‘नपढ्दा आमाले सिस्नोले हान्नुहुन्थ्यो’

निराजन सापकोटा मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय सुर्खेतका प्रमुख हुन् । वि.सं. २०६० सालदेखि उनी निजामति सेवामा छन् । सुर्खेतको पञ्चपुरी नगरपालिका (तत्कालीन विद्यापुर) मा बुबा इन्द्रप्रसाद सापकोटा र आमा डिलादेवी सापकोटाको कोखबाट वि.सं. २०३६ वैशाख २१ गते जन्मिएका उनले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेः

म घरको सबैभन्दा कान्छो छोरा हुँ । हाम्रो घर विद्यापुर बजारमै थियो । घरमा कपडा र खुद्रा पसल थियो । आफ्नै पसल भएको कारणले चक्लेट खान पाइन्थ्यो । बुबाआमासँग माग्यो भने एउटा मात्र दिनुहुन्थ्यो, त्यसैले मौका मिलेको बेला आफैले चोर्थेँ ।
म पाँच वर्षको उमेरदेखि विद्यालय जान थालेको हुँ । कक्षा १ देखि १० सम्म जनता मावि विद्यापुरमा नै पढें । विद्यालयमा साथीहरू पनि धेरै नै हुन्थे । मसँग भएको चकलेट साथीहरूलाई पनि बाँड्थे । मेरो एउटा वानी थियो, साथीहरूलाई चक्लेट दिँदा अलिकति पहिले आफूले खाएर दिने । एक पटकमा १०÷१२ वटा जति चक्लेट चोर्थें । विद्यालय पुग्न १५ मिनेट जति लाग्थ्यो । बाटोमा साथीहरू भेटिन्थे । अनि उनीहरूलाई चक्लेट टोक्दै बाँड्दै विद्यालय पुग्थें । घरमा पनि म त्यसै गर्थें । दिदीदाइहरूलाई चक्लेट दिनुप¥यो भने पहिला आफूले अलिकति खाएर मात्र दिन्थें ।
सानो छँदा पढ्नमा भन्दा खेल्नमा ध्यान बढी जान्थ्यो । साथीहरूसँग कपर्दी खेल निक्कै खेलियो । कसैले फालेको मोजामा कपडा हालेर बल बनाएर फुटबल पनि खेल्थ्यौं । हामीभन्दा निकै धेरै उमेरकाहरू पनि हामीसँगै पढ्थे । उनीहरू भलिबल खेल्थे । हामी त सानै थियौं । उनीहरूले फालेको बल समात्ने कामसम्म गर्न सक्थ्यौं । कपर्दी खेल्दा मैले ९९ प्रतिशत जित्थँे । कहिले काहीं त झ्याली गरेरै भए पनि जिन्नुपथ्र्यो, मलाई । आफू अरुभन्दा बाठो छु जस्तो लाग्यो । किन म सबै भन्दा जान्नेछु भन्ने सोच्थें । कहिले काहीं विद्यालय छोडेर खेल्न पनि जान्थ्यौं । सरहरू खोज्दै जाँदा खेलिरहेको भेट्नुहुन्थ्यो । पिटाइ पनि खाइन्थ्यो ।
त्यसबेलामा कुनै ठूलो सपना हुँदैनथ्यो । भविष्यमा के बन्ने भन्ने पनि सोचिएन । आफ्ना लागि पढ्नु भन्दा पनि बुबाआमाको लागि अनि शिक्षकहरूको लागि पढेका छौं जस्तो लाग्थ्यो । बुबाले त मलाई कहिल्यै पनि पिट्नु भएन, म उहाँको प्यारो छोरा । हुन त आमाको पनि प्यारो छोरा नै हुँ । आमाले भने कहिले काहीं नपढ्दा पिट्नुहुन्थ्यो । सहि बाटोमा लाग्न प्रेरित गर्नुहुन्थ्यो । हामीलाई विद्यापुर बजारबाट बाहिर जाने अनुमति थिएन । आमाले सधै पढ् मात्र भन्नुहुन्थ्यो । कहिले काहीं त पढ्नु भनेको पिटाइ खानकै लागि हो भन्ने लाग्थ्यो । कहिले काहीं सरले सोधको कुरा नजान्दा पिटाइ खाने, घरमा आमाले नपढेको देख्दा पनि पिटाइ खाने हुन्थ्यो । आमाले त पढेको देख्नु भएन भने काम गराइहाल्नुहुन्थ्यो । कि खेतबारीमा काम गर्न जानुपर्ने कि घरको काम गर्नुपर्ने । बरु काम गर्नुभन्दा पढ्ननै ठीक भन्ने लाग्थ्यो । दाइ–दिदीहरू त नपढेको सजाय खेतबारीमा गएर काम गर्नुहुन्थ्यो । म त नपढे पनि पढेको जस्तै गरी बस्थें । नपढेपछि कहिले काहीं सिस्नोले हान्नुहुन्थ्यो ।
एकपटक यो सिस्नोको रुख कहाँ रहेछ भनेर खोजें । करिब एक महिना लगाएर सिस्नाको रुख पत्ता लगाएँ । पछि त्यो सिस्नो नै उखेलेर घरदेखि धेरै टाढा झाडिमा लिएर फालिदिएँ । विस्तारै उमेर बढ्दै गएपछि पढाइको महŒव पनि बुझ्न थालें । मैले आमा–बुबा र शिक्षकहरूका लागि भन्दा पनि आफ्नो लागि बुझेर पढ्थें । संस्कृत विषय पढ्नु पथ्र्यो । त्यो विषय पटक्कै पढ्न नआउने । त्यही विषय पढ्दा धेरै पिटाइ खाइन्थ्यो । पाठ नै कण्ठ गर्नुपर्ने । पछि कण्ठ पनि गरियो ।
एक जना शिक्षक हाम्रै घरमा बस्नुहुन्थ्यो । विद्यालय समयबाहेक हामीलाई घरमा पनि पढाउनुहुन्थ्यो । उहाँले दिएको होमवर्क मैले गरिहाल्थँे, दिदी–दाईहरूले नगर्ने । म उहाँले दिएको काम सकिहाल्थें । अनि दाईदिदीहरूलाई पिटेको मजा लिएर बस्थें । सानोमा साहित्यमा पनि रुचि थियो । म कविता, गजल, भावनाहरू लेखेर मान्छेहरूले देख्ने ठाउँमा टाँस्थे । यति सानो बाबुले कति राम्रो लेखेको भनेर अचम्म मान्थे । एक पटक स्कुलको भ¥याङमा म मरे पनि मेरो देश बाँचिरहोस् भनेर लेखेर टाँसे । त्यसबेलामा त्यो शब्द मैले आफै सोचेर लेखेको वा कतै सुनेर हो अहिले त्यति सम्झना छैन् । अमर थापा नाम गरेको शिक्षक हुनुहुन्थ्यो । मैले त्यो लेखेको देखेपछि उहाँले यति सानो केटोले यस्तो मार्मिक शब्द लेख्ने भनेर खुब माया गर्नुहुन्थ्यो ।
नौ÷दश कक्षा पढ्दाखेरी तास खेल्न सिकियो, साथीहरूको लहैलहैमा लागेर । एकपटक विद्यालयबाट फर्किदै गर्दा हो । रातीको समयमा तास खेल्ने योजना हुन्थ्यो । होमवर्क सकेर घरमा कसैलाई थाहा नदिएर चार जना मिलेर खेल्थ्यौं । दिउँसो नै यो ठाउँमा भेट गर्ने भनेर सल्लाह हुन्थ्यो । पछि आमाले थाहा पाउनुभयो । छोरा कहाँ गयो भनेर खोज्दै जाँदा तास खेलिरहेको देख्नुहुन्थ्यो । अनि चार जनालाई नै पिट्ने । त्यसपछि केही दिनसम्म खेल्न छोड्थ्यौं । केही समयपछि उही ताल हुन्थ्यो । राती एक÷दुई बजेसम्म पनि तास खेल्थ्यौं कहिले काहीं ।
मैले २०५२ सालमा एसएलसी पास गरेको हुँ । पढाइमा राम्रो थिएँ । कुनै न कुनै राम्रो स्थानमा आउँथे । आमाले मेरो पढाइमा निकै चासो दिनुहुन्थ्यो । उहाँ प्र्राय स्कुलमा पनि हाम्रो पढाइको बारेमा बुझ्न गइरहनुहुन्थ्यो । अनि सरहरूले पनि हामीलाई ध्यान दिनुहुन्थ्यो । बाल्यकालमा दायाँबायाँ गर्न पाइएन् । मैले गाउँघरमा कहिले पनि अरुको बदमासी भने गरिन । केही चोर्नुपरे आफ्नै चोर्थें । पहिला स्कुलमा प्रत्येक शुक्रवार आफ्नो कक्षा कोठाहरू लिपपोत गर्नुपथ्र्यो । केटाहरूले गोबर, पानी, माटो ल्याइदिनुपर्ने अनि केटी साथीहरूले लिप्ने हुन्थ्यो । गाउँका घरहरूमा गोबर माग्न गयो भने कसैले पनि नदिने । चोर्न जानुपर्ने । मैलै अरुको चोर पिटाइ खानु भन्दा बरु आफ्नै घरको गोबर चोरेर गालि खानु ठीक भनेर आफ्नै गोठमा गएर गोबर चोरेर ल्याउँथे । चक्लेट खाने साथीहरू हुन्थे । उनीहरूलाई नै लिएर जान्थेँ । शनिबार आमाहरू गोठमा जाँदा मल हुन्थेन । प्रत्येक शुक्रवार त गाउँभरीका प्राय गोठहरूमा गोबर चोरिहुन्थ्यो । खोलाबाट पानी बोकेर ल्याउनुपथ्र्यो । घरबाट जर्किन ल्याएर कक्षा कोठा लिप्ने पानी ल्याउने गथ्र्यौ । छोरा–छोरी सही बाटोमा लाग्न बुबा आमाको ठूलो हात हुन्छ । मेरो बुबा आमाले हाम्रो भविष्यको आफ्नो भूमिका सधैं कायम राख्नुभयो । र म यो स्थानमा पुग्न सफल भए ।

प्रकाशित मितिः   १४ जेष्ठ २०७५, सोमबार १४:२३