‘घोडा चढेर विद्यालय जान्थें’

पदमबहादुर शाही नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष हुन् । सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उनी सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित शुभ होटलका सञ्चालक पनि छन् । वि.सं. २०३१ साल मंसिर २१ गते बुबा गगनबहादुर शाही र आमा देउरूपा शाहीको कोखबाट दैलेखको ठाँटीकाँध–३ विशालामा जन्मिएका शाहीले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेः

मेरो जन्म दैलेखमा भयो । हामी सबै गरेर १० भाइबहिनी थियौं । म दुई दिदीपछिको जेठो छोरा हुँ । बाल्यकाल केही समयसम्म घरमै बिताएँ । घरमै हुँदा मैले कक्षा १ सम्म पढेको थिएँ । पछि मामाघर गएँ । चामुण्डा बिन्द्रासैनीमा मामा घर थियो । मैले कक्षा २ देखि चामुण्डामा पढें । घरबाट विद्यालय टाढा भएकाले म मामाको घरमा पढ्न थएको हुँ । मामाको घरबाट नजिकै थियो स्कुल । घरेदेखि टाढा हुँदा पढाइ पनि राम्रो हुने र मामा घरका हजुरमुवाँ र हजुरबुबाले आफूसँगै राखेर पढाउने भनेपछि म मामाको घर पुगेको थिएँ । मैले त्यहाँ चामुण्डा माध्यमिक विद्यालयमा कक्षा दुईमा भर्ना भएँ । घरमा भन्दा मामाको घरमा धेरै माया पाएको झै लाग्थ्यो ।
मामा घरमा मैले धेरै माया पाएको थिएँ । घरमा एक÷दुई महिनाको एक पटक मात्र जान्थें । मामाको घरमा घोडा थियो । घोडामा पढ्न पाइन्छ भनेर घोडा चराउन जान्थें । कहिले काहीं त घोडा चढेर नै स्कुल पुग्थें । एक पटक घोडामा चढेको समयमा लडेर खुट्टा नै भाँचिएको थियो ।
कक्षा ७ मा हुँदा मलाई पढाउन भनेर मामाले घरमै शिक्षक राख्नु भएको थियो । पढाइमा त्यति धेरै जान्ने विद्यार्थी त थिएनँ तर कहिले पनि परीक्षमा ‘फेल’ भने भइनँ । सानोमा पढ्न भन्दा पनि बढी चकचक गर्न र खेल्न नै मन लाग्थ्यो । पढ्नै मन लाग्दैनथ्यो । घरमा पढ्नुपर्छ भनेर सम्झाउनु हुन्थ्यो । कहिले खोलामा माछा मार्न जाने कहिले पौडी खेल्न जाने हुन्थ्यो । शुक्रवार छिट्टै विद्यालय छुट्टि हुने भएकाले खोलामा पौडी खेल्न र माछा मार्न जान्थ्यौं । एक पटक मामाहरूसँग माछा मार्न गएको थिएँ । आउँदा लडेर खुट्टामा चोट लाग्यो । मामाले बोकेर घरमा ल्याएको सम्झना छ । कहिले काहीं जात्रा हेर्न जान्थ्यौं । पहाडतिर जात्रा धेरै लाग्थे । एकदिनको बाटो हिँडेर पनि जात्रा हेर्न जाने गरिन्थ्यो, त्यो समयमा । डाँडीमाडीमा लाग्ने जात्रा हेर्न धेरै पटक गएको सम्झना छ ।
बाल्यकालमा खेल्न नै बढी मन लाग्ने । मलाई भलिबल खेलमा रुचि थियो । अहिलेको जसरी भलिबल पाइदैन्थ्यो । कहिले काहीं बल पाएर छुँदा पनि निकै खुशी लाग्ने हुन्थ्यो । हामी त कपडा मोेजामा हालेर बल बनाउँथ्यौं । तै पनि धेरै नै रमाइलो लाग्थ्यो । कपडाको बल बनाए खेल्दा पनि । कहिले काहीं खेल्दाखेल्दै साथीहरूसँग झगडा गर्ने मिल्ने भइरहन्थ्यो ।
बाल्यकालमा केही बदमासी पनि गरियो । अहिले आएर बदमासी गरेछु भन्ने लाग्छ । निम्न माध्यमिक तह पढ्दै गर्दा अलि ठूलो भइसकेको थिएँ । घरमा कहिले काहीं जाने भएका कारण माया पनि धेरै पाउँथे । मामाको घरमा पनि मैले माया धेरै पाउँथे । घरमा तीन महिनाको एक पटक जान्थें । माविमा पढ्दा शुल्क तिर्नुपथ्र्यो । मैले दुवै घरबाट विद्यालयमा शुल्क तिर्नुछ भनेर पैसा माग्थें । घरबाट र मामाघरबाट मागेको पैसा मलाई स्कुलको शुल्क तिर्न र खर्च गर्न पुग्थ्यो । एक ठाउँको पैसा शुल्क तिर्ने र एक ठाउँको पैसा पकेट खर्च । गाउँघरमा साथीहरूसँग मिलेर काँक्रा, फलफूल धेरै नै
चोरियो । विद्यालयबाट फर्किदै गर्दा बेलौती र सुन्तला पनि धेरै नै
चोरियो । साथीहरूसँग मिलेर काफल खान जाने पनि हुन्थ्यो ।
बाल्यकालमा यो बन्छु त्यो बन्छु भनेर त्यति ठूलो सपना हुन्थेन । पढेर जागिर खानुपर्छ भन्ने नै हुन्थ्यो । त्यसबेलामा वातावरण नै त्यस्तै थियो । कहिले काहीं व्यावसायी बन्छु भन्ने लाथ्यो तर त्यस्तो केही वातावरण भने थिएन । मैले बाल्यकालमा घरमा प्रायः सबै काम गर्थें । स्कुल बिदाको समयमा घर जाँदा घरको काम प्रायः सबै गर्थे । घरमा खाना पकाउनेदेखि घाँस काट्ने सबै काम गर्थें ।
हाम्रो चलनमा दिदी–बहिनीहरूलाई भाँडा माझ्न लगाउनु हुँदैन, मल बोकाउनु हुँदैन भन्ने थियो । त्यसकारण हामी भाइहरूले नै काम गथ्र्यौं । हाम्रो परिवार ठूलो भएकोले खाना खाएपछि धेरैै नै भाडा हुन्थे । कहिले काहीं त डोकोमा बोकेर धारामा भाडा माझन् जान्थे । घरमा बुबामुवाँले कृषि पेसा नै गर्नुहुन्थ्यो । घरमा अन्न भइरहन्थ्यो । कहिले पनि सानोतिनो आर्थिक संकट भने बाल्यकालमा भोग्नु परेन । मैले एसएलसी दिएपछि इन्डिया (भारत) गएँ । इन्डियाबाट फर्किएपछि व्यवसाय अंगालेको हुँ ।

प्रकाशित मितिः   ७ जेष्ठ २०७५, सोमबार १६:२८