोज ६ गते जन्मिएका हुन् । बर्दियाको सानोश्री–५ मा जन्मिएका टिकाले कर्मथलो भने सुर्खेतलाई गराउँदै आएका छन् ।
वि.सं. २०५५ सालमा जम्मा २० हजार रूपैयाँको लगानीका खुद्रा पसल सुरु गरेका टिकाले अहिले भने वार्षिक करिब १५ करोडको कारोबार गर्दै आएका छन् । ईमान्दारिता नै व्यापारिक सफलताको आधार हो भन्ने मान्यता भएका उनीसँग बीस वर्षको व्यावसायिक अनुभव छ । आफ्नो व्यावसायिक जीवनका आरोह–अवरोहहरू उनले हाम्रा सहकर्मी सीता वलीसँग यसरी साटेका छन्ः
चार भाइ बहिनीमध्ये म घरको एक्लो छोरो । बर्दियाको सानोश्रीमा जन्मथलो भए पनि मेरो कर्मथलो सुर्खेत बनेको छ । प्रविणता प्रमाणपत्र तहसम्मको पढाइ गर्दैगर्दा मेरो सपना राम्रो खेलाडी बन्ने थियो । खेलाडी बन्ने सपना बोक्दा–बोक्दै मैले २०५५ सालमा व्यावसाय सुरु गरेको हुँ । मलाई व्यवसायमा उत्प्रेरित गर्ने मेरो पुुसाइ इन्द्रबहादुर खत्री हुनुहुन्छ । दैलेखमा पुसाइको पसलमा रिटोलिङ काम गर्थें । त्यही काम गर्दागर्दै व्यवसायप्रति चासो बढेपछि २० हजारको लगानीमा आफैले व्यवसाय सुरु
गरेको हु ।
२० हजारबाट लगानी गरेको मेरो व्यवसायमा अहिले करिब वार्षिक १५ करोडको कारोबार हुने गर्दछ । १५ जनालाई यही व्यवसायबाट रोजगारी दिएको छु । कर्मचारीको मासिक तलब मात्रै तीन लाख आउँछ । सबै किसिमका खाद्य तथा खुद्रा व्यापार मैले अझै छोडेको छैन । मैले व्यवसाय सुरु गर्दा नै खुद्राबाटै सुरु गरेको थिएँ । सुर्खेत जिल्लाका सबै स्थानमा मैले सामान पु¥याउने गरेको छु । त्यो बाहेक दैलेख, कालिकोट, जुम्ला लगायतका जिल्लामा समेत सामान ढुवानी गर्दै आएको छु । मलाई व्यवसायमा बुबाआमाले पनि सघाउनु हुन्छ र मेरो जीवनसंगीनी मञ्जु खड्काले समेत सघाउँदै आएकी छन् ।
हाम्रो १२ जनाको परिवार छ । बहिनी–ज्वाइँ र भान्जा–भान्जी, बुबा–आमा अनी मेरा तीन जना छोराछोरी र हामी दुई जना । सबै परिवारले एउटै चुल्होमा खान्छौं । सबैलाई खुशी पार्नसक्नु मेरो जीवनको सफलता हो । म मध्यम वर्गीय परिवारमा जन्मिएको हुँ । बुबाआमा पहिले कृषि गर्नुहुन्थ्यो । मैले व्यवसाय सुरु गरेदेखि सबैलाई व्यावसायमा व्यस्त बनाएको छु । पेसा अरु पनि थिए तर व्यवसाय नै मैले स्वतन्त्रताको लागि रोजेको हुँ ।
अन्य पेसामा अरुको अण्डरमा काम गर्नुपर्ने हुन्छ । तर आफ्नो व्यवसायमा भने स्वतन्त्रता हुन्छ । सकेसम्म आफू अरुकोमा रोजगार खोज्न जानुभन्दा अरुलाई रोजगारी दिने उद्देश्यले यो व्यवसाय सुरु गरेको हुँ । व्यवसायबाटै कमाएका दुई वटा बोलेरो गाडी, एउटा स्कार्पियो, एउटा ट्रक र ट्याक्टर छन् । व्यवसाय भने मेरो आफ्नै घरमा सञ्चालन गर्दै आएको छु । अझै धेरै बेरोजगारहरूलाई रोजगारी सिर्जना हुने गरी व्यवसाय बढाउन मन छ ।
मलाई राजनीतिमा कुनै ईच्छा छैन बरु समाज सेवा गर्न मन छ । सफल व्यवसायी बन्नको लागि ईमान्दारिता सबैभन्दा ठूलो कुरा हो । सबै ग्राहकको मन जित्न सकिएन र लगनशील भइएन भने व्यवसायमा सफल हुन सकिदैंन । जीवनमा नसक्ने कुरा पनि केही छैन । सबैकुरा सम्भव छ तर इमान्दार हुनु जरुरी छ । म मेरो पेसाप्रति गर्व गर्छु जसले सफल व्यावसायी भनेर चिनाएको छ र रोजगारदाता बन्ने मौका पनि दिएको छ ।
व्यवसायमा ईमान्दार हुन सकिएन भने सफलता प्राप्त गर्न पनि सकिदैंन । मेरो २० वर्षको व्यवसायिक अनुभवले मलाई सिकाएको ज्ञान हो, यो ।
साझा बिसौनी संवाददाता ।