“शिक्षण पेसा होइन, सेवा हो”
बराहताल गाउँपालिका वडा नं. ८ दमारका धु्रव गौतम वि.सं. २०६६ सालदेखि शिक्षण पेशामा संलग्न छन् । जनजागृति माध्यमिक विद्यालय दमारमा उनी अंगे्रजी विषयका शिक्षक हुन् । बुबा मानबहादुर गौतम र आमा लक्ष्मी गौतमको कोखबाट वि.सं. २०४१ सालमा जन्मिएका गौतम सानैदेखि समाजसेवामा असाध्यै रुचि राख्ने स्वभावका थिए । जुनसुकै पेसामा आवद्ध भए पनि समाजसेवामा समर्पित हुने उनको उद्देश्य थियो । शिक्षण पेसा पनि समाज सेवा नै भएकोले उनले यही पेसालाई अपनाएका हुन् । उनका लागि शिक्षण केवल रोजगारीका लागि गरिने पेसा मात्र होइन, समाजसेवा गर्ने माध्यम पनि हो । पेसा र व्यवसाय जे गरे पनि समाजलाई प्रत्यक्ष फाइदा हुने खालको पेसाको खोजीका रहेका धु्रवको लागी यो पेसा उपयुक्त पनि बनेको छ । शिक्षण पेसाबाटै समाजका लागि योगदान प¥याउने भावनासहित विद्यार्थीहरूको उज्वल भविष्यका लागि खटिएका ध्रुवले आफ्नो पेसागत अनुभव र अनुभूति हाम्रा सहकर्मी सीता वलीसँग यसरी साटेका छन्ः
म सानैदेखि समाजसेवी स्वाभावको थिएँ । धेरै नबोल्ने तर बोलेपछि भने गम्भीर कुरा मात्र बोल्ने मेरो वानी थियो । म कहिल्यै झगडालु स्वाभावको भइनँ, साथीहरूसंग असाध्यै मिल्थें । प्रायः मान्छेहरू सानैदेखि मैले बोलेका कुराहरू खुब ध्यान दिएर सुन्थे । समाजमा कसैलाई दुःख प¥र्यो भने म सहयोग गर्न पुगिहाल्थें । घरको आर्थिक अवस्था मध्यम थियो । बुबाआमा खेतीकिसानी गर्नुहुन्थ्यो । पढ्नको लागि मैले खुब संघर्ष गर्नुप¥यो । करिब तीन घण्टाको बाटो हिँडेर एसएलसीसम्मको शिक्षा लिएको हुँ । उच्च शिक्षाको लागी म वीरेन्द्रनगर आएँ । त्यसपछि पनि विभिन्न समस्या आइपरे । आर्थिक समस्या त विद्यार्थी जीवनमा निकै धेरै नै हुन्छन् । तर मलाई समाज सेवाको भूत सानैदेखि चढेको थियो । त्यसैले पनि होला दुःखमा पनि अप्ठ्यारो महसुुस भएन ।
मैले शिक्षण पेशामा आउनुअघि एउटा गैरसरकारी संस्थामा काम गरेँ । त्यसपछि निजी केही समय बोर्डिग स्कुलमा पनि पढाएँ । जीवनमा म केही नगरी बस्नै सकीनँ । आर्थिक समस्या टार्न होस् या सामाजिक सेवाभावले होस् मैले केही न केही काम गरिरहेँ । मैले श्री जनजागृति माध्यमिक विद्यालय दमारमा शिक्षण गर्न थालेको वि.स. २०६६ सालदेखि हो । मलाई सानैदेखि समाजसेवाको खुब रुची थियो । मैले क्याम्पस पढ्दा पनि केही न केही पेसा अपनाएर पढें । शिक्षण पेसामा लाग्न प्रेरणा मेरो दाई ताराकेशर गौतमले दिनुभयो । मलाई पनि लाग्यो आजका बालबालिका भोलीका देश हाँक्ने खम्बा हुन् । उनीहरूलाई सहि दिशानिर्देश गर्नु मेरो सौभाग्य हो । शिक्षण पेसा समाज सेवा गर्नका लागी एउटा राम्रो ठाउँ भएकोले मैले यो पेशा रोजेको हुँ । पैसा मात्रै कमाउने र आफ्नो घरपरिवार पाल्नलाई अरु पनि थुप्रै पेशा थिए तर शिक्षण पेसा मैले समाज सेवागर्नकै लागि अपनाएको हुँ । मलाई मेरो पेसाप्रति गर्व छ । म एकदमै खुशी पनि छु ।
कतिपय शिक्षक साथीहरूले जागीरको रूपमा यो पेसालाई लिने गर्नुहुन्छ, त्यो मलाई चित्त बुझ्दैन । वास्तबमा शिक्षण पेशा अत्यन्तै मर्यादित पेसा हुनुपर्ने हो तर त्यसो हुनसकेको छैन । त्यसमा मलाई दुःख लाग्छ । विशेष गरी सरकारी निकाय र राजनीतिककर्मीले यो पेसालाई सम्मान नगरेको मैले पाएको छु । समाजले यो पेसालाई हेर्ने दृष्टिकोण पनि फरक छ । यी सामाजिक अवरोधहरूलाई देख्दा पेसा छोडौं जस्तो पनि लाग्छ तर नैतिक जिम्मेवारीलाई मैले भुल्न नहुने कुरा र मेरो समाज सेवाको सौखले गर्दा पेसाप्रति मेरो सकारात्मक भावना पैदा हुन्छ ।
कतिपय अवस्थामा शिक्षण पेशालाई मर्यादित बनाउनको लागि शिक्षक आफै पनि इमान्दारी, नैतिकवान र प्रष्ट विचारको हुनुपर्छ । बालबालिकाहरू सिक्नका लागि कक्षाकोठामा अत्यन्तै उत्साहित हुँदा मलाई एकदमै खुशी लाग्छ । तर समयको माग र परिवर्तित ईच्छा अनुसारको वातावरणको अभावले शिक्षण सिकाइमा शिथिलता देखिन्छ, अनि दुःख लाग्छ । पराम्परागत शिक्षण पद्धतिबाट आफूले सिकेका कुरा आधुनिक विधिबाट बालबालिकाहरूलाई सिकाउनको लागि शिक्षकहरूलाई विभिन्न समयमा तालिमको व्यवस्था सरकारले गरेको भए शिक्षण सिकाइ अझ प्रभावकारी हुने थियो ।
म मेरो पेसाप्रति सन्तुष्ट र खुशी छु । यो पेसाबाट अथाह सम्पत्ति आर्जन गर्न नसके पनि अथाह सम्मान पाउन सकिन्छ, समाजको सोच परिवर्तन भएमा । मेरो परिवारमा अहिले छोरा छोरी र हामी श्रीमान–श्रीमति छौं । वीरेन्द्रनगर–९ मा मेरो घर छ । श्रीमती सुष्मा मल्ल ब्युटिसियन हुन् र म शिक्षक । एकअर्काको पेसालाई बुफ्ने र सम्मान गरेर अगाडि बढेका छौं । हाम्रो परिवार खुशी र सुखी छ । मेरो प्रमुख लक्ष्य भनेको शिक्षण पेसालाई नमुनाको रूपमा समाजमा स्थापना गर्ने र निरन्तर रूपमा शिक्षण पेशालाई मर्यादित बनाउने छ । हरेक क्षेत्र, समुदाय, विद्यालय र विद्यार्थीहरूलाई सँगसँगै लैजाने छु जसले गर्दा शिक्षण पेसा नमुनाको रूपमा समाजमा स्थापित हुनेछ ।
साझा बिसौनी ।