पढाइमा अब्बल, बदमासीमा पनि अगाडि
पृथ्वीबहादुर सिंह कुनै समय पूर्णकालीन राजनीतिमा सक्रिय थिए । अहिले भने लेखनमा व्यस्त छन् । उनी वि.सं. २००९ साल कार्तिक २९ गते बुबा टिका सिंह र आमा कस्तुरीकुमारी सिंहको कोखबाट सुर्खेतको सिम्ता गाउँपालिकाको बजेडीचौरमा जन्मिए । वि.सं. २०२६ सालदेखि राजनीतिमा प्रवेश गरेका सिंह २०४९ सालको स्थानीय निकायको निर्वाचनमा तत्तकालीन नेकपा एमालेबाट बजेडीचौर गाविसकाको अध्यक्षमा निर्वाचित भएका थिए । वि.सं. २०५३ बाट पत्रकारिता र लेखनमा सक्रिय उनले कविता संग्रह, यात्रा संस्मरण, लेख संग्रह लगायतका पुस्तकहरू प्रकाशन गरेका छन् । सुर्खेतमा पत्रकारिता विकासको सुरुवाती चरणमा उनले सक्रियतापूर्वक पत्रकारिता गरेका थिए । आफ्नो नयाँ पुस्तकको तयारीमा रहेका सिंहले हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेका छन्ः
म घरको जेठो छोरा छुँ । म पछि तीन बहिनी र दुई जना भाइ छन् । म १० महिनाको हुने बेलासम्म निकै रुन्थें रे । म रुँदा बुबाआमाले राती पनि झलुङ्गोमा सुताउनुहुन्थ्यो रे । त्यसबेलामा गाउँघरमा अहिले जस्तो विद्यालय थिएनन् । पढ्नुपर्छ भन्ने चेतना धेरैमा थिएन । गाउँमा एक जना गुरु हुनुहुन्थ्यो । उहाँले पहिला अक्षर चिन्न सिकाउनु हुन्थ्यो अनि चण्डी लगायतका धार्मिक किताबहरू पढाउनुहुन्थ्यो । गाउँमा केहीलाई एकै ठाउँमा राखेर पढाउनुहुन्थ्यो । हुनेखानेहरू र बुझेकाहरूले छोराहरूलाई मात्र गुरुकोमा पढाउन पठाउँथे । हामीसँग कापिकलम हुँदैनथ्यो । सल्लाको कालोपाटी बनाएर पढ्ने बेलामा लिएर जान्थ्यौं । यति कक्षा भन्ने हुन्थेन । मैले करिब ३ वर्षसम्म गुरुकोमा पढें । वि.सं. २०१७ सालपछि गाउँमा प्राथमिक तहको विद्यालय खुल्यो । नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सिमलमा खुलेपछि मैले त्यहाँ कक्षा १ देखि पढ्न सुरु गरें । डिलबहादुर अधिकारी शिक्षक हुनुहन्थ्यो । उहाँले पढाउनु भयो । मैले त्यहाँ कक्षा ४ सम्म पढें । मेरो पढाइ राम्रो थियो । म प्रायः प्रथम नै हुन्थें । कक्षा ४ मा पछि मैले एकै पटक कक्षा ६ मा पढेको हुँ । त्यसबेलामा बजेडीचौरमा निमावि तहको विद्यालय खुल्यो । त्यसपछि मैले भानु निमाविमा कक्षा ६ देखि पढाइ सुरु गरेको हुँ ।
मलाई सानोमा कविता भन्न धेरै मनपथ्र्यो । किताबमा भएको कविता कण्ठ गरेर पढ्थ्यौं । सानोमा खेल्ने र पढ्नभन्दा पनि खेल्न नै बढी मन लाग्थ्यो । खेलकुदमा बढी रुचि थियो । त्यतिबेला चलेका खेलहरू भनेका डन्डीवियो, कपर्दी, भकुण्डो नै हुन्थ्यो । खेलहरूको अगुवाइ पनि मैले नै गर्थें । कक्षामा सबैभन्दा जान्ने विद्यार्थी भनेर मैले नै नेतृत्व लिने गर्थें । साथीहरू मिलेर खोलामा पौडी खेल्न, माछा मार्न जान्थ्यौं । कहिले काहीं साथीहरूबीच झगडा पनि हन्थ्यो । झगडा पर्दा मेरो टिमले जितिहाल्थ्यौं । कसैले झगडाको निहुँ खोज्यो भने म सहनै सक्दैनथें । झगडा गरिहाल्ने पनि हुन्थ्यो । प्रायः गाउँघरमा विद्यालय समय बोहक गाइगोठाला जाने, मेलापात गर्ने हुन्थ्यौं । हाम्रो सिम्ताली भाका गाउने पनि हुन्थ्यो । साथीहरूसँग रमाइलो हुन्थ्यो । पहिले अलि उमेर पुगेका केटाकेटीहरू गित गाउने चलन हुन्थ्यो । गाउँघरमा यो कुरालाई सामान्य नै लिइन्थ्यो । साथीहरूसँग र आफूभन्दा ठूला साथीहरूसँग राती गीतहरू पनि गाइयो । रातभरी आगो बालेर गीत गाएको सम्झना पनि छ । बाल्यकालमा मेला पनि जान्थ्यौं । हाम्रो ठाउँमा बागेश्वरी मेला लाग्थ्यो । एक पटक मेलामा दुई गाउँबीच झगडा प¥यो । त्यो झगाडामा मेरो बुबा पनि पर्नुभएछ । बुबाको टाउको नै फुटेको थियो । बुबालाई घरमा ल्याएको सम्झना छ ।
सानोमा ठ्याक्कै यही बन्छु वा त्यो बन्छु भन्ने कुनै ठूलो सपना हुन्थेन । ज्ञान प्राप्त गरेर के हुन्छ भन्ने समाज थियो । गाउँबाट रोजगारीका लागि प्रायः इन्डिया जान्थे । केही मास्टर भएर पढाउने भएकाले पढेर मास्टर नै बनिन्छ होला भन्ने हुन्थ्यौं । अहिलेको जस्तो भविष्यमा यो बन्छु भन्ने माहौल त्यतिबेला थिएन । सानोमा कहिले काहीं बदमासी पनि गरियोे । गाउँमा काँक्रा चोर्न जाने, अमलो लगायत फलफूल चोर्न धेरै जान्थ्यौं । तर त्यसबेलामा सानोतिनो बदमासी गर्दा समान्य रूपमा लिइन्थ्यो । फलफूल चोर्न जाँदा पनि मैले नै अगुवाइ गर्थें । एक पटक एक जना साथीलाई काँक्रा चार्न पठाएँ । उसलाई काँक्रा चोर्न किन आएको भनेर समातेछन् । उसले मेरो नाम लिन्छ की भनेर तनाब भएको थियो । पछि मेरो नाम भने भनेको रहेनछ । ऊ छुटेर आएपछि ढुक्क भएँ ।
कक्षा ८ सम्म पढेपछि घरमा अब मास्टर बन्नुपर्छ भन्न थाले । त्यसबेलामा शिक्षक र सर भन्ने चलन थिएन । पढेलेखेकालाई मास्टर भन्थे । मेरो एक जना मामा मास्टर हुनुहुन्थ्यो । बुबाआमाले मास्टर बनाउने भनेर मामाकहाँ पठाउने भन्नुभयो । वि.सं. वि.सं. २०२६ सालमा त्यस बेलमा पञ्चायती व्यवस्था थियो । अहिलेको चिङ्गाड गाउँपालिकाको मटेलाका प्रधानपञ्च लोकबहादुर चन्द थिए । मामाले मेरो भान्जालाई मास्टर गराइदिनुभनेर उहाँलाई लेखिएको चिठ्ठीसहित मलाई पठाउनुभयो । पछि म त्यहाँ गए । उनले मलाई मास्टर बनाएनन् । एक महिनासम्म बसें । अनि त्यहाँबाट भागेर इण्डिया गएँ । पछि इण्डियाबाट फर्किएछि आफूले नै पढेको स्कुलमा शिक्षक भएको हुँ ।
साझा बिसौनी ।