पहिले मजदुर अहिले मालिक
वीरेन्द्रनगर–२ जयपुर सुर्खेतका विशाल ढकाल वि.सं. २०४६ सालमा जन्मिएका हुन् । आमा मनिषा ढकाल र बुबा नरेश्वर ढकालको कोखबाट जन्मिएका विशाल ग्रील व्यवसायी हुन् । व्यवसाय मात्रै होइन कलाकारितालाई पनि सँगसँगै अगाडि बढाएका विशालको जीवनको एउटा छुट्टै कथा छ । घरको आर्थिक अवस्था मजबुत थिएन । विशाल कक्षा ७ मा पढ्दै गर्दा विद्यालय छोडेर भारत पसे, २०६० सालमा । पढ्दा–पढ्दैको स्कुल र खेल्दा–खेल्दैका साथी छोडेर भारत हानिएका उनी र उनको परिवार आठ वर्षपछि मात्रै वि.सं. २०६८ सालमा नेपाल फर्किएको थियो । नेपाल फर्किएर वीरेन्द्रनगरको विवेक जनरल स्टोर एण्ड अर्डर सप्लायर्समा तीन वर्ष लेखापाल भएर काम गरे, विशालले । हाल वीरेन्द्रनगर–३ चाइना पुल नजिक विशाल ईन्जिनियरिङ्ग वर्कसप सञ्चालन गर्दै आएका विशालले साझा बिसौनी सहकर्मी सीता वलीसँग आफ्नो व्यवसायिक जीवनकथा यसरी सुनाएः
म दैलेखको नौमुले गाउँपालिका–५ मा जन्मिएको हुँ । म भन्दा पछाडि तीन जना बहिनी छन्, म घरको एक्लो छोरा । बुबाको भारतमा जागिर थियो त्यसैबाट हुने आम्दानीले वीरेन्द्रनगर–२ जयपुरमा थोरै जग्गा किन्नुभएको रहेछ । त्यसैले हामी दैलेखबाट सुर्खेत बसाइँ सरेर आयांै । म एकदमै न्यूनस्तरको परिवारमा जन्मिएको मान्छे । आमा प्रायः बिरामी भइरहने, त्यसैले उपचार गर्नको लागि बुबाले भारत बोलाउनुभयो । घरमा अरु कोही नभएकोले बहिनीहरू र म पनि आमासँगै गयौं । करिब आठ वर्ष जति हामी भारतमै बस्यांै । श्री आनन्द माध्यमिक विद्यालय खोलीगाउँ सुर्खेतमा कक्षा ७ मा पढ्दा पढ्दै गरिबीकै कारण भारत पस्नुपर्दा एकदमै दुःख लाग्यो । मैले भारतबाटै उच्च शिक्षा अध्ययन गरें । भारतमा पढ्दै स्टोर किपरको काम गर्थें । मेरो जीवनको पहिलो तलब भारु आठ सय थियो ।
वि.सं. २०६० सालमा गरिबीकै कारण भारत पसेको हाम्रो परिवार वि.सं. २०६८ सालमा मात्रै नेपाल पर्किएको हो । मैले भारतबाट नेपाल आए लगत्तै फेरि काम गर्न सुरु गरें । वीरेन्द्रनगरमा मैले विवेक जनरल स्टोरमा मासिक १० हजार रूपैयाँमा एकाउण्टेन भएर काम गर्थें । वि.सं. २०७१ सालसम्म अरुकोमा काम गरेर मैले त्यसपछि आफ्नै व्यवसाय सुरु गरेको हुँ । व्यवसाय गर्नमा हौसला दिने मेरो परिवार नै हो । मेरो मनमा पनि अरुकोमा मात्रै सधैं काम गर्नुभन्दा अरुलाई रोजगारी दिने गरी व्यवसाय गर्ने उत्साह जाग्यो । अहिले मेरो पसलमा ११ जना कर्मचारी छन् । उनीहरूलाई तलब दिनमात्र मेरो महिनामा दुई लाख रूपैयाँ खर्च हुन्छ । मैले आफैले कमाएको दुई लाख रूपैयाँबाट व्यवसाय सुरु गरेको हुँ २०७१ सालमा ।
अहिले मासिक ४० लाख जतिको कारोबारो गर्दै आएको छु । वि.सं. २०७१ सालबाट व्यवसाय सुरु गरें, २०७२ सालबाट कलाकारितालाई पनि निरन्तरता दिँदै आएको छु । मैलै चारवटा गीतहरूमा ‘मोडलिङ’ गरिसकेको छु । अब मेरै स्वरमा लोकमोडल गीत बजारमा आउँदैछ । मेरो आफ्नै म्युजिक कम्पनी पनि छ । सिंगारो म्युजिक प्रालिको प्रबन्ध निर्देशकको रूपमा काम गरिरहेको छु । मैले सिंगारो म्युजिक प्रालिबाट प्रदेश आइडल पनि सञ्चालन गरिसकेको छु । कलकारिता र व्यवसाय सँगसँगै अगाडि बढाउँदा समय दिन नसकिँदो रहेछ । व्यवसायमा मेरो बुबाले र बहिनी ज्वाइँ नवराज ढुङ्गानाले सघाइ रहनुभएको छ ।
मैलै २०६५ सालमा गंगा ढकालसँग विवाह गरें । मेरो तीन वटा छोराछोरी छन् । विगतको गरिबी सम्झदा रमाइलो लाग्छ, त्यही गरिबीले आज मलाई सफल बनाएको छ । अहिले मैले आफ्नो परिवारको समृद्धि सँगसँगै अरु ११ जनालाई रोजगारी दिन सकेको छु । पढ्दा पढ्दैको स्कुल र खेल्दा खेल्दैको साथि छोडेर गरिबीकै कारण भारत पस्दाको क्षण मेरो जीवनको दुःखद् र बिर्सनै नसक्ने क्षण हो । रमाइलो क्षणको सम्झना गर्दा भारतबाट नेपाल फर्कंदा साह्रै खुशी लागेको थियो । अब मेरो जीवनको लक्ष्य भनेको अझै व्यवसायमा अझै सफलता प्राप्त गर्नु हो । सँगसँगै कलाकारिता पेशालाई पनि अगाडि बढाउने छु ।
साझा बिसौनी ।