कार्ययोजनाविहीन पर्यटन वर्ष
मन्त्री नै भन्छन्, ‘पाँच लाख पर्यटक भित्र्याउन मुस्किल’
साझा बिसौनी संवाददाता
सुर्खेत, २५ वैशाख ।
कर्णाली प्रदेश सरकारले निकै तामझामका साथ वैशाख १ गतेदेखि कर्णाली–रारा पर्यटन वर्ष–२०७५ शुभारम्भ ग¥यो । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा पुगेर पर्यटन वर्षको उद्घाटन गरे । प्रदेश मन्त्रीपरिषद्को बैठकसमेत रारा किनारमा राखेर कर्णालीले थप चर्चा बटुल्यो ।
उद्घाटनकै लागि ४० लाख रूपैयाँ बजेट छुट्याइएको कर्णाली–रारा पर्यटन वर्षले जसरी मुलुककै ध्यान आकर्षित ग¥यो सोही अनुसार पर्यटक आकर्षित गर्ने योजना भने प्रदेश सरकारसँग छैन । हालसम्म कर्णाली–रारा पर्यटन वर्ष कार्ययोजनाविहीन अवस्थामा छ भने उद्घाटनताका निकै प्रचारबाजी भएको पर्यटन वर्ष एक महिना नबित्दै सेलाएको छ । सरकारले पर्यटन वर्षको शुभारम्भ गरे पनि यसपछि गर्ने कामको पूर्वयोजना नबनाउँदा पर्यटन वर्ष अपेक्षाकृत उत्साहपूर्ण हुन नसकेको यहाँका पर्यटन व्यवसायीहरू बताउँछन् ।
पर्याप्त तयारी र योजनाविना नै पर्यटन वर्ष घोषणा भएको हुँदा यसलाई सफल पार्न सरकारलाई नै चुनौती बनेको हो । कसरी पर्यटन वर्ष सफल बनाउने भन्ने बारेमा प्रदेश सरकार नै अलमलमा परेको छ । उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले कर्णाली–रारा पर्यटन वर्षको लागि प्रयाप्त बजेटको व्यवस्थापन हुन नसक्दा अन्यौलता छाएको बताए । मन्त्रालयमा प्रदेशस्तरको कर्णाली–रारा पर्यटन सूचना शाखा नै स्थापना गरेर रणनीति निर्माण र कार्यान्वयन गर्ने योजना भए पनि बजेट अभावले कार्यान्वयन गर्न नसकिएको उनको भनाइ छ । १० वटै जिल्लाका महŒवपूर्ण सम्पदाहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने रणनीति बनाएको दाबी मन्त्री बुढाले गरे पनि सरकारले अहिलेसम्म ठोस कार्ययोजना भने बनाइसकेको छैन । उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयले कर्णाली–रारा पर्यटन वर्ष सचिवालय नै स्थापना गर्ने प्रस्ताव अर्थमन्त्रालयलाई गरेको थियो । तर, बजेटमा नसमेटिएपछि कसरी पर्यटन वर्ष सफल बनाउने भन्ने चुनौती बनेको मन्त्री बुढा बताउँछन् ।
तथ्यांक नै छैन
पर्यटन वर्ष सुरु भएको करिब एक महिना पुग्नै लागेको छ । यो अवधिमा कति पर्यटक भित्रिए भन्ने तथ्यांक भने कसैसँग छैन । वर्षभरी आन्तरिक र बाह्य गरी करिब पाँच लाख भिœयाउने लक्ष्य लिएको सरकारसँग पर्यटकको तथ्यांक संकलनका लागि कुनै संयन्त्र नै बनेको छैन । दैनिक एक हजार भन्दा बढी पर्यटकहरूले अवलोकन गर्ने गरी प्रचार–प्रसार गरेको सरकारले रारा ताल हेर्न जाने पर्यटककोसमेत संख्या राखेको छैन ।
रारा ताल अवलोकनका लागि जाने पर्यटकहरूको तथ्यांक भने निकुञ्जले लिने गरेको छ । यस्तै, सुर्खेतको बुलबुले र काँक्रेविहारको पर्यटकहरूको संख्या गणना गरे पनि अन्य पर्यटकीय स्थलमा भने तथ्यांक संकलन गर्ने गरिएको छैन । जसले गर्दा महिनामा कति जना आन्तरिक र बाह्य पर्यटकहरूले अवलोकन गरे भन्ने बारेमा प्रदेश सरकार जवाफविहीन छ ।
‘तथ्यांक व्यवस्थापनका लागि प्रत्येक जिल्लामा समन्वय समिति गठन प्रक्रियामा जान निर्देशन दिइसकेको छु’ मन्त्रीले बुढाले भने, ‘बजेट नहुँदा उनीहरूबाट सोचे अनुसारको काम हुनसकेको अवस्था छैन् ।’ उक्त समितिमार्फत् स्थानीय तहका पर्यटकीय सम्पदाहरूको सूची संकलन गरी रणनीतिक योजना बनाउने उनले बताए । मन्त्री बुढाले जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ, गैरसरकारी संस्थाहरूलाई आवद्ध गरी पर्यटन प्रबद्र्धन समन्वय समिति गठनका लागि निर्देशन दिएको बताए । तर, प्रदेश सरकारले आवश्यक बजेट व्यस्थापन गर्न नसक्दा कुनै जिल्लामा पनि समिति गठन हुनसकेको छैन ।
पूर्वाधारको अभाव
कर्णालीमा पर्याप्त पर्यटकीय स्थलहरू भए पनि आवश्यक पूर्वाधारको कमी छ । जुन पर्यटन वर्षका लागि प्रमुख चुनौती बनेको मन्त्रालय बताउँछ । सरकारले आवश्यक रणनीति विना पर्यटन वर्ष घोषणा गर्दा सोचेअनुसार पर्यटक भिœयाउन निकै चुनौती भएको उनले मन्त्री बुढाको भनाइ छ । ‘पाँच लाख पर्यटन भिœयाउन सकिदैन’ उनले भने, ‘मन्त्रिपरिषद्मा मैले एक लाख प्रस्ताव गरेको थिएँ । पाँच लाख पर्यटन आउन सक्ने संरचना कर्णालीमा विकास भएको छैन ।’ डोल्पा र हुम्ला जिल्ला सडक सञ्जालले छोएको छैन् । जसले गर्दा डोल्पाको से–फोक्सुण्डो लगायतका पर्यटकीय स्थलको अवलोकनका पर्यटक पुग्न मुस्किल छ । सरकारले पर्यटन वर्ष मनाउने योजना अगाडि सारेसँगै यात्रु नपाएर नियमित उडान भर्न नसकेका विमान कम्पनीलेसमेत काठमाडौं–सुर्खेत उडान थालेका छन् । तर, सुर्खेत आएका पर्यटकहरू भने डोल्पा र हुम्ला पुग्न निकै समस्या झेल्नुपर्नेछ । सरकारले पर्यटन प्रबद्र्धनका लागि सडक सञ्जालनको विस्तार र स्तरोन्नतिलाई पनि प्राथमिकतामा राखेको छ । ‘सुर्खेतदेखि रारासम्म पुग्ने सडक स्तरोन्नति गरिएको छ’ मन्त्रालयका शाखा अधिकृत शेरबहादुर थापाले भने, ‘पर्यटकीय सम्पदाको प्रचार–प्रसारका लागि मन्त्रालयले बजेट पर्खिबसेको छ ।’
साझा बिसौनी ।