चिङ्काडको विकासका आधार र प्राथमिकता
महेश जिसी
सुर्खेत जिल्लाका नौं वटा स्थानीय तहमध्येको एक हो, चिङ्गाड गाउँपालिका । साविकका पाम्का, अवलचिङ्ग, मेटला, रानीबास र रजेना गाविसहरूलाई समेटेर चिङ्गाड गाउँपालिकाको निर्माण गरिएको छ । अन्य स्थानीय तहमध्ये भौगोलिक हिसाबले अति विकट, थोरै जनसंख्या र विकासमा पछि परेको गाउँपालिका पनि हो, यो । तर चिङ्गाड प्राकृतिक सौन्दर्य, कला–संस्कृति र कृषिजन्य उत्पादनको प्रचूर सम्भावना भएको थलोको रूपमा रहँदै आएको छ ।
सुर्खेत, दैलेख र जाजरकोट जिल्लाको सीमानाको साविकको मटेला गाविसमा पर्ने गुराँसे लेकबाट मुहान भइ गुराँसे झरना हुँदै भेरी नदीसँग नमिल्दासम्म बग्ने खोला नै चिङ्गाड खोला हो । यस खोला आसपासको क्षेत्र नै चिङ्गाड क्षेत्र हो । जसमा चिङ्गाड गाउँपालिकाको अलावा साविकका नेटा, कल्याण तथा साटाखानी पनि पर्दछन् । तर अहिले साविकका पाम्का, अवलचिङ्ग, मेटला, रानीबास र रजेना गाविसहरू मात्र चिङ्गाड गाउँपालिकामा रहेका छन् ।
सडक पूर्वाधार र विद्युत विस्तार नै चिङ्गाड गाउँपालिकाको विकासको आधार स्तम्भ तथा मेरुदण्ड हो । काठमाडौंदेखि कर्णालीलाई विकासका हिसाबले जुन व्यवहार विगतमा गरियो त्यही व्यवहार सुर्खेत सदरमुकाम वीरेन्द्रनगरबाट चिङ्गाडमाथि भयो । तर पनि यस चिङ्गाड क्षेत्रको तर्फबाट देशमा भएका परिवर्तनहरूमा जिल्लातहमै नेतृत्वदायी भूमीका निर्वाह भएको छ ।
संघीय गणतन्त्रको स्थापना र सिंहदरबारको अधिकार गाउँ–गाउँमा आएको यो अवस्थामा समृद्ध चिङ्गाड बनाउन सबै लाग्नुपर्ने देखिन्छ । चिङ्गाड क्षेत्रमा विकासका प्राथमिकता निर्धारण गरेर मात्र अघि बढन सक्नुपर्दछ । विकास कुनै भावनामा हुने चिज पनि होइन । गुरुयोजनामार्फत् प्राथमिकता निर्धारण गरी क्रमागत हिसाबले विकासलाई जोड दिन आवश्यक रहेको छ । चिङ्गाड क्षेत्रको विकासको मेरुदण्ड भनेको कृषि र पशुपालन नै हो । चिङ्गाड गाँउपालिकाका सम्पूर्ण वडाहरूमा कृषिमा आधारित बस्तीहरू रहेका छन् । गाइगोरु, भैंसी, बाख्रा, कुखुरा यहाँका प्रमुख पशुवस्तुहरू हुन् । पछिल्लो समय यस क्षेत्रमा कुखुरापालन, बाख्रापालनमा लगायतका पेशामा किसानहरूको आकर्षण बढ्दै गएको देखिन्छ । त्यस्तै केरा, चुक, कागती, आरुवखडा, सुन्तला, आरु, अम्बा यस क्षेत्रका प्रमुख फलफूलहरू हुन् । कृषि पेशा यहाँको परम्परागत र मुख्य पेशा रही आएको छ । बजारीकरणको हिसाबले हेर्ने हो भने साविकको मटेला हालको चिङ्गाडको वडा नं. ३ र ४ को ठाँटीबजार गाउँपालिकाकै सबैभन्दा ठूलो व्यापारिक केन्द्रको रूपमा रहेको छ । सुर्खेत र दैलेखको सीमानामा रहेको धरमपोखरा बजार पुरानो व्यापारिक केन्द्र हो ।
यस क्षेत्रमा रहेका बजार र बस्तीहरूको विकासका लागि पहिलो आवश्यकता तथा आधार भनेको सडक र विद्युत हो । यसर्थ धरमपोखरा–मटेला–अवलचिङ्ग–रानीवास–रजेनामा सडकको स्तरोन्नति गरी सबै बस्तीमा केन्द्रीय प्रसारणलाइनको विद्युतको पहुँच पु¥याउन आवश्यक रहेको छ । जसलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने देखिन्छ । चिङ्गाड क्षेत्रको दीर्घकालीन विकासका लागि आरनटुंडा–ढाँडखेत–मटेला–जाजरकोटको थालारैकर जोड्ने प्रस्तावित मोटरबाटोलाई निर्माण र स्तरोन्नति गर्न आवश्यक रहेको छ । यस सडकलाई चिङ्गाडको हटलाइनका रूपमा विकास गर्नुपर्दछ । यो सडकमार्ग पक्की भएमा यस क्षेत्रको विकासमा एउटा कोशेढुङ्गा सावित हुनेछ । पाम्का–विर्खम–धरमपोखरा–कोप्ची–कोर्षिना–चिउँदुवा–चिप्लाकाँदा–काडाँपोखरी–जितेजुवा–दह हुँदै चिङ्गाड खोला पुग्ने रोडलाई चिङ्गाडको रिङ्गरोडका रूपमा विकास गर्न आवश्यक देखिन्छ । यी सडक सञ्जालहरू निर्माण भएका चिङ्गाड क्षेत्रका किसानहरू परम्परागत कृषि प्रणालीबाट व्यवसायिक कृषि प्रणालीमा आकर्षित हुनेछन् । त्यो गर्न पनि आवश्यक रहेको छ ।
नेपाल विद्युत प्राधिकरणद्वारा निर्माणाधीन राष्ट्रिय प्रसारण लाइनको मटेलाको ठाँटीबजारसम्म विद्युत पोलहरू ठड्याइएका छन् । मटेलाको ठाँटीबजारमा सव–स्टेशनको निर्माण कार्य हाल भइरहेको छ र छिटो भन्दा छिटो निर्माण सम्पन्न गरी चिङ्गगाडका प्रत्येक वडासम्म विद्युत विस्तार दु्रत गतिमा गर्न अति आवश्यक छ ।
उल्लेखित विकासका कामहरू मात्र सम्पन्न भएमा विकासको एउटा अध्याय चिङ्गाडले पार गरेको ठहर्ने छ । प्रचूर सम्भाव्यता भएको चिङ्गाड खोलामा नै सम्भाव्यता अध्ययन गरी साना जलविद्युत तर बहुउद्देश्यीय हिसाबले अध्ययन गर्नुपर्ने अर्को आवश्यकता रहेको छ । यस्तो योजनामा हरेक चिङ्गाडी जनताको नै लगानी गर्नसक्नेछन् । त्यसो भएमा जनताको योगदान, लगानी तथा अपनत्व बढ्छ र संरक्षण र सम्बद्र्धनमा टेवा पुग्छ ।
यसैगरी चिङ्गाडका जनताको स्वास्थ्य शिक्षाका लागि पनि ध्यान दिन दिनु जरुरी छ । जनशक्ति उत्पादन गर्ने किसिमको शिक्षालाई प्रोत्साहन गर्नुपर्दछ । प्राविधिक शिक्षाको लागि आवश्यक पहल अहिलेको आवश्यकता हो । साथै आम नागरिकहरू समक्ष विशेषज्ञ डाक्टरको स्वास्थ्य सेवाको पहँुच पु¥याउन आवश्यक छ । जसको लागि सुविधा सम्पन्न स्वास्थ संस्था स्थापना अपरिहार्य भइसकेको छ । त्यसैले सम्बन्धित निकायले समयमै आफ्नो ध्यान यसतर्फ केन्द्रित गर्नुपर्दछ । सो कार्यहरू सकभर स्थानीय जनशक्तिकै नेतृत्वमा निर्माण गर्दा सामथ्र्य, पहिचान, सिर्जनशीलता र ख्याति बढ्न सक्छ । स्थानीय युवाहरूको परिचालन तथा सहयोग लिन सकियो भने त्यसको स्थायित्व र दिगोपना हुनसक्दछ ।
चिङ्गाड खोलाका सबैतिर यस क्षेत्रकै पुरानो सभ्यता बोकेका पानीघट्टको स्तरोन्नतिसँगै विद्युत उत्पादन गर्नसकेको खण्डमा र चिङ्गाडले परम्परागत दाउरा चुलोको प्रयोग कम गरेको खण्डमा वनजंगलको संरक्षण हुने र उजाड चिङ्गाडलाई हरियाली बनाउन सकिन्छ । त्यसैगरी चिङ्गाडलाई सुर्खेतको मात्रै नभइ यस कर्णाली प्रदेशकै पर्यटकीय गन्तब्य बनाउन पनि सकिन्छ । यस क्षेत्रमा अनुपम प्राकृतिक सुन्दरता, पुरातात्विक मानवबस्ती, विभिन्न धार्मिक तथा मनै लोभ्याउने झरनाहरू रहेकोले पनि पर्यटकहरूको मन लोभ्याउन सक्ने सामग्रीहरू रहेका छन् । चिङ्गाड क्षेत्रलाई अति चर्चित अवलचिङ्गको भैरव मन्दिरबाट एकैपटक देख्न सकिन्छ । सुर्खेतकै सबभन्दा अग्लो स्थानमा अवस्थित मटेलाको मालिका र चुलीबाट सिस्ने हिमाल, अपी हिमाल, काञ्जिरोवा जस्ता हिमालहरू यहाँबाट हेर्न सकिन्छ । मालिकाबाट जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, बाँके, बर्दिया, अछाम जस्ता जिल्लाहरूलाई अवलोकन गर्नसक्नुले पनि पर्यटकीय प्रमुख गन्तव्यको हैसियत यस चिङ्गाडसँग छ । यस क्षेत्रमा ठूला–ठूला जंगलका बीचमा प्राकृतिक गुफाहरू पनि रहेका छन् । अर्को कुरा यस क्षेत्रमा रहेका प्रायः घरहरू चट्टानले निर्माण गरिएकोले पनि पर्यटकहरूका लागि आकर्षक बन्न सक्दछन् ।
यस क्षेत्रको अर्को महŒवपूर्ण पक्ष भनेको संस्कृति हो । जस अन्तर्गत गर्रा नाँच पुरानो हो कुनै समयमा लोप हुन लागेको यो नाँच यस क्षेत्रका केही क्लबहरूले युवाहरूको प्रयोग गरी झनै रोचक बनाउँदै लगिरहेका छन् । परम्परागत पञ्चेबाजा, बुढापाकाहरूले खेल्ने लहरे खेल, जन्ते खेल र रत्यौलीले यस क्षेत्रमा थप रौनकता थपिएको छ । जसले गर्दा आन्तिरिक एवम् वाह्य पर्यटकहरूको मन लोभ्याउन सक्छ । अझ यस चिङ्गाड क्षेत्रलाई कृषी र जडिबुडीको प्रचुर सम्भावना बोकेको क्षेत्रको रूपमा लिने गरीन्छ । यसकारण चिङ्गाडको समृद्धि भनेको नै किसानको समृद्धि हो । पाम्का र अवलचिङ्ग अदुवा र बेसारको पकेट क्षेत्र, रझेना, रानीबास, काँडाघुवानीलाई लसुनको पकेट क्षेत्र, काउलेलाई फलफूलको पकेट क्षेत्र, उच्च भागमा रहेका क्षेत्रलाई आलु पकेट क्षेत्र, रहकुल क्षेत्रलाई सुन्तला, कागती, नास्पति, चुक, भोगटेजस्ता फलफूलको पकेट क्षेत्र भएकोले यसको उचित बजारीकरण गर्नसकेको खण्डमा सो क्षेत्रका जनतालाई आत्मनिर्भर बनाउन सकिन्छ । मकै उत्पादनमा उच्च उत्पादकत्व बोकेको र चिङ्गाड क्षेत्रले अलैंची, अदुवा, अनार, आरु, ओखरको उत्पादनको सम्भावना निकै राख्दछ ।
यस क्षेत्रका हजारौ युवाहरू बेरोजगार भएको हुनाले रोजगारीको खोजीमा विभिन्न खाडी मुलुकहरूमा आफ्नो ज्यानको बाजी लगाई पसीना बगाउनु परेको छ । यस्तो प्रचुर सम्भावना बोकेको चिङ्गाडमा ती विदेश पलायन भएका युवाहरूलाई हरेक क्षेत्रमा अवसर दिने हो भने पक्कै पनी यस क्षेत्रको समृद्धिमा टेवा पुग्नेछ । हजारौं बालबालिका, युवायुवतीहरू शिक्षाबाट बञ्चित छन् । यसमा स्थानीय सरकारका जनप्रतिनिधिहरूको ध्यान कता छ ? स्थानीय सरकारका जनप्रतिनिधिहरूको ध्यान यस क्षेत्रलाई समृद्ध कसरी बनाउन सकिन्छ भन्नेतर्फ जान जरुरी ठान्दछु । होइन भने हामीले भन्दै आएको सम्भावनाको खानी चिङ्गाड गाँउपालीका बोलीमै सीमित हुने निश्चित छ ।
(लेखक अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य एवम् सुर्खेत इन्चार्ज हुन् ।)
साझा बिसौनी ।