कर्णाली करिडोरमा गुड्यो गाडी
साझा बिसौनी संवाददाता
सुर्खेत, २३ जेठ ।
कालिकोटको खुलालुदेखि हुम्लाको हिल्सासम्म जोड्ने निर्माणाधीन कर्णाली करिडोरमा पहिलो पटक गाडी गुड्न थालेका
छन् । कालिकोटको लालीघाटदेखि रेगिलसम्म आइतवारबाट गाडी गुड्न थालेका हुन् । उक्त करिडोरको अनुगमनका लागि पुगेको संसदको विकास समितिको टोलीले उद्घाटन गरेपछि गाडी चल्न थालेका हुन् ।
उत्तर–दक्षिण जोड्ने यो सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ । सडक निर्माणमा भएको प्रगतिको बारेमा बुझ्न संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीसहितको टोली आइतवार कालिकोट पुगेको थियो । सोही अवसर पारेर पहिलो चरणमा करिब सात किलोमिटर सडकमा गाडी सञ्चालनका लागि सेनाले सडक खुला गरेको हो । अहिले पनि यो करिडोरमा सडक निर्माणको काम जारी छ । करिडोरको अधिकांश भागमा ट्रयाक खोलिएको भए पनि सडकको दुई स्थानमा कडा चट्टान फेला परेका कारण सुरुवातमा सात किलोमिटर
दूरीमा मात्र गाडी सञ्चालनका लागि खुला गरिएको हो ।
वि.सं. २०५७ सालमा कालिकोट सदरमुकाम मान्ममा यो करिडोरको शिलान्यास गरिएको थियो । शिलान्यास भएको १५ वर्षपछि सेनाले उक्त सडक निर्माणको जिम्मा पाएको हो । यो सडक निर्माणका लागि सरकारले २०७१ चैत ९ गते नेपाली सेनालाई जिम्मा दिएको थियो । सडक निर्माणको काम थालेको सेनाले अबको चार वर्षभित्रमानिर्माणको काम पूरा गर्ने लक्ष्य राखेको छ । कडा र ठूला चट्टानका कारण सडक निर्माणमा कठिनाइ भइरहेको सेनाको भनाइ छ । सेनाले सडक निर्माणमा चुनौती रहेको र आवश्यक बजेटतथा निर्माण सामग्रीको अभाव भएको गुनासो गरेपछि संसदीय टोली स्थलगत अनुगमनमा पुगेको हो । यो सडकखण्ड अन्तर्गत कालिकोटको खुलालुदेखि हुम्ला सदरमुकाम सिमिकोटसम्मको दूरी एक सय ९६ किलोमिटर रहेको छ । तर सेनाले यो वर्षमा कालिकोटको खुलालुदेखि बाजुराको अर्थङ्गेचौरसम्मको ६८ किलोमिटर सडक निर्माण गरिसक्ने जनाएको छ । हाल यो खण्डमा आंशिक रूपमा ट्रयाक खुलिसकेको छ ।
सेनाको उक्त सडक निर्माण कार्यदलका प्रमुख कर्णेल इन्दिवर गुरुङले कडा चट्टान र बजेटको अभावमा सडक निर्माणमा समस्या भएको बताए । साथै उनले अनुगमनमा पुगेको विकास समितिसँग आवश्यक बजेट, पर्याप्त निर्माण सामग्री र जनशक्तिको व्यवस्था गरिदिन माग गरे । उनले भने, ‘चाहिने जति बजेट दिनुस्, हेलिकोप्टरबाट निर्माण सामग्री खसाल्नुपर्छ । चार वर्षको लक्ष्य भए पनि हामी अबको दुई वर्षमा नै हुम्लामा मोटर पु¥याउन तयार छौं ।’ सो अवसरमा विकास समितिका सभापति रविन्द्र अधिकारीले यो करिडोर निर्माणका लागि बजेट अभाव नहुने बताए । साथै उनले आफूहरूले तत्काल राजधानी पुगेर आवश्यक बजेट तथा सामग्री उपलब्ध गराउन सरकारलाई निर्देशन दिने भन्दै ढुक्क भएर काम गर्न सेनालाई आग्रह गरे । उनले भने, ‘कुनै पनि हालतमा अबको दुई वर्षभित्रमा नै हिल्सामा गाडी पु¥याउने गरी काम गर्नुस्, हामी आवश्यक बजेट उपलब्ध गराउन तयार छौं ।’ टोलीमा सहभागी मुगुका सांसद मोहन बानियाँले यो सडक निर्माणका लागि हेलिकोप्टरबाटै आवश्यक निर्माण सामग्री खसाल्नुपर्ने अवस्था रहेको बताए । आफूहरूले सडकको स्थलगत अवलोकन गरेको भन्दै उनले कडा चट्टानका कारण केही समस्या भए पनि सेनाले तीव्र गतिमा काम गरिरहेको जानकारी दिए ।
अनुगमन टोलीमा ९ जना सांसद, सेनाका उच्च अधिकारी, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू पुगेका थिए । टोली समक्ष स्थानीय बासिन्दाले यो सडक निर्माणमा बजेटको अभाव हुन नदिनका लागि आग्रह गरेका छन् । कर्णालीका जनताको भाग्यरेखा मानिएको यो सडक निर्माणको क्रममा ठूलो चट्टान फेला परेपछि सडक निर्माणको काममा कठिनाइ उत्पन्न भएको छ । सेनाले सडक निर्माणको काम सुरु गरेको ६ महिना बित्न नपाउँदै गत असोजमा चट्टान फुटाल्ने क्रममा चार जनाको ज्यान गएको थियो ।
साझा बिसौनी संवाददाता ।